ब्लड बैंकसमेत नभएको कर्णाली प्रतिष्ठानमा फोहोरै फोहोर, सिनेट बैठकसमेत अस्तव्यस्त

ब्लड बैंकसमेत नभएको कर्णाली प्रतिष्ठानमा फोहोरै फोहोर, सिनेट बैठकसमेत अस्तव्यस्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राज्यको ठूलो लगानी भएपनि प्रतिष्ठानबाट हुने प्रतिफल अति न्यून छ।

यो प्रतिष्ठानको र प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालमा फोहोर व्यवस्थापनदेखि बिरामी तथा बिरामीका कुरुवालाई खानपानको व्यवस्था नहुनु अनि कुरुवा घर नहुँदाको समस्या त छँदै छ।

अस्पतालमा अत्यावश्यक ब्लड बैंकसमेत नहुँदा बिरामीको के हालत होला भन्ने हामी सहजै अनुमान गर्न सक्छौं। प्रतिष्ठानको शिक्षण अस्पतालसमेत गौण अवस्थामा छ। 

ब्लड बैंक नहुँदा दुःख

प्रतिष्ठानको शिक्षण अस्पतालमा रक्तसञ्चार गृह (ब्लड बैंक) समेत हालसम्म छैन। रक्तसञ्चार गृह नै नहुँदा रगतको सञ्चिति गरेर राख्ने स्थान छैन। त्यसैले रगतका कोषहरू नछुट्याएर रक्तसमूह मिल्ने बिरामीका लागि रगत दिनुपर्ने अवस्थामा तुरुन्तै रक्तदान गरेर तुरुन्तै रगत दिनुपर्ने हुन्छ। तर, रगतको भण्डारण गर्ने ठाउँ नहुँदा रक्तकोषहरू छुट्याएर रगत दिनुपर्ने बिरामीलाई भने रिफर गरेर अन्यत्र पठाउनुपर्ने अवस्था छ। यो दुःखद् पक्ष हो। 

कुरुवा घर न खानपानको व्यवस्था

तीन सयभन्दा बढी बेड भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा न बिरामी कुरुवा घर छ, न त कुरुवाका लागि बस्ने स्थान नै छ। त्यसो त प्रतिष्ठानको शिक्षण अस्पतथालमा भर्ना भएका बिरामी र बिरामी कुरुवाका लागि कुनै पनि किसिमको खानपानको व्यवस्था पनि छैन। यति सम्म कि चिया नास्ताको समेत व्यवस्था छैन। 

अस्पतालमा भर्ना भएका बिरामी र कुरुवाले अस्पताल बाहिरका होटलहरूमा खानुपर्दा बिरामी तथा बिरामी कुरुवा ठगिने समेत अवस्था छ। त्यसैले अस्पतालमा भर्ना भएका विशेषगरी बिरामीका लागि खानपानको व्यवस्था गर्न जरुरी छ। 

सरकारले दिएको यो सुविधासमेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले किन दिएन भन्ने प्रश्न यहाँ टड्कारो बनेको छ।  

त्यसो त पदाधिकारीका लागि समेत खाने, बस्ने र कार्यालयसमेत छुट्टाटुट्टै छैन। पदाधिकारीको कार्यालय भवनसमेत छुट्टाछुट्टै छ। पदाधिकारीको कार्यालय र कार्यकक्षको व्यवस्थापन नहुँदा अवस्था भद्रगोल छ। 

यति ठूलो प्रतिष्ठान र यसको अस्पतालमा स्तनपान कक्षसमेत छैन। यो लाजमर्दो विषय हो। स्तनपान कक्ष मात्रै हैन, शिशु स्याहार केन्द्रसमेत छैन। 

