‘क्याबिन क्रु’ प्रशिक्षक सोफियाको प्रसव पीडा र खुशी : गर्भवती हुँदा थुक्पा र म:म मात्र खाएँ, पछि शरीरलाई तागत नै पुगेन

‘क्याबिन क्रु’ प्रशिक्षक सोफियाको प्रसव पीडा र खुशी : गर्भवती हुँदा थुक्पा र म:म मात्र खाएँ, पछि शरीरलाई तागत नै पुगेन

‘क्याबिन क्रु’ माझ परिचित नाम हुन्, सोफिया गुरुङ। उनको श्रीमान् वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ हुन्। उनी आफैँमा पनि संगीतमा रुचि राख्छिन्। दुवै जनाले केहि गीत पनि सँगै गाएका छन्। दार्जिलिङमा जन्मिएकी उनको पढाइ सबै भारतमा नै भयो। केहि सांगीतिक कार्यक्रममा उनीहरूले एक अर्कालाई भेट्ने मौका पाए।

सन् १९८७ मा उनी नेपाल एयरलाइन्समा काम गर्न थालिन्। मेकअप गरेर बाहिर निस्कने र अधिकांश समय घरबाहिर बस्नुपर्ने भएकाले ‘एयरहोस्टेस’ पेशालाई त्यसबेला त्यति राम्रो मानिँदैनथ्यो। तर, पनि उनले आफूले गर्न चाहेको काम छोडिनन्। बरु दीपसँग अन्तरजातीय विवाह गरेर अझ संघर्ष गर्ने आँट गरिन्।

दुई सन्तानकी आमा सोफिया नेपाल एयरलाइन्सबाट अवकाश भएसँगै हिमालय एयरलाइन्समा पनि काम गरिन्। अहिले भने उनी ‘गीता एभियसन’मा नयाँ पुस्तालाई क्याबिन क्रूको बारेमा पढाउने र तालिम दिन्छिन्। उनै सोफियाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग आफ्नो मातृत्व अनुभव साटेकी छन्।

०००

उहाँ(दीप)को स्वर त त्यसै पनि मनपर्थ्यो। पछि केहि सांगीतिक कार्यक्रममा भेट भएपछि मान्छे पनि मनपर्यो। उहाँलाई देख्दा म पनि मख्ख परिरहन्थे। तर, बिहे नै हुन्छ भनेर चैँ सोचेको थिइनँ। पछि सँगै गाउन थालेपछि उहाँले पनि मेरो आवाज मन पराउनुभयो। अनि एक अर्कालाई मन पराउन थालेपछि बिहे भयो।

त्यो बेलामा अन्तरजातीय बिहे गरेपछि समस्या नहुने त कुरै भएन। म गुरुङ, उहाँ नेवार। सबै कुरा फरक। तर, पनि मैले आफूलाई यो कुराहरूमा ढाल्न सकेँ। मैले मात्र हैन, उहाँले पनि आफूलाई मेरो संस्कृतिमा ढाल्नुभयो। हामीले धेरै सह्यौँ। अहिलेको पुस्तामा त्यो देखिँदैन। अलिकति सहिदिँदा उहाँहरूको चित्त बुझ्छ भने किन नगर्ने भन्ने भयो। आफूले रुचाएर बिहे गरेको। भोलि फर्केर माइती नै जाँदा आमाबाले मान्दैनन् भन्ने भयो।

नेपाल एयरलाइन्समा भर्खर-भर्खर काम गरेको भएर छुट्टी पाउने कुरा भएन। त्यहि भएर बिहेलगत्तै बच्चा पाउने भनेर कामले पनि दिएन। बिहेपछि पनि मेरो पेशालाई राम्रो मानिएको थिएन। तर, श्रीमान्को साथ भयो भने धेरै सहज हुने रहेछ। बिहे भएको तीन वर्षपछि हामीले बच्चाको योजना बनायौँ। समय लिएर, शारीरिक र मानसिक रूपमा तयार भएर बसेको थिएँ म अनि एकदम उत्साहित थिएँ पनि।

गर्भवतीको नौ महिना र प्रसव व्यथा मेरो लागि निकै कष्ट भयो। गर्भवती भएको थाहा पाएपछि घरमा पनि धेरैले सल्लाह-सुझाव दिइरहनुभयो। धेरैले ‘तिमीलाई जे खान मन लाग्छ, त्यहि खानु। अहिले खान मन लागेको कुरा खाएनौ भने पछि तिम्रो बच्चा र्याले हुन्छ’ भन्नुभयो।

मलाई थुक्पा र म:म खुब मनपर्थ्यो। मैले पनि होला नि त भनेर त्यहि मात्र खाएँ। फलफूल, दूध, दहि लगायतको कुनै पनि तागतिलो खाना नै खाइनँ। अझ पछि त रेस्टुराँतिर पनि लानुहुन्थ्यो उहाँले। त्यहाँ पनि खाना त्यस्तै मात्र खाएँ।

