डाक्टर मनिताको प्रसव पीडा र खुसी : प्रेगनेन्ट हुँदा मासु खान मन लागेन, पछि त शाकाहारी नै भएँ

डाक्टर मनिताको प्रसव पीडा र खुसी : प्रेगनेन्ट हुँदा मासु खान मन लागेन, पछि त शाकाहारी नै भएँ

डा. मनिता श्रेष्ठ राजकर्णिकार अहिले स्टार हस्पिटलका वरिष्ठ रक्तसञ्चार सल्लाहकारका रूपमा कार्यरत छिन्।

रेडक्रसमा आबद्ध भएर २५ वर्षदेखि अनुभव बटुलेकी उनले टिचिङ हस्पिटल, प्रसूति गृह थापाथली र उपत्यका प्रसूति नर्सिङ होममा पनि काम गरेकी छन्। 

यसभन्दा अगाडि नेपाल रेड क्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको डाइरेक्टर भएर काम गरेकी उनले कोभिडमा स्वास्थ्य सेवा विभागमा पनि काम गरिन्। रेडक्रस सोसाइटी ललितपुर जिल्लाको रक्तसञ्चार सेवामा पनि उनी अहिले सल्लाहकार भएर काम गरिरहेकी छिन्। 

त्यस्तै 'एसियन एसोसियसन अफ ब्लड ट्रांस्फ्युजन’ मा पनि उनी भाइस प्रेसिडेन्ट हुन्। उक्त संस्थामा करिब २७ वटा देशहरूले एसियामा कसरी रक्तसञ्चार सेवालाई अगाडि बढाउने भनेर अध्ययन र छलफल हुने गर्छ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाताहरूको एसोसियसनमा पनि उनको संलग्न छ। 

पाटनको कुभेश्वरमा ठूलो परिवारमा हुर्किएकी डा. मनिताको इच्छा भने इन्जिनियर हुँदै पाइलट बन्ने थियो। तर, छोरी मान्छे भएर इन्जिनियर किन पढ्ने भन्ने जस्तो कुराहरू उनले सुन्नुपर्यो र आफ्नो इच्छा पनि डाक्टर बन्नेतिर लगाइन्। दुइटा छोरीको आमा रहेकी उनै डाक्टरले उकेराको स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी सुनाइन्। 

०००

पढाइ सकेर भर्खरै काम सुरु गरेको बेलामा मैले बिहे गरेँ। पहिला आफूले मन पराएको र पछि परिवारको सहमतिमा बिहे गरेको भएर हाम्रो बिहेलाई प्रेम र मागी दुवै भन्न मिल्छ। घरमा पनि बुहारीहरूले काम गर्न हुन्न भन्ने मानसिकता थिएन। त्यही भएर मैले मेरो कामलाई निरन्तरता दिन सकेँ। 

बिहे भएको दुई वर्षपछि हामीले योजना बनाएरै बच्चा पाउने निर्णय गर्यौँ। बिहे भएको पहिलो वर्षसम्म पनि बच्चा भएन भने मात्र पनि किन भएन भन्ने रहेछ। त्यसैमाथि बिहे गर्दा नै म त २८ वर्षको थिएँ। परिवारबाट पनि एक हिसाबले दबाब आउन थाल्यो।

त्यही भएर हामीले योजना बनाउनै पर्यो। त्यो बेलामा म टिचिङ हस्पिटलमा काम गर्न थालिसकेको थिएँ। प्रेगनेन्ट भएको खबर पाएपछि सबै जना खुसी भयौं। 

अहिले मेरा दुइटा छोरी छन्। दुईबीच ५ वर्षको अन्तर पनि छ। दोश्रो बच्चा पनि हामीले योजनाअनुसार नै पाउने निर्णय गरेका हौँ। आफै पनि स्वास्थ्य शिक्षा पढेको र काम पनि गरेको हुनाले मैले त्यस्तो धेरै झन्झट महशुस गरिनँ। देशकै ठूलो प्रसूति गृहमा पनि काम गरेको अनुभव लिन पाएँ।

त्यसबेला काम गर्दा आफैले पनि धेरै जान्ने मौका पाएँ भनेर आफू आमा बन्दा थाहा पाएँ। 

त्यही भएर कुन समयमा के हुन्छ, अनि त्यसलाई कसरी ह्यान्डल गर्ने भनेर थाहा हुने रहेछ। प्रसूति गृहमा दैनिक हजारौँ मान्छेसँगको शरीरअनुसार समस्या र उनीहरूको अनुभव मेरा लागि काम लाग्यो। त्यही भएर मैले प्रेगनेन्सीलाई सामान्य रूपमै लिएँ। त्यस्तो गाह्रो भएको फिल भएन। तौलचाहिँ अलि बढेको हो कि जस्तो लाग्थ्यो। त्यही भएर त्यसैअनुसार व्यायाम गर्थेँ। मलाई फेरि पहिलादेखि नै आफू मोटो भएको मन पर्दैन थियो।

अनि योजनाअनुसार नै तयार भएको कारण मानसिक रूपमा त खुसी थिएँ। खान मन नलाग्नेचाहिँ हुन्थ्यो। तर, कमजोरी भएर नौ महिनामा कुनै पनि दिन छुट्टी लिन परेन। काममा गई नै राखेँ। पहिलो छोरी काम गर्दा टिचिङ हस्पिटलमा काम गरेको भएर त्यहीँ नै डेलिभरी गरेँ। अनि दोस्रो छोरीको समयमा उपत्यका प्रसूति नर्सिङ होममा काम गरिरहेको भएर ऊ त्यहीँ जन्मियो। सबै साथीहरू नै थिए। प्रसवको पीडा त अब म व्याख्या पनि गर्न सक्दैन। 