खडेबाबा 

पहिले पहिले नेपालमा भारतीय 'खडेबाबा' (मेडिकल कलेजहरूले ल्याउने नक्कली प्राध्यापक) ल्याउने प्रवृत्ति थियो। आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खडेबाबासमेत ल्याउने चलन छ। यो प्रतिष्ठानमा सम्बन्धित निकायबाट हुने अनुगमनको समयमा छोटो समयका लागि शिक्षक (खडेबाबा) नियुक्ति गरेर देखाउने चलन यथावत् नै छ।

यसरी प्रतिष्ठानमा कागजी रूपमा विषयगत शिक्षकहरूको उपस्थिति देखाए पनि वास्तविक रूपमा भने प्रतिष्ठानका विभागहरूमा आवश्यक संख्यामा शिक्षक नै छैनन्। अर्कोतर्फ एक वर्षको करार सेवा अवधिमा एकैपटक ४-५ महिना शिक्षक बिदामा बस्ने अनौठो परम्परा छ यहाँ। 

फोहोरको समस्या

त्यसैगरी प्रतिष्ठानको शिक्षण अस्पतालको अर्को समस्या भनेको फोहोर व्यवस्थापन हो। यहाँको फोहोर व्यवस्थापन साह्रै कमजोर र अस्तव्यस्त छ। त्यसको प्रभाव प्रतिष्ठान र शिक्षण अस्पतालमा सीधै परेको छ। खुला स्थानमा अस्पताल अगाडिको परिसरभित्रै फोहार जम्मा गर्ने र जलाउने गरिन्छ। यसले गर्दा शिक्षण अस्पताल परिसर र आवास क्षेत्र नै धुवाँमय हुने गरेको छ।

पठनपाठन हुने प्रतिष्ठान र स्वास्थ्य सेवा दिने शिक्षण अस्पतालको फोहोरको व्यवस्थापन यस्तो छ भने अरू व्यवस्थापकीय पक्षको के हालत होला? सहजै अनुमान लगाउन सकिन्छ। 

सिनेट बैठक खै?

तीन वर्षदेखि प्रतिष्ठानको सिनेट बैठकसमेत बस्न सकेको छैन। सिनेट नबस्दा बजेट स्वीकृति हुँदैन। बजेट स्वीकृत नै नभएपछि शिक्षक तथा कर्मचारी र पदाधिकारीको तलब, भत्ता, विद्यार्थीको छात्रवृत्ति, भौतिक पूर्वाधारजस्ता विषयमा नकारात्मक असर पर्छ। सायद तीन वर्षसम्म सिनेट नबस्ने कुनै प्रतिष्ठान छ भने त्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै होला। 

शिक्षक तथा कर्मचारी र सेवाग्राहीका विविध सेवा सुविधाबारे माग पास गर्न त कार्यकारी परिषद्, स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालय गएर अनुमोदन गर्नुपर्छ। तर, सिनेट बैठक नबस्दा बजेट बनाउनेदेखि लिएर खर्च गर्ने काममा असर गरिरहेको छ। सिनेटले नै बजेट बनाउने हो।  सिनेट बैठक नबस्दा प्रतिष्ठानका थप कार्यक्रम, शिक्षक तथा कर्मचारी र सेवाग्राहीलगायत अन्य सुविधाहरूमा बढोत्तरी हुने विषयमा नकारात्मक असर परेको छ। 

कार्यकारिणी परिषद्को बैठक जुम्लाको सट्टा काठमाडौंमा बस्नु अनौठो विषय हो। 

पदोन्नतिको थलो

शिक्षक तथा कर्मचारीका लागि स्थायित्व र सुरक्षा चाहिन्छ। स्थायित्व तथा सुरक्षा नभएको संस्थामा न संस्थाको वृद्धिविकास द्रुत गतिमा अघि बढ्छ, न त त्यहाँ काम गर्ने कर्मचारीकै वृद्धिविकासको सहयोगमा मद्त मिल्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि थप वृद्धिविकासका लागि कार्यरत शिक्षक तथा कर्मचारीको स्थायित्व जरुरी छ। 