पेट बढ्दै गएको थियो। केहि सामान भुइँमा खसे पनि उठाउन सक्दैन थिएँ। गर्भवतीको अन्तिम चरणमा त सुत्न पनि अफ्ठ्यारो भयो। त्यसबाहेक श्रीमान् साथमै भएको कारण धेरै सुख-दु:खका कुराहरू गर्यौं। उहाँले राम्रोसँग हेरचाह गर्नुभयो। त्यस्तो बेलामा श्रीमान्को वरपर बस्न पाउँदा को खुशी नहोला र! तर, शरीरमा तागत भने हराउँदै गएछ।

आठ महिना लागेपछि चैँ पेट दुख्यो भने भन है भनेर श्रीमान्ले भन्नुभएको थियो। मलाई बिहानदेखि पेट घोचिरहेको थ्यो। त्यै पनि भनेको थिएन। अनि फेरि राती पनि भयो भने गाह्रो हुन्छ भनेर मलाई पेट घोचिरहेको छ हस्पिटल जाउँ भनेँ। त्यो बेलामा झाडापखाला पनि भयो अनि वान्ता पनि। वान्ता भएपछि बच्चा बाँच्दैन भन्नेसम्म कुरा आएको थियो।

बच्चा जन्मिनु केही दिनअघि खानाको कारणले पेट पनि खराब भयो। ग्यास्ट्रिक पनि भएछ। पेटमा असजिलोपन भएको रहेछ। ग्यास्ट्रिक हुँदा अरु खान मन लागेन। त्यस्तो भएपछि नानीलाई खाना नै पुगेनछ। मैले मेरो लागि मात्र सोचेछु, पेटभित्रको बच्चाको बारेमा सोचेनछु, भन्ने लाग्यो।

मैले अस्वस्थ खाना खाएको असर व्यथा लाग्दा देखियो। म त व्यथा सहन नसकेर बेहोस नै भएछु। छोरीलाई पनि भ्याकुम गरेर निकाल्नपर्यो। म मा केहि पनि शक्ति भएन। त्यहि भएर जति पनि गर्भवती महिलाहरू हुनुहुन्छ उहाँहरूलाई म जस्तो मुर्ख नहुनुस् भन्न चाहन्छु। आफूलाई मनपर्ने भन्दा पनि तागतिलो खाना खानुस् भन्न चाहन्छु।

मेरो खान्कीका कारण छोरीलाई असर पुगेको देख्दा एकदम नराम्रो लाग्यो। पछि स्ल्याइन पानी के-के दिनुभएछ। नत्र त धेरै क्रिटिकल नै भएको थियो। बच्चा साँझ चार बजे जन्मिएको रहेछ। म भने भोलिपल्ट दश बजे बिहान मात्र म होशमा आएछु। सानो थियो नानी त! सबैले मुसा जस्तै थ्यो भन्थ्यो। मेरो त्यस्तो अवस्था देखेर घरमा पनि सबै जना डराउनुभयो।

बच्चा जन्मिएपछि एकदम हल्का महसुस भयो। शरीरको एउटा अङ्गनै निकालेर फालेको जस्तो। २१ दिनपछि मैले छोरी समातेको। हस्पिटलमै छैठी भयो। न्वारन चैँ जबरजस्ती घरमै गरेको।

स्तनपान भन्दा पनि अगाडि ‘ल्याक्टोजन’ खुवाउनुपर्यो। त्यसले गर्दा मेरो दूध चैँ गानिएछ। त्यो पम्प गरेर निकालियो। सन्चो त भयो। तर, पम्प गर्दा छाला तानिएछ। सुत्केरीको बेलामा छालाहरू पनि हाम्रो त कलिलो हुने रहेछ। त्यो छाला पिल्चिएर घाउ भयो।

स्तनपान गराउँदा जब दूध बग्छ नि, त्यो मलाई एकदमै फोहोर लाग्थ्यो। धेरै नै गन्हाउने! बच्चालाई भोक लागेपछि आफैँ आउने रहेछ। त्यसले गर्दा जिउँनै सबै च्याप-च्याप हुने। एकदम नराम्रो लाग्यो। तर दूध खुवाउन त छँदै थियो। छोरीलाई लगातार दूध खुवाउन थालेपछि मेरो शरीरको चक्र मिल्दै गयो। २४ दिन अस्पताल बसेर फर्किएँ।

