हैदराबाद प्लेअफमा, ईशान किशनको ‘गो होम’ इशाराले चेन्नईका फ्यान ‘फायर’
मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्स (सीएसके) लाई पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
तर, खेलपछि हैदराबादका ब्याटर ईशान किशनले चेन्नईका फ्यानहरूतर्फ गरेको एउटा इशाराले अहिले सामाजिक सञ्जालमा ठूलो विवाद निम्त्याएको छ।
खेल सकिएलगत्तै ईशान किशनले दर्शकदीर्घातर्फ हेर्दै सिट्टी बजाएको र हातले ‘गो होम’ भन्ने शैलीको संकेत गरेको भिडियो सार्वजनिक भएको छ।
सीएसकेका फ्यानहरूले यसलाई आफ्नो टोलीको अपमानका रूपमा लिँदै ईशानको कडा आलोचना गरिरहेका छन्।
विवाद बढ्दै गएपछि ईशानले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गर्दै लेखेका छन्, ‘सिट्टीको भन्दा पनि चर्को आवाज ब्याटको थियो। प्लेअफमा पुग्यौँ।’
उनको यो क्याप्सनलाई सीएसकेको प्रसिद्ध नारा ‘ह्विसिल पोडु’ (सिट्टी बजाउ) सँग जोडेर व्यङ्ग्य गरिएको भन्दै फ्यानहरूले उनलाई ट्रोल गरिरहेका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाउँदै जित हासिल गर्यो।
हैदराबादको जितमा ईशान किशनले महत्वपूर्ण भूमिका खेले। उनले ४७ बलमा ७० रनको सानदार पारी खेलेका थिए, जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ समेत चुनियो।
यो जितसँगै सनराइजर्स हैदराबाद आधिकारिक रूपमा प्लेअफमा पुग्ने टोली बनेको छ।
जेठ ५, २०८३ मंगलबार ११:२४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।