टेलिफोन अपरेटरले सिकाएको पाठ

एक व्यक्तिलाई प्रतिष्ठित कम्पनीमा ठुलै पदमा जागिर मिल्यो। जागिर त मिल्यो तर उनलाई पद अनुसार आफ्नो व्यवहार मिलाउन कठिन भइरहेको थियो। त्यसैले उनी आफूलाई कामै नभए पनि व्यस्त भएको नाटक गर्थे।
एक दिन उनी कार्यालयमा त्यसै बसिरहेका थिए कसैले उनको कोठाको ढोका ढक ढक गर्यो। उनले हत्तपत्त टेबलमा भएको टेलिफोनको रिसिभर समाते र कुरा गर्न थाले।
कुराकै बिचमा उनले ढोका ढकढकाउने व्यक्तिलाई भित्र बोलाए। तर उनी टेलिफोनमा कसैलाई निर्देशन दिन व्यस्त थिए।
'मलाई त्यो फाइल तत्काल चाहिन्छ' भन्दै उनी कसैलाई निर्देशन दिइरहेका थिए।
उनलाई भेट्न आउने व्यक्ति धैर्यताका साथ उनको कुरा उभिएरै सुनिरहेका थिए। १० मिनेट जतिपछि उनले फोन राखे अनि सोधे' तपाईँको के काम थियो?'
ती व्यक्तिले नम्र भावमा भने' सर, तपाईँको टेलिफोन पाँच दिनदेखि बिग्रिएको छ भनेर तपाईँकै अफिसले मर्मत गर्न बोलाएको हो।'
शिक्षा : देखावटी व्यवहार आफ्नै लागि हानिकारक छ।
साउन ३२, २०८० बिहीबार ०६:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।