सुत्केरी स्याहार पनि रामो भयो। चाकु भात, सूप, लोकल कुखुरा, त्यहि भएर तंग्रिएर त अहिलेसम्म काम गर्न सकिरहेको छु। तेल लगाएँ। धुपबाट सेकाएँ। त्यतिबेला जिउ यस्तो कम्जोर हुने रहेछ। दिदिले भन्नुहुन्थ्यो, त्योबेला तेल लगाउँदा मेरो जिउमा त प्वाल नै देखिएको थियो रे। जे भए पनि सुत्केरी स्याहार राम्रो भएको कारण भएको अहिलेसम्म राम्रो छ।

पहिलो छोरी भएपछि दोस्रो त छोरा होस् भनेर घरमा पनि धेरै कुरा भएको थियो। म त त्यसको लागि पनि तयार थिइनँ। अगाडिको घाउ नै नबिर्सिएकाले मानसिक रूपमै तयार हुन सकिनँ। श्रीमान्सँग कुरा गरेपछि डाक्टर भेट्न गयौँ। डाक्टरले सात वर्ष भइसकेको र पछि जन्माउन मन लागे गाह्रो हुनसक्ने बताएपछि अर्को सन्तान जन्माउने निर्णय गर्यौँ।

यसपाली म पहिलोमा जस्तो लापरवाह भइन। थप सतर्क भएँ।  खानपानमा विशेष ध्यान दिएँ। दोस्रो सन्तान पनि छोरी नै भयो। ऊ एकदम स्वस्थ थिई। म पनि स्वस्थ भएँ। बच्चा जन्मिएपछि आफैँ नुहाएँ। बच्चालाई स्तनपान पनि राम्रोसँग गराउन सकेँ। अनि डाक्टरले त्यहि बेलुका नै घर जान दिनुभयो।

पहिलो चैँ तयारी गर्दागर्दै पनि एकदम केहि थाहा नै भएन। अलि उत्ताउलोपन पनि भयो। उमेरले पनि होला। अनि दोस्रोमा चैँ परिपक्वता आइसकेको थियो। यो हुन्छ, यो हुँदैन भन्ने थाहा भइसकेको थियो। लुगाफाटा पनि सबै उसको दिदीकै प्रयोग गरेँ। दोस्रोमा सतर्क भए, त्यसले गर्दा सहज भयो।

जे होस् जिन्दगीमा विवाह गरेपछिको मातृत्व अनुभव मीठो लाग्यो। दु:ख हुन्छ, दुखाइ हुन्छ। तर, त्यसको कुनै शब्द नै छैन। आमा हुनु र मातृत्वको अनुभव गर्नुभएको चैँ साच्चिकै गज्जबको अनुभव रहेछ। त्यसले श्रीमान् र परिवारमा सम्बन्ध झन् प्रगाढ, आत्मीय बनाउने रहेछ। अहिले ठूली छोरीको बिहे भइसक्यो। उनीहरू छन् र पो आमाको दु:ख-सुख सोध्छन्। घरमा झन् रौनक आयो।

ठूली छोरीको विवाहमा सोफियासँगै श्रीमान् दीप र कान्छी छोरी

काम र बच्चालाई सम्हाल्न अलि गाह्रो नभएको चैँ हैन। मेरो परिवार त्यसमा पनि माइतीपट्टीको दिदीले एकदम सहयोग गर्नुभयो। यता नजिक भएको कारण म काममा जाँदा सब सम्हाल्नुभयो। मेरो श्रीमान्ले पनि आफूले सकेको र जानेको गर्नुहुन्थ्यो। उहाँहरू सबले सहयोग गरेपछि मैले खुलस्त काम गर्न पाएँ।

दुई वटापछि चैँ अर्को बच्चा जन्माउने आँट आएन। काम गर्नु पनि थियो। बच्चा मात्रै पाएर भएन। हुर्काउन सक्नुपर्यो। हामीले भनेर छोरा नै हुने पनि हैन। अनि हामीले सल्लाह नै गरेर अब नपाउने भनेर निर्णय गर्यौं। सानो छोरी नै २५ वर्षको भइसकी। यहि अफिस (गीता एभियसन)को हेड अफिसमा एचआर गर्छिन्। अनि ठूली चैँ बैंकमा।

ठूली छोरीको बिहे गर्दा माया पनि लाग्यो। उनीहरूबाट पनि धेरै माया पाइरहेको छु। आफ्नो खुट्टामा उभिसकेको छ। हामीलाई केहि भइहाल्यो भने यिनीहरूले दु:ख पाउँछ भन्ने चैँ छैन। बच्चाहरू भए पछि मैले कसलाई नराम्रो गर्यो, भने मेरो नानीलाई असर गर्छ भन्ने हुने रहेछ। अलि बढी धार्मिक पनि भएँ म त नानीहरूको लागि भनेर। आमा भएँ नि त!

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

भदौ १७, २०८० आइतबार १९:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।