हिमाल आरोही लाक्पाको प्रसव पीडा र खुसी : शारीरिक रूपमा कमजोर बच्चा होला कि भन्ने डर भइरह्यो

हिमाल आरोही लाक्पाको प्रसव पीडा र खुसी : शारीरिक रूपमा कमजोर बच्चा होला कि भन्ने डर भइरह्यो

सोलुखुम्बुको दुर्गम गाउँमा जन्मिएकी हुन्, लाक्पा फुटी शेर्पा। 

नेपालको पर्यटन र पर्वतारोहणको क्षेत्रमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छन्। राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पासँगै 'विमेन एक्सपेडिसन टु एभरेष्ट १९९३' को उपटोली नेता पनि हुन्।

पासाङ ल्हामुको सहयात्री, आफन्त र छिमेकी पनि भएको कारण उनीहरूले सँगै यात्रा गर्ने योजना बनाएका थिए। सात हजार चार सय मिटरको उचाइसम्म उनीहरू सँगै पुगे। टोलीमा जम्मा तीन महिला थिए। पासाङले लिड गरिरहेको हुँदा उनी अघि गइन्। तर, दुर्घटनापछि बाँकी भने फर्किनुपर्यो। त्यसपछि सबै जिम्मा लाक्पाले नै लिएर काठमाडौँ फर्किइन्।

उनले पछि पनि सगरमाथा आरोहणमा जाने योजना नबनाइएकी होइन, तर पासाङको दुर्घटना भएसँगै उनको परिवारले उनलाई जान दिएनन्। तर, सगरमाथाबाहेक अन्य थुप्रै हिमाल भने उनले आरोहण गरेकी छन्। 

नेपालको पहिलो पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको उनी संस्थापक अध्यक्ष हुन्। उनले त्यहाँको दुई कार्यकाल कार्यकारी निर्देशक भएर बिताइन्। पासाङ ल्हामु फाउन्डेसन उप-सभापतिको रूपमा छिन्। हिमालमा ४० वर्ष, हिमालकी छोरी लगायतको उनको कृति पनि सार्वजनिक भएको छ।

रोटरी क्लबमा पनि उनी सहायक गभर्नरका रूपमा कार्यरत छिन्। 

विभिन्न ट्राभल एजेन्सी, अनाथालय, पर्यटन र शेर्पा संघहरूमा समेत उनी संलग्न छिन्। 'स्नो इस्की' मा समेत विशेष रुचि भएकी उनी अमेरिकी ट्राभल म्यागजिन अफारको विमेन टू वाच २०२० मा समेत अटाएकी थिइन्। उनै लाक्पा फुटीले उकेराको स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन्। 

०००

बाल्यकालदेखि नै मेरो जीवन संघर्षपूर्ण रह्यो। दुर्गम क्षेत्रमा जन्मिएको भएर शिक्षाकै लागि पनि संघर्ष गर्नुपर्यो। आमाबाबाट सिकेको व्यवहारिक शिक्षा नै महत्वपूर्ण हुनपुग्यो। पर्यटन र पर्वतोराहणसम्बन्धी काम नजिकबाट गरेकाले सबै काम गर्दागर्दै जानियो। विवाह चाहिँ मेरो दुई पटक भयो। पहिलो स्विस नागरिकसँग भएको थियो। त्यो छुट्टिएपछि दोश्रो बिहे चै नेपालीसँग नै गरे। 

पहिलोबाट र दोश्रोबाट एक-एक जना छोरा छन्। यति लामो समय संघर्ष गरेँ। विभिन्न ठाउँमा काम गरेँ। तर, जीवनमा सबैभन्दा खुसी नै आमा हुन पाउँदा भएँ। धनसम्पत्ति भनेकै सन्तान हो जस्तो लाग्छ। मेरा लागि मेरो सन्तान नै सम्पत्ति हो। पहिलो बिहे भएको अर्को वर्ष नै बच्चा भयो। म पनि उतै (स्विटजरल्याण्ड) थिएँ। 

गर्भवती भएदेखि बच्चा नजन्माएसम्म कुनै शारीरिक रूपमा कमजोर भएका बच्चाहरू देख्यो भने नराम्रो लाग्थ्यो। मेरो पनि त्यस्तो होला कि भन्ने डर भइरहन्थ्यो। मानसिक रूपमा चाहिँ त्यही सोचिरहन्थेँ। त्यस्तो बेलामा मलाई छोराछोरीभन्दा पनि स्वस्थ बच्चा होस् भन्ने भयो। तर, शारीरिक रूपमा भने मलाई त्यस्तो अफ्ट्यारो भएन। पहिलो तीन महिना खाना गह्ननाउने, खान मन नलाग्ने त भइ नै हाल्यो। त्यस बहेको केही भएन। 