तीन वर्षदेखि शिक्षक तथा कर्मचारीहरूले स्थायित्वलगायत पेसागत माग उठाउँदै आएका छन्। मागका विषयमा पदाधिकारीसँग छलफल र सहमति हुने गरे पनि कार्यान्वयन भने नहुनु सुखद् पक्ष हैन। 

विश्वविद्यालय र प्रतिष्ठानहरूमा विभागीय प्रमुखलाई भत्ता दिने चलन छ। तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो चलन छैन। यो विषयको व्यवस्थापनमा पदाधिकारीले दायित्वबोध गरेको समेत देखिँदैन। 

अर्कातर्फ यो प्रतिष्ठान शिक्षक तथा कर्मचारीका लागि पदोन्नति गर्ने ठाउँका रूपमा समेत प्रयोग भएको पाइन्छ। कतिपय शिक्षक त अन्य ठाउँमा पदोन्नति नभएपछि बढुवाका लागि प्रतिष्ठानमा गएको समेत पाइन्छ। 

त्यसैले यो प्रतिष्ठान पदोन्नति गर्ने थलोसमेत हुँदै गएको छ। पदोन्नति भएपछि भने विशेषगरी शिक्षकहरू १-२ वर्षमा नै प्रतिष्ठान छाडेर अर्को संस्थामा जाने प्रवृत्ति बढेको छ। त्यसैले यो प्रतिष्ठानले पदोन्नति गरेका शिक्षकहरूलाई पदोन्नति भएपछि निश्चित समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै बस्नेगरी वातावरण तथा नीति बनाउन आवश्यक देखिन्छ।

अनुभवको कदर खै?

उपकूलपति, रेक्टर, रजिष्ट्रार, डीन, सहायक डीन र निर्देशकजस्ता पदमा  कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताको आधारमा नियुक्त गरिनु उचित हुन्थ्यो। तर, वरिष्ठ हुँदाहुँदै साह्रै कनिष्ठ व्यक्तिलाई पदाधिकारी बनाइँदा वरिष्ठहरू प्रतिष्ठान छोड्दै जाने प्रवृति बढेको छ। 

शिक्षक तथा कर्मचारी भर्ना गर्दा अनुभवी र दक्षभन्दा पनि पदाधिकारीका आफ्ना मान्छे भर्ना गर्ने प्रवृत्ति छ। प्रतिष्ठान पदाधिकारीका आफ्ना मान्छे भर्ती गर्ने भर्ती केन्द्रजस्तै बनेको छ। पार्टीको सक्रिय कार्यकर्ता भएर पदाधिकारी बन्दा प्रतिष्ठानको शैक्षिक उन्नति कसरी होला त? भन्ने टड्कारो प्रश्न हो। 

अस्पतालमा बिरामी नजानुका कारण

प्रतिष्ठानको अस्पतालमा बहिरंग (ओपीडी) सेवा बिहान १० बजे मात्रै सुरु हुन्छ। यो सेवा बिहान ९ बजे नै सुरु गर्नुपर्छ। त्यसो त प्रतिष्ठानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्नुपर्ने नियम त छ। तर, क्लिनिकल र प्याराक्लिनिकल चिकित्सकले कार्यालय समयबाहेक बिहान र बेलुकी हाजिर गरी घण्टाको हिसाब गरेर अतिरिक्त बिदा लिनेसमेत चलन छ।

त्यसैले बिहान र बेलुका कार्यालयमा काम नगरे पनि हाजिरी अभिलेख दुरुस्त राखेर अतिरिक्त बिदा लिने परिपाटीसमेत छ, जुन ठिक हैन। ​​​​​​​

