नागरिकको अधिकारप्रति संवेदनशील हुन काठमाडौं महानगरलाई मानव अधिकार आयोगको आग्रह

नागरिकको अधिकारप्रति संवेदनशील हुन काठमाडौं महानगरलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकालाई नागरिकहरूको अधिकारप्रति संवेदनशील हुुन आग्रह गरेको छ।

मंगलबार प्रेस विज्ञप्ति निकालेर आयोगले सामखुसी खोलाको स्ल्याब हटाउँदा त्यस आसपास रहेका घरको जगमा असर परेको, स्थानीयलाई आवतजावतका कठिनाइ भएको र हैजा वा सङ्क्रामक रोगहरु फैलनसक्ने भन्दै संवेदनशील हुन आग्रह गरेको हो।

प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा फुटपाथ व्यवसायीहरूको अधिकार संरक्षण हुन नसकेको भन्दै त्यसतर्फ ध्यानदिनसमेत आग्रह गरिएको छ।

नागरिकहरूको स्वास्थ्य, सुरक्षित बसोबास एवं स्वच्छ वातावरणको अधिकारको सम्मान गर्दै मानव बस्तीमा विकास निर्माण कार्य गर्दा ठोस योजना र कार्यक्रम सहित गर्न, योजना कार्यान्वयन गर्दा नागरिकहरूमा पर्ने नकारात्मक प्रभाव न्यूनिकरणमा ध्यान दिनसमेत आयोगले महानगरलाई सचेत गराएको छ।

खोला किनारका सर्वसाधारणलाई सहज आवतजावतको व्यवस्था गर्न, अतिविपन्न र सहाराविहीन नागरिकहरूको बसोबासको वैकल्पिक व्यवस्था गरी विस्थापित हुनबाट जोगाउन, सङ्क्रामक रोग एवं महामारी देखापर्न सक्नेतर्फ सचेत रहनसमेत आयोगले आग्रह गरेको छ।

३० साउन, २०८०, १९:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।