लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरमा नयाँ कार्यसमिति, देशकै ठूलो राशिको पुरस्कार स्थापना हुने

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरमा नयाँ कार्यसमिति, देशकै ठूलो राशिको पुरस्कार स्थापना हुने

काठमाडौं : विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति चयन भएको छ।

काठमाडौंको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार बसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरुमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन्। निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ।

नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन्।

यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रूपमा चौधरीले काम गरेका थिए। उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एकमात्र पुत्री मेघा चौधरीले पाएकी हुन्।

कार्यक्रममा बोल्दै गीतकार चौधरीले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको स्मरण गरे। नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको अर्को कुनै संस्था नरहेको उनको दाबी छ।

सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र विस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे।

३२ साउन, २०८०, १९:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।