त्यसैगरी प्रतिष्ठानको शिक्षण अस्पतालको बहिरंग विभागमा दिनमा औसत दुई सय जना बिरामी उपचारका लागि पुग्छन्। तर, प्रतिष्ठानको शिक्षण अस्पतालमा जम्मा बेड संख्याको करिब ४० प्रतिशत मात्रै बिरामी पुग्ने गरेको देखिन्छ। राम्रोसँग सेवा विस्तार नहुँदा अस्पतालमा बिरामी कम पुग्ने गरेको अनुमान लगाउन कुनै कठिन छैन।

त्यसैले गुणस्तरीय सेवा र पठनपाठनमा ध्यान दिन जरुरी छ। 

अस्पतालको पहिचान र व्यवस्थापन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण अस्पताल भए पनि अहिलेसम्म जनमानसमा शिक्षण अस्पताल छ भनेर चिनिन सकेको छैन। शिक्षण अस्पतालका रूपमा चिन्ने व्यक्तिको संख्या अत्यन्तै न्यून छ। स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पताल हुँदै यो स्वास्थ्य केन्द्र प्रतिष्ठानको शिक्षण अस्पतालका रूपमा विकसित भएको हो।

तर, अहिलेसम्म पनि शिक्षण अस्पतालको रूपमा परिचित हुन नसक्नुमा प्रश्न चिह्न उठ्छ नै। 

प्रतिष्ठानको कम्पाउण्ड तथा भित्तालगायत समेत शिक्षण अस्पताल लेखिएको छैन। शिक्षण अस्पतालले दिने उपचार सेवाका विषयमा समेत न त कम्पाउण्डभित्र लेखिएको छ न बाहिर नै।

त्यसैले प्रतिष्ठानको शिक्षण अस्पताल भनेर चिनाउन भित्ता तथा कम्पाउण्ड लगायतमा शिक्षण अस्पतालको नाम लेख्नुपर्छ। त्यसैगरी अस्पतालले दिने सेवा सुविधाबारे ठाउँठाउँमा होडिङ बोर्ड र बडापत्रजस्ता माध्यमबाट मानिसहरूलाई जानकारी दिनुपर्ने देखिन्छ।

यो प्रतिषठनमा सबै स्नातक र स्नातकोत्तर तहका आन्तरिक परीक्षा सम्बन्धित कार्यक्रम संयोजकले नै परीक्षा लिने चलन छ। सो कार्य सम्बन्धित डिनको कार्यालयको परीक्षा महाशाखा र आन्तरिक परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले गर्न जरुरी छ। दुर्भाग्य नै भन्नुपर्छ प्रतिष्ठानमा न त परीक्षा नियन्त्रण कार्यालय छ न त महाशाखा नै छ।

केवल परीक्षा शाखा मात्रै छ। सबै परीक्षा र नतिजा परीक्षा शाखाले नै सञ्चालन गर्छ। नतिजा प्रकाशित गर्ने र उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र पनि उसैले दिने गरेको छ। यसले गर्दा विद्यार्थीहरूले स्वदेश तथा विदेशमा भविष्यमा समकक्षताको ठूलो समस्या झेल्नु नपर्ला भन्ने अवस्था छैन। यो विषय बेलैमा सम्बन्धित निकायले यथोचित व्यवस्थापन र कार्यान्वयनमा ल्याउन आवश्यक छ। ​​​​​​​

प्रतिष्ठान र शिक्षण अस्पतालमा कक्षा कोठा, प्रयोगशाला तथा विशिष्ठ सेवाको विस्तारमा कमी त छँदै छ। यो समस्याका कारण अधिकांश स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई शिक्षक-कर्मचारीसहित प्रतिष्ठानले जुम्ला बाहिरका अस्पतालमा ‘फिल्ड अभ्यास’ का नाममा महिनौं शैक्षिक भ्रमण लाने र जाने प्रवृत्ति छ। यसले गर्दा प्रतिष्ठानको बजेटको ठूलो हिस्सा भ्रमण भत्ता, यातायात र जनशक्तिमा खर्च भएको देखिन्छ। 

(डा. बाँस्तोलासँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)

 
 

२२ साउन, २०८०, १४:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।