नेपाली क्रिकेट टोली एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै, सन्दीप नजाने

नेपाली क्रिकेट टोली एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै, सन्दीप नजाने

काठमाडौं : आउँदो भदौ १३ गतेबाट सुरु हुन लागेको एसिया कप क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टोली भोलि पाकिस्तानतर्फ जाने भएको छ। 

खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयारी पुरा भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज टीमलाई बिदाइ गर्दैछ।

पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टोली अलि चाँडै पाकिस्तान जान लागेको बताइएको छ। एसिया कपको उद्घाटन खेलमा आउँदो भदौ १३ गते नेपाल र पाकिस्तान भिड्नेछन्। लेग स्पिनर सन्दीप लामिछाने भने टोलीसंगपाकिस्तान नजाने भएका छन्। 

१७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन्। उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने अथवा नखेल्ने अनिश्चित जस्तै बनेको छ।

गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए। अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् ।

निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई-तीन दिनमा निधो हुने छ । क्यानले भने उनलाई जसरी पनि एसिया कप खेलाउने प्रयासमा छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए।

टोलीसंग पाकिस्तान नगएपनि देशका लागि सन्दिपको अपरिहार्यता रहेको अध्यक्ष चन्दले उल्लेख गरे।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जादा पनि लेग स्पिनर लामिछाने भने देखिएनन्। उनि एसिया कप खेल्ने अथवा नखेल्ने अन्यौल छ।
 

५ भदौ, २०८०, १२:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।