ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुरको हत्यामा शंका लागेकालाई कुरा गर्न कार्यालय बोलाएको, थर्काएर गयो
अपराध महाशाखाबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय पुगेपछि मेरो डीआईजीमा बढुवा भयो। बढुवामा कति सकस भयो भन्ने त यस अगाडिको अंकमा लेखिसकेको छु। त्यही फेरि के दोहोर्याउनु। त्यो बेलामा गृहमन्त्री मेरो बढुवाको पक्षमा थिएनन्। गाह्रै भएको थियो बढुवा हुन।
बढुवापछि अन्वेशण महाशाखामा दरबन्दी भएको थियो। त्यो बेलासम्म मेरै ब्याचका उपेन्द्रकान्त अर्याल प्रहरी महिनिरीक्षकमा नियुक्त भए।
मलाई केन्द्रीय अनुसन्धान ब्यूरो पठाउने मन रहेछ अर्याललाई। अनुसन्धानमा रमाउने मान्छे अब ब्यूरो जान त मलाई पनि मन नहुने कुरै भएन। तर, प्रतिष्पर्धा निकै चर्को हुने अनि दौडधुप गर्न नसकिने भएकाले रहर मनैभित्र राखेर बसेको थिएँ।
प्रहरी महानिरीक्षकको समेत रुचि भएकाले ब्यूरोमा मेरो सहजै सरुवा भयो। आईजीपीले चाहने हो भने काम हुन्छ भन्ने यो एक उदाहरण पनि हो।
यो लेख्दा आफ्नो प्रशंसा गरेको जस्तो पनि लाग्ला। तर सत्य यही हो। आईजीपीले ब्यूरो जाने हो भनेर सोध्दा हुन्छ नि भन्ने बाहेक कुनै पावर सेन्टको ढोका धाइन मैले। ढोका धाउँदा आउने डिमान्ड पूरा गर्ने न मेरो हैसियत हो न स्वभाव। त्यसैले दिए जाउँला भनेरै बसेको थिएँ।
बम पर्सनल सेक्युरिटी गार्ड अनि साथीसहित गाडीमा भएको बेलामा भएको हत्या निकै संगठित देखिएको थियो। बहालवाला न्यायाधीशको त्यसरी हत्या हुँदा त्यसले तरङ्ग ल्याउने नै भयो।
जब सरुवा निस्कियो नि ज्यादै खुसी लाग्यो। लगभग प्रहरी सेवाको अन्तिम कार्यकालतिर थिए म ब्यूरोमा सरुवा हुँदा।
अवकासको समयमा जाँदाजाँदै ब्यूरोको जिम्मेवारी पाउनु मेरा लागि निकै महत्वपूर्ण थियो। ब्यूरोमा रहेकाहरूका कारण पनि उत्साहित थिए म। एक सा एक अनुसन्धानमा खारिएका प्रहरीहरू थिए त्यो बेला ब्यूरोमा।
सीआईबीमा रहेर काम गर्दाका निकै स्मरणीय काम भए। अहिले सम्झदा पनि आनन्द लाग्छ।
तर, केही तीता अनुभव पनि छन्। संगठनमा काम देखिने ठाउँमा जान प्रतिष्पर्धा हुन्छ नै। तर, त्यो प्रतिष्पर्धा स्वच्छ भयो भने प्रतिष्पर्धा गर्न पनि मज्जा आउँछ।
म ब्यूरोमा गएको ६ महिना पनि कट्न नपाउँदै मलाई त्यहाँबाट हटाएर आफू प्रमुख हुन साथीहरू दौडधुपमा लागे। काम भर्खर शुरू भइराखेको छ तर आजै सरुवा हुने हो कि भोलि टुंगो थिएन। दिक्क लाग्थ्यो त्यो बेलामा। म घरको काम गर्न त ब्यूरो गएको थिइन। संगठनकै काम गर्न गएको थिएँ नि!
