एसिया कपमा आज नेपाल भारत भिडन्त : खेल जिते नेपाल ‘सुपर फोर’मा, भारत बाहिरिने
काठमाडौं : नेपालले एसिया कप क्रिकेटमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलमा भारतलाई हराउन सके नेपाल सुपर फोरमा प्रवेश गर्नेछ।
नेपालसँग हारेमा भारत भने समूह चरणबाटै बाहिरिने छ। त्यसैले यो खेल दुवै टिमका लागि नकआउट सरह छ। खेल श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।
नेपालले भारतको राष्ट्रिय टिमसँग खेल्न लागेको इतिहास मै यो पहिलो पटक हो। विश्व क्रिकेटको महारथी टिम भारत एकदिवसीय वरियतामा हाल तेस्रो नम्बरमा छ।
पहिलो खेलमा वर्षाका कारण पाकिस्तानसँगको खेल रद्द भएपछि भारतलाई सुपर फोरमा पुग्न आजको खेल जित्नै पर्ने दवाब छ। तर आजको खेल पनि वर्षाले प्रभावित हुने अनुमान छ।
यो खेलको पनि नतिजा नआएमा भारत नै सुपर फोरमा पुग्नेछ। पाकिस्तानले भने अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
भारतलाई हराएमा अन्तिम चारमा पुग्ने समीकरण रहे पनि नेपालका लागि भारतलाई हराउन त्यति सहज छैन। त्यसैले नेपालले भारतसँग कम्तीमा प्रतिस्पर्धात्मक खेल देखाउने योजना बनाउनु पर्छ।
भारतसँगको खेलमा नेपालले फिल्डिङ र ब्याटिङमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। विशेषगरी नेपालले ५० ओभर पुरै खेल्ने रणनीति बनाउनुपर्छ।
पहिलो खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भयो। विश्व नम्बर १ टिमसँग नेपालले खेल्न पाएको यो पहिलो अवसर थियो।
पहिले बलिङ गरेको नेपालले सुरुवातमा राम्रो प्रदर्शन गर्दै पाकिस्तानलाई आधा इनिङसम्म दवाबमै राखेको थियो। तर यसपछि भने बलिया टिमसँग खेलेको अनुभवको कमी नेपालको बलिङमा देखियो भने पाकिस्तानले पावर देखाएको थियो।
पाकिस्तानले ३४२ रनको विशाल स्कोर खडा गर्दा नेपाल २३.३ ओवरमै मात्र १०४ रनमा अलआउट भएको थियो।
पहिलो पटक एसिया कप खेल्दै गरेको नेपाली ब्याट्सम्यानहरूलाई पाकिस्तानी बलर झेल्न गाह्रै भयो। सोमपाल कामी बाहेक अन्य ब्याट्सम्यानहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
हुन त नेपाली क्रिकेटको परिप्रेक्षमा एसिया कपमा छनोट भएर हाल भारत र पाकिस्तानसँग खेल्न पाउनु नै उपलब्धि हो।
नेपाली खेलाडीका लागि पनि कतिपय आफ्ना आदर्श मानिएका विश्व स्तरीय खेलाडीसँग भिडन्त गर्न पाउनु राम्रो अनुभव पनि हो।
भदौ १८, २०८० सोमबार ०८:३४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।