डा. अमितको उपचार अनुभव : भिडियो एक्सरे गर्दा नदेखिएको रोग हातैले छाम्दा पत्ता लागेपछि...
डाक्टर अमित सिंह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनले कर्णाली प्रदेशको प्रदेश अस्पताल, सुर्खेतमा बसेर धेरै महिलाहरूलाई बचाएका छन्। विशेषगरी दुर्गम क्षेत्रबाट स्वास्थ्य जटिलता निम्तिएर अस्पताल पुगेका केही घटना भने उनी कहिल्यै भुल्दैनन्।
कतिपय बिरामीलाई भने अथक उपचार प्रयास गरे पनि बचाउन सम्भव नभएको घटना सम्झँदा उनलाई नरमाइलो लाग्छ। हुन त यस्तो चिकित्सकीय विधा छैन जसले उपचार गरेका शत प्रतिशत बिरामी बचाउन सम्भव होस्।
त्यसो त उपचारको सिलसिलामा छोटो समयमा तुरुन्तै निर्णय लिनुपर्ने समस्या आइपर्न सक्छ। तर, यस्ता समस्यासँग जुध्न रुचाउँछन् उनी।
भिडियो एक्सरे गर्दा पत्ता नलागेको रोग हातैले छामेर पत्ता लाग्यो
६ वर्षअघि करिब ३५ वर्षकी एक जना महिला उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतको आकस्मिक कक्षमा पुगिन्। रक्तश्राव भइरहेकी ती महिलाको स्वास्थ्य परीक्षणका लागि डा. अमितले पहिला भएको समस्यबारे बुझे।
तीन बच्चाकी आमा उनको सबै डेलिभरी घरमै भएको रहेछ। कान्छो सन्तान अहिले १२ वर्षको भइसकेको रहेछ। करिब १५ महिनाअघिदेखि महिलालाई यौनाङ्गजन्य समस्या भएको महसुस भएको रहेछ। यसबीचमा उपचारको लागि केही स्वास्थ्यसंस्था पुगे पनि रोग नै पत्ता नलागेपछि प्रदेश अस्पताल पुगेकी रहिछन्।
डा. अमितले रोग पहिचानका लागि ती महिलाको भिडियो एक्सरे (अल्टा«साउण्ड) गरे। तर त्यसले पनि रोग देखाएन। बिरामीको आर्थिक अवस्था कमजोर भएकाले एमआरआईका लागि अन्य अस्पतालमा रिफर गर्न सम्भव भएन। महिलाको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको थियो।
त्यसैले डा. अमितले महिलाको स्वास्थ्य समस्या पत्ता लगाउन हातै छाम्न थाले। छाम्दै जाँदा पाठेघरमा मासु डल्लो परेको फेला पारे। मासुको डल्लो कहाँबाट पलायो भनेर खोज्दै जाँदा पाठेघर नै फर्किएको पत्ता लाग्यो।
यसरी हातले छामेर रोग पत्ता लगाउने विधिलाई चिकित्सकीय भाषामा ‘क्लिनिकल डाइग्नोशिस तथा फिजिकल इक्जामिनेशन’ भनिन्छ। पाठेघर फर्किने यस्तो समस्यालाई भने चिकित्सकीय भाषामा ‘क्रोनिक युटेरिन इन्भर्जन’ भनिन्छ।
रोग पत्ता लागेपछि डा. अमित नेतृत्वको चिकित्सकको टिमले शल्यक्रियाको निर्णय लियो र सबै तयारीपछि थालियो पनि। तीन घण्टा शल्यक्रियापछि महिलाको फर्किएको पाठेघर ठिक ठाउँमा ल्याउन चिकित्सकको टिम सफल भयो। महिलाको ज्यान बाँच्यो। केही दिनको अस्पताल बसाइपछि ठिक भएर ती महिला घर फकिइन्।
हातैले छामेर रोग पत्ता लगाएर जटिल, जोखिम र दुर्लभ शल्यक्रिया गरी महिलालाई बचाउन सफल भएको त्यो घटना डा. अमित स्वयंका लागि अनौठो थियो। कतिपय अवस्थामा रोग पत्ता लगाउने मेसिन औजारको मात्रै पनि भर पर्न नहुने उनको अनुभव छ।