त्यसमा मैले केही बदमासी गरे कारबाही गरे भइहाल्यो। कामको योजना बनाएर कार्यान्वयनमा लैजान पाएको छैन खुट्टा तान्न थालेपछि जसलाई पनि झोक चलिहाल्छ नि! मलाई पनि झोक चल्यो त्यो बेलामा। तर प्रहरी प्रमुख मेरो पक्षमा भएकाले जो सरुवा गराउने दौडधुपमा लागेका थिए थाके। उनीहरू सफल भएनन्।
म ब्यूरो पुग्दा निकै महत्वपूर्ण र गम्भीर आपराधिक घटनाका अनुसन्धानहरू अपूरै थिए। तल्लो तहमा अनुसन्धान सफल नभएर ब्यूरोमा पुगेका थिए केही गम्भीर घटनाहरू। केही पुराना तर अति महत्वपूर्ण आपराधिक घटनाको अनुसन्धान पनि टुङ्ग्याउनु थियो। ती फाइलले भने झस्काउँथ्यो।
कुन तहसम्मको अनुसन्धान भएको रहेछ भनेर बुझ्न सक्यो भने आगामी रणनीति बनाउन सजिलो हुन्छ। त्यसैले सबैभन्दा पहिला अनुसन्धानको फाइल मगाएर आफैँले अध्ययन शुरू गरेँ।
अपराध अनुसन्धानको नेतृत्व गर्ने आ-आफ्नै शैली हुन्छन्। कोही आफू योजना बनाएर जस्ताको त्यस्तै कार्यान्वयन गर्न खोज्छन्। कोही सामुहिक छलफलबाट रणनीति बनाएर अगाडि बढ्छन्।
मेरो शैली दोस्रो हो। म जहाँ-जहाँ बसेँ त्यहाँ सामुहिक छलफल र सामुहिक रायको आधारमा रणनीति बनाउँदा असम्भव भनिएका केसहरूको अनुसन्धान पनि सफल भएको थियो।
लामो समयसम्म अनुसन्धान गर्दा पनि सफल नहुनुको कारण अनुसन्धानको बाटो नै गलत भएर पनि हुनसक्छ। प्राय केसको फलोअपमा एउटाले प्रारम्भमा जसरी अनुसन्धान शुरूवात गरेको हुन्छ त्यही शैलीलाई पछ्याउने हुन्छन्।
पहिलाको अनुसन्धानमा कमजोरी भएको हुन्छ नै भन्ने हैन। तर कहीँ न कहीँ केही न केही मिसिङ भएर नै त अनुसन्धान सफल नहुने हो। त्यसैले फलोअप अनुसन्धानमा कहिलेकाँही बाटो बदल्दा सफल पनि हुनसक्छ। यो अलि जोखिमपूर्ण काम हो। तर यस्तो जोखिम लिने बानी परिसकेको छ मलाई।
यता केही पुराना आपराधिक घटना अनि केही गम्भीर प्रकृतिको अपराध जसले प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्न उठाएको थियो दुवै खालको फाइल खोल्न लगाए। त्यसमा महत्वपूर्ण घटना थियो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याको।
पक्राउ नगरे पनि एकपटक कुरा गर्दा के नै होला र भनेर शंकामा भएका ती व्यक्तिलाई कार्यालयमा बोलाएँ। उनी आए पनि। कार्यालयमा आउँदा पूरै कन्फिडेन्ट देखिए।
२०६९ जेठ १८ गते बंगलामुखी मन्दिरमा दर्शन गरेर कार्यालय जानेक्रममा ललितपुरको राष्ट्रसंघीय पार्क नजिकै गोली हानेर सडकमै बमको हत्या भएको थियो।
बम पर्सनल सेक्युरिटी गार्ड अनि साथीसहित गाडीमा भएको बेलामा भएको हत्या निकै संगठित देखिएको थियो। बहालवाला न्यायाधीशको त्यसरी हत्या हुँदा त्यसले तरङ्ग ल्याउने नै भयो।
प्रहरीले विभिन्न कोणबाट हत्याको अनुसन्धान गर्दा पनि निचोडमा पुग्न सकेको थिएन। घटना हुँदा उपेन्द्रकान्त अर्याल ब्यूरो प्रमुख थिए। उनको पालामा बम हत्याको अनुसन्धान भएको थियो। प्रहरी प्रमुख हुँदा पनि यो अनुसन्धान टुङ्ग्याउन उनको पनि विशेष चासो हुने नै भयो।
कुन तहसम्मको अनुसन्धान भएको रहेछ भनेर बुझ्न सक्यो भने आगामी रणनीति बनाउन सजिलो हुन्छ। त्यसैले सबैभन्दा पहिला अनुसन्धानको फाइल मगाएर आफैँले अध्ययन शुरू गरेँ।
जति अनुसन्धान भएको थियो एक्सिलेन्ट थियो। प्राविधिक रूपमा कुनै समस्या देखिनँ अनुसन्धानमा। लगभग लगभग हत्या घटनामा को संलग्न हो अनि उसले किन हत्या गरेको हो भन्नेसम्मका प्राविधिक पक्ष प्रष्ट हुनेगरि अनुसन्धान भइसकेको थियो। तर जो शंकामा हुन् उनी पक्राउ परेका थिएनन्।
पक्राउ नपर्नुको कारण उनी नै घटनामा संलग्न छन् भनेर छुने प्रमाणको अभाव। प्राविधिक प्रमाणले उनीबाहेक अन्य नदेखाए पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाण नभइ शंकामा परेका व्यक्तिलाई पक्राउ गर्नसक्ने अवस्था देखिएन।