पहिलो बच्चा र दोश्रो बच्चाको अन्तर १२ वर्षको छ। दोश्रो पटक गर्भवती  हुँदा त झन् नौ महिनासम्म पनि कसैलाई पनि दिएन। उनीहरूले पनि थाहा पाएनन्। हिँडेको हिँड्यै गर्थेँ। घरी बाइकमा घरी गाडीमै पनि। जिउ अलि मोटो भएको कारण कसैले थाहा नै पाएन। बच्चा पाएपछि पो सबैले कस्तो सरप्राइज दिएको भन्थेँ। 

मेरो पहिलो बच्चा स्विट्जरल्याण्डमै जन्मिएको हो। त्यहाँ डाक्टरको राम्रो व्यवस्था थियो। डाक्टरले पेट दुख्ने निरन्तर भयो भने चै हस्पिटल आऊ। त्यसबाहेक कहिलेकाहीँ दुख्यो भने चै आत्तिनु पर्दैन, त्यो सामान्य नै हो भनेर सिकाएको थियो। 

पहिलो बच्चा हुँदा राति पेट दुख्ने, हराउने गरिरहेको थियो। 

अनि बिहान त त्यो दुखाइ लगातारजसो हुन थाल्यो। पछि गाडी चढेर हस्पिटल गएँ। हस्पिटल बाहिर नपुग्दै पानी फुट्यो। भित्र पुग्ने बित्तिकै मलाई स्ल्याइन दिए। त्यहाँका डाक्टरहरू चाहिँ राम्रो छ भनेर म पहिल्यैदेखि ढुक्क थिएँ। नौ बजेतिर हस्पिटल गएको सवा १२ बजेतिर त बच्चा नर्मल नै पाएँ। बाबु साढे तीन किलोको थियो। 

बच्चाको अनुहार देखेपछि त प्रसवको दुखाइ सब बिर्सिए। केही बेरअघि बच्चा नपाएसम्म त, यो आइमाइ मान्छेको जात कस्तो दुःख पीडा भोग्नु पर्ने भन्ने लाग्थ्यो। अनि बच्चा पाउने बित्तिकै अनुहार देख्दा, ओहो कस्तो भाग्यमानी हामी भन्ने लाग्यो। केही समय भित्रै त्यस्तो अद्भूत अनुभूति पनि गरेँ। 

स्विटजरल्याण्डमा त सुत्केरी स्याहार भनेर केही पनि नहुने रैछ। हस्पिटलमै पनि खाने समयबाहेक अरूमा नखुवाउने रहेछ। बिहानको खाना खुवाउने समयमा बच्चा पाएँ। त्यो छुट्यो। अब एकैचोटि बेलुकाको मात्र दिन्थ्यो। श्रीमान् हिमालतिर भएको कारण एक्लै स्याहार पुग्दैन भनेर नर्मल नै पाए पनि हस्पिटलमा एक हप्ता राखियो। 

दूध खुवाउँदा धेरै गाह्रो हुन्थ्यो। बच्चाले खान नसकेर मेरो त सबै दूध भरिएर आउँथ्यो। दूध त त्यत्तिकै फाल्नुपर्थ्यो। गानिएर आउँथ्यो। बच्चा पाउनुभन्दा पनि त्यो पो गाह्रो लाग्यो, धेरै समयसम्म दुखाइ भएर होला।

अनि घर पुगेँ। त्यहाँ त यहाँको जस्तो सुत्केरी भएर बस्न पाइनँ। सबै मान्छे भेट्न आउथेँ। त्यो बेला सबै आफैले हेर्न पर्थ्यो। यहाँको जस्तो आमा र बच्चालाई तेल लगाउने भन्ने नै भएन। खाना पनि सामान्य नै थियो। 

पहिलो र दोश्रो बच्चाको अन्तर ठ्याक्कै १२ वर्षको छ। दोश्रो बच्चा हुँदा त तेल लगाउनकै लागि भनेर साथी राखेकी थिएँ उसले मलाई र छोरालाई लगाइदिन्थी। बहिनीहरू पनि साथमा भए। तेल लगाउँदा त धेरै आनन्द महसुस गरेँ। आमा र बच्चाको स्याहारको लागि त नेपाल नै ठिक रहेछ। 

दोश्रो बाबुचाहिँ पाटनमा जन्मिएको हो। बच्चा जन्मिएपछि पाठेघरको समस्या आउन सक्छ भनेर नेपालको हस्पिटलमा परामर्श दिने गरिँदो रहेछ। तीन दिनपछि मलाई पनि त्यस्तै परामर्श दिइयो। 

त्यो परामर्श मैले एकदम राम्रोसँग पालना पनि गरेँ। त्यही भएर अहिलेसम्म पेटको समस्या पनि आएको छैन। धेरै एक्सरसाइज पनि गरेँ। स-सानो कुरा पनि धेरै महत्वपूर्ण हुने रहेछ। पहिलो र दोश्रो बच्चालाई मैले करिब तीन वर्षसम्म राम्रैसँग दूध खुवाएँ। 

पहिलो बच्चा हुँदा अनुभव पनि भएन, त्यही पनि अर्काको देशमा। डाक्टरहरूचाहिँ राम्रो हुन्छ भन