दुर्लभ रोग लागेकी गर्भवती र बच्चालाई बचाउँदा
करिब दुई महिनाअघि २०/२२ वर्षकी एक गर्भवती महिला प्रदेश अस्पताल, सुर्खेत पुगिन्। महिलाको मुटुमा प्वाल परेको रहेछ, जसलाई चिकित्सकीय भाषामा ‘सिभियर पल्मोनरी आर्टरी हाइपर टेन्सन वीथ आइसेन्मेन्जर सिन्ड्रोम’ भनिन्छ।
यस्तो रोग लागेका महिला गर्भवती भएमा मृत्युको जोखिम धेरै नै हुने डा. अमितले बताए। गर्भवती हुँदा ती महिलाको मृत्युको जोखिम भएकाले पहिलो पटक बसेको गर्भ पनि डा. अमितको टिमले सुरुमा नै गर्भपतन गरेर फालिदिएको थियो। त्यसपछि चिकित्सकको टिमले गर्भवती नहुन सल्लाहसमेत दिएको थियो।
तर, बच्चाको रहरका कारण ती महिला पुनः गर्भवती भइछन्। दोस्रो पटक गर्भवती भएपछि ती महिलामा स्वास्थ्य समस्या देखियो। डा. अमितलाई याद भएसम्म गर्भवती भएको करिब आठ महिनामा ती महिला अस्पताल पुगेकी थिइन्।
महिलालाई श्वास फेर्नसमेत कठिन भइसकेको थियो। स्वास्थ्य अवस्थ जटिल थियो। महिलालाई आईसीयूमा भर्ना गरेर चिकित्सकको टिमले शल्यक्रिया गरेर बच्चा निकाल्यो। अथक प्रयासपछि आमा र बच्चा दुवैको ज्यान बचाउन चिकित्कको टिम सफल भयो।
केही दिनको अस्पताल बसाईपछि ति महिला हँसिलो मुुहार लगाएर घर फर्किइन्। त्यति जटिल किसिमको रोगको जोखिमका बावजुत पनि ती गर्भवती आमा र बच्चा दुवैलाई बचाएर घर पठाउन सक्दा डा. अमितलाई आनन्द लाग्छ।
उपचार थालेको पाँच मिनेटमा गर्भवतीको ज्यान गयो
करिब सात वर्षअघि २५ वर्षकी गर्भवती महिलालाई अस्पताल ल्याइयो। अस्पताल पुर्याउँदा ती महिलाको स्वास्थ्य अवस्था सामान्य नै थियो। तर, उपचारकै क्रममा ती महिलाको मुखबाट फिँज आउन थाल्यो। उनले ‘मलाई श्वास फेर्न गाह्रो भयो’ भनिन् र उपचार थालेको पाँच मिनेटमै प्राण त्यागिन्।
घटना चिकित्सकहरूका लागि काबुबाहिरको परिस्थिति थियो। मृतकका आफन्तले अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै हंगामा नै मच्चाए। त्यसपछि काठमाडौंबाट चिकित्सक बोलाएर ती महिलाको पोष्टमार्टम गर्नुपर्यो।
त्यसपछि आफन्तलाई राम्रोसँग सम्झाइयो। मृतकका आफन्तले पनि कुरा बुझे। त्यो घटना सुनाउँदै गर्दा डा. अमितले प्रसूति तथा स्त्री रोग विशेषज्ञले निक्कै तनावपूर्ण अवस्थामा पनि काम गर्नुपर्ने अवस्थासमेत निम्तने अनुभव सुनाए।
दैलेखमा अप्रेशन सुरु भएर सुर्खेतमा बाँचेकी महिला
करिब तीन महिनाअघि दैलेख जिल्ला अस्पतालमा एक गर्भवती महिला पुगिछन्। महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था निम्तियो। दैलेखका चिकित्सकले शल्यक्रिया थाले र बच्चा पनि निकाले।
तर, शल्यक्रियाको क्रममा ती महिलाको रक्तश्राव नै रोकिएन। शल्यक्रिया गरिरहेको चिकित्सकको टिमले डा. अमितसँग सम्पर्क गर्यो। उनले थिचेर रगत थुन्न र तत्काल सुर्खेत ल्याउन सुझाव दिए।