त्यसमा पनि जो शंका हुन् उनलाई पहिला दुई पटक पक्राउ गरिसकिएको रहेछ। पहिला हत्या घटनाको केही दिनमै पक्राउ गरेर सोधपुछ गर्दा उनले दिएका तर्क चित्तबुझ्दो नभए पनि ‘तै होस्’ भन्ने प्रमाण नभएकाले छुटेका थिए।
प्रहरीले जसलाई बम हत्याको मुख्य योजनाकारको रूपमा सार्वजनिक गरेको थियो सार्वजनिक गरिसक्दा पनि धेरैले प्रहरीलाई विश्वास गर्न सकेका थिएनन्।
दोस्रो पटक ब्यूरोले नै पक्राउ गरेर १६-१७ दिन राखेर अनुसन्धान गर्दा पनि थप प्रमाण संकलन गर्न सम्भव नभएपछि रिहा भएका रहेछन्।
अब मेरो पालामा पनि उसैलाई समातेर ल्याएर केरकार गरेको भरमा मात्र यो केसको अनुसन्धान टुंगिने सम्भावना देखिएन।
पक्राउ नगरे पनि एकपटक कुरा गर्दा के नै होला र भनेर शंकामा भएका ती व्यक्तिलाई कार्यालयमा बोलाएँ। उनी आए पनि। कार्यालयमा आउँदा पूरै कन्फिडेन्ट देखिए।
कुराकानी हुँदा-हुँदै उनले सिधै ‘अब यसो गरौँ सर, मैले जे भने पनि तपाईंहरूलाई मैले नै गरेको हो भन्ने विश्वास छँदैछ। सिधै प्रेस कन्फ्रेन्स राखौँ। मैले जे भन्नुपर्ने हो म त्यहाँ त्यहीँ भनिदिउँला नि हुन्न’ भनेर उल्टो थर्काए पो।
कुरा गर्न बोलाउँदा मैले गरेको अपराध थाहा पाएकी भनेर डराउँछन् पो। उसले उल्टो थर्कायो। उसको मुड बुझिहालियो। यतिकै यो गल्नेवाला देखिएन।
थप प्रमाण फेला नपरी यो केस सुल्झाउन असम्भव देखेपछि ब्यूरोमा टिम बनाएर अनुसन्धान अगाडि बढाउने रणनीति बनाएँ।
पहिलाकै अनुसन्धान बलियो नै थियो। त्यसमा शंकालाई प्रमाणसँग जोड्न मात्र बाँकी थियो। त्यसका लागि अलि अनुसन्धानको पाटो बदल्नुपर्छ कि भन्ने लाग्यो। अनि बदलियो पनि।
अनुसन्धानको पाटो बदल्दा एक प्रमाण जनकपुरमा फेला पर्यो। त्यसबाट पहिलाको अनुसन्धानमा नखुलेका केही नयाँ आधार अनि केही नयाँ व्यक्तिहरू देखियो।
बाबु थापालाई तेस्रो पटक पक्राउ गर्दा पछि हटेर छाड्नुपर्ने अवस्था थिएन। हाम्रो अनुसन्धान बलियो थियो। त्यो अदालतबाट पनि पुष्टि भयो।
उनीहरूको सम्बन्ध जोड्दै प्रमाणहरू थप्दै जाँदा जसलाई पटक-पटक पक्राउ गरेर पनि लाचार हुँदै छाड्नुपरेको थियो। उसलाई उसले नै भने अनुसार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरियो।
तल्लो निकायहरूले अनुसन्धान गरेको घटनाबारे प्रहरी महानिरीक्षकबाट बिरलै प्रेस ब्रिफिङ हुन्छ। त्यो पत्रकार सम्मेलन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नै ब्रिफिङ गरेका थिए।
सले बम केसले प्रहरीलाई कति तनाव दिएको थियो अनि यो केस सुल्झँदा कति आनन्द आएको थियो भन्ने पनि देखाउँछ।
प्रहरीले जसलाई बम हत्याको मुख्य योजनाकारको रूपमा सार्वजनिक गरेको थियो सार्वजनिक गरिसक्दा पनि धेरैले प्रहरीलाई विश्वास गर्न सकेका थिएनन्।
कतै प्रहरीले नक्कली प्रमाणको आधारमा अर्कैलाई पक्राउ गरेको त हैन भन्ने शंका कायम थियो। किनकी जो योजनाकार देखिए अनि जसरी हत्या घटना भएको थियो त्यसको म्याच भइराखेको थिएन। तर सबै बाहिर जस्तै देखिन्छन् भित्र पनि त्यस्तै कहाँ हुन्छन् र। यो पटक हामीसँग हरेक प्रश्नको जवाफ थियो त्यो पनि प्रमाणसहित।
त्यसैले बाबु थापालाई तेस्रो पटक पक्राउ गर्दा पछि हटेर छाड्नुपर्ने अवस्था थिएन। हाम्रो अनुसन्धान बलियो थियो। त्यो अदालतबाट पनि पुष्टि भयो। शंका गर्नेहरूले ‘हो रहेछ’ भनेर पछि बधाई पनि दिए।
आजलाई यति। रणबहादुर बम हत्या अनुसन्धान कसरी भयो त्यो अर्को अंकमा लेख्छु।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
साउन २४, २०८० बुधबार २१:५०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।