तर, त्यसबेला पनि धेरै गाह्रोचाहिँ बेहोर्नुपरेन। पहिलो छोरीको समयमा उसको तौल धेरै भएर सिजर (अप्रेसन) नै गर्न परर्यो। ऊ झन्डै तीन किलोको थिई। अनि दोश्रोमा नर्मल नै भयो। पहिलो र दोश्रो प्रेगनेन्सीको समयमा खासै धेरै फरक महशुस पनि भएन। सानीको बेलामा बरु मासु एकदमै मन परेन। खानै सकिनँ। हाम्रोमा त फेरि बच्चा भएपछि मासुभात खुवाउने भन्ने चलन छ। तर, ऊ जन्मेपछि मलाई मासुबाट त एलर्जीजस्तै हुन थाल्यो। हेर्ने मन भएन। त्यही भएर अहिले त म शाकाहारी नै भएको छु।

काम गर्दा धेरैको मातृत्व देखेको र धेरैलाई सिकाएको पनि हो। आफ्नो बेला त त्यो झन् नजिकबाट अनुभव गरेँ। बच्चा पाएपछि ४५ दिनको बिदा पाइन्थ्यो। तर, मैले तीन महिनासम्म काम गरिनँ। त्यही भएर सुत्केरी स्याहार पनि राम्रो भयो। स्तनपान पनि सजिलैसँग भयो। 

प्रसूति गृहमा त हाम्रो टिमले तालिम नै आयोजना गरेका थियौं। तालिम दिँदा कहिले, कसरी र कति दिने भन्ने सबै आफैँले पनि जानिसकेको थिएँ। अनि फेरि राम्रोसँग काममा लाग्न सकेँ। परिवारको साथको कारण पनि बच्चा भएपछि काम छोड्न परेन। सासूलाई अलि गाह्रो भएको कारण छोरीहरू प्रायः माइतीमै हुन्थे। उनीहरूले मामाघरको आफ्नोपनचाहिँ राम्रोसँग जान्न पाए। 

छुट्टीबाहेक अरू बेला बच्चाहरूलाई मैले धेरै समय दिन पाउँदैन थिएँ। त्यस्तो बेलामा उनीहरूले 'काममा नजानु ममी’ भन्थे। तर, बुझ्ने भएपछि उनीहरूले मलाई झन् बढी बुझ्ने भएको हो कि जस्तो लाग्छ।

ठूलो छोरी अहिले वातावरण विज्ञानमा स्नातकोतर गर्दैछिन्। अनि सानो छोरीले पनि पत्रकारितामा स्नातक सक्काइसकी। घरमा उनीहरू छोड्दा परिवारको अन्य सदस्यसँग पनि घुलमिल हुन भने उनीहरूलाई सहज भएको जस्तो लाग्छ। 

दुइटा छोरी भएपछि कताकता एउटा छोरा हुनुपर्छ कि भन्ने जस्तो कुरा पनि आउँथ्यो। तर, मलाई दुइटाचाहिँ चाहिएको थियो। छोरीछोरी भएर पनि खुसी छु। दोश्रो बच्चा जन्माउने निर्णय गरेको पनि छोरा पाउनका लागि होइन। अर्को एउटा भयो भने साथी हुन्छ भनेर मात्र हो।

हामीले उनीहरूलाई पढाइमा पनि स्वतन्त्रता दियौं। दुई छोरी सँगै बस्दा कसैले साथी, कसैले दिदीबहिनीजस्तै देखियो भन्छन्। 

हामी पनि कुरा गर्दा साथीजस्तै गरेर कुरा गर्छौं। छोराछोरी हुनु भनेकै आमाबाको लागि अहोभाग्य हो। मेरो त झन् दुइटा छोरी छ। छोरीको रूपमा साथीहरू पाएजस्तै लाग्छ।

मातृत्वको अनुभव एकदमै अचम्मको लाग्यो। आफै पहिला छोरी भएर बसिरहेको। आमा भएपछि त जिम्मेवारी बढेको आफै अनुभव हुने रहेछ। 

अनि कता कता अलि बाँधिएको जस्तो पनि लाग्यो। पहिला जसरी काममा मात्र ध्यान दिन्थेँ। बच्चा भएपछि बच्चामा पनि दिनुपर्ने भयो। तर, त्यति बेला पनि अर्कै खालको खुसी भने भइरह्यो। आफू तयार भएर स्वास्थ्यमा सचेत हुन सक्यो भने प्रसव पीडा त्यति धेरै गाह्रो होइन। स्वास्थ्यप्रति जो सचेत हुन्छ ऊ नै आफ्नो डाक्टर हुन सक्छ। डाक्टर नै हुनुपर्छ वा चाहिन्छ, भन्ने पनि छैन। 

अहिले त झन् धेरै स्रोत र साधनहरू छ। स्वास्थ्यमा जति सचेत भयो। कामहरू सजिलो पनि हुँदै जान्छ। आफू डाक्टर भएर अरूलाई जसरी हेर्न सकेँ त्योभन्दा बढी आफैलाई पनि हेर्न सक्ने भएछु। खुसी लाग्छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

साउन २८, २०८० आइतबार १५:०१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।