शल्यक्रियामा खटिएको टिमले रक्तश्राव हुने ठाउँ थिचेर रक्तश्राव रोक्यो। शल्यक्रिया सकिएकै थिएन। चिकित्सकको टिमले महिलालाई सुर्खेत पुर्याउनका लागि हेलिकप्टर मगायो। तुरुन्तै हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल पुर्याइयो।
सुर्खेतमा पुर्याउनासाथ डा. अमितको टिमले ती महिलालाई अप्रेशन थिएटर लग्यो र बाँकी रहेको शल्यक्रिया थाल्यो। चिकित्सकको टिमले महिलाको रक्तश्राव रोक्यो। करिब डेढ घण्टाको मेहनतपछि शल्यक्रिया सफल भयो र महिला बाँचिन्।
केही दिनको अस्पताल बसाइपछि महिला मुस्कुराउँदै घर फकिईन्। दैलेख अस्पतालको टिम र सुर्खेतको चिकित्सकको टिमले राम्रो समन्वय गरेकै कारण ती महिलाको ज्यान बाँचेको डा. अमित बताउँछन्।
बिरामीको मर्का बुझ्न सक्नुपर्छ
बिरामीको उपचार गर्दा विज्ञानको प्रमाणित पक्षलाई त आधार मान्नुपर्छ नै। तर, बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा बिरामीको आर्थिक, सामाजिक तथा पारिवारिक जस्ता समस्यालाई पनि त्यतिकै ध्यान दिनुपर्ने डा. अमितको अनुभव छ।
अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाका कयौं बिरामी भर्नाको लागि तयारी गरिरहँदा घर फर्केको उनी सम्झन्छन्। कयौं बिरामी औषधि उपचारका लागि पैसा नै नभएर चिकित्सकले थाहै नपाई घर फर्केको उनी आफैँ साक्षी छन्। त्यसैले भर्ना नगरी नहुने बाहेकका बिरामीलाई घर जान दिनुपर्ने उनले महसुस गरेका छन्।
गउँघरबाट कयौं बिरामी आफ्ना साना छोराछोरी १/२ रातका लागि कसैलाई छोडेर अस्पताल पुगेका हुन्छन्। टाढाटाढाबाट गाई, भैंसी, बाख्रा लगायत पशुपंक्षी १/२ दिन कसैलाई हेरिदिनु भनेर छोडेर अस्पताल पुगेका हुन्छन्। कसैको खेतिपाती बितेको हुन्छ।
चिकित्सकले बिरामीको यस्तो अवस्थालाई पनि मध्यनजर गरेर उपचार पद्धति अपनाउनुपर्ने डा. अमितको अनुभव र सुझाव छ।
‘बिरामीले सानो बच्चा घरमा छोडेर आएका छन् भने भर्ना भए हुनुहोस् नत्र म उपचार गर्दिन पनि भन्नुहुँदैन, मर्का बुझेर त्यही अनुसारको उपचार पद्धति अपनाउनुपर्छ,’ उनले भने।
प्रत्येक महिना १/२ जना महिला हेलिकप्टरबाट उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत आउने गरेको डा. अमितले सुनाए। अस्पताल पुगेकामध्ये सबै बिरामीलाई बचाउन सम्भव हुँदैन। बिरामी बचाउन नसकेको अवस्थामा भने निक्कै दुःख लाग्ने गरेको अनुभूति उनले सुनाए।
घुमन्ते शैलीमा अध्ययन
सप्तरिको बनैनिया(राजगढ)मा २०३८ मा जन्मिएका अमितका बुवा सरकारी चिकित्सक नै थिए। बुवाको सरुवा भइराख्थ्यो। त्यसैले उनी पनि बाल्यकालमा बुवाको जता सरुवा भयो उतै बुवाआमासँग बस्ने नै भए।
अमितले दोलखाको जिरीमा विद्यालयको पाइला टेके। बुवाको सरुवासँगै क्रमशः काठमाडौं, मोरङको रंगेली, सप्तरिको राजविराजमा उनले पाँच कक्षासम्म पढे।
त्यसपछि फेरि बुवाको काठमाडौंमा सरुवा भयो अनि अमितले ६ कक्षाबाट पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा पढ्न थाले। त्यहिँबाट एसएलसी गरे भने काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित स्कुल अफ साइन्सबाट आइएस्सी सके।
छात्रवृतिमा एमबीबीएस अध्ययन, स्त्रीरोगमा एमडी
बुवा डाक्टर भएकाले अमितलाई पनि डाक्टर नै पढ्ने रहर थियो। त्यसैले काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं मेडिकल कलेजमा सन् २००१ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। सन् २००६ मा एमबीबीएस अध्ययन पूरा भयो।
अमितले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेका रहेछन्। सरकारी छात्रवृतिमा पढेकाले उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले तनहुँको बन्दिपुर अस्पतालमा गएर दुई वर्ष छात्रवृति करारमा काम गरे।
डा. अमितलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन थाले। सन् २०१३ मा एमडी अध्ययन सकियो। त्यो बेला पुरुषहरू यो विषय छनोट गर्न अलि रुचाउँदैन थिए रे। तर, उनले यही विषय छनोट गरेर पढे।
सुर्खेतमा आठ वर्ष, परिवारसँग बस्न नपाउँदा अमिलो मन
एमडी अध्ययनपछि डा. अमितले मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा करिब अढाई वर्ष लेक्चररका रूपमा काम गरे। सरकारी जागिरका लागि उनले लोकसेवा परीक्षा दिए।
वि.सं. २०७२ मा लोकेसवामार्फत आठौं तहको सरकारी मेडिकल अधिकृतको रूपमा जागिरे भए। सरकारी जागिरे भएपछि डा. अमित पोष्टिङ तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा भयो। अहिले यो अस्पतालको नाम परिवर्तन भएर कर्णाली प्रदेश अस्पताल भएको छ।
आठौं तहमा सरकारी जागिरे भएको करिब तीन वर्षमा डा. अमित लोकसेवाको खुला प्रतियोगितामार्फत नवौं तहको सरकारी जागिरे भए। अहिले उनी बढुवा भएर दशौं तहमा छन्।
हालसम्म डा. अमित कर्णाली प्रदेशको प्रदेश अस्पताल, सुर्खेतमा नै प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा कार्यरत छन्। यो अस्पतालमा सुरुवाती दिनहरूमा प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा काम गरेको विभिन्न आरोह अवरोह सम्झन्छन् उनी।
सुर्खेतमा काम गर्दा नै करिब सात वर्षअघि उनको विवाह भयो। उनकी श्रीमती पनि चिकित्सक नै हुन्। अहिले उनकी श्रीमती अमेरिकामा छिन्। ओहोरदोहोर भइरहन्छ। उनीहरूकी करिब पाँच वर्षकी छोरी छिन्।
चिकित्सा पेशा अपनाएकै कारण परिवारलाई समय दिन नसकेको अनुभूति भने उनको मनमा खड्किरहन्छ। उनकी आमा काठमाडौंमा नै बस्छिन्।
डा. अमितका बुवा रक्त क्यान्सरका कारण दुई वर्ष अघि बिते। तर, बुवा बिरामी पर्दासमेत डा. अमित स्याहारका लागि बस्न पाएनन्। त्यो सम्झँदा उनको मन अलि अमिलो हुन्छ।
साउन २७, २०८० शनिबार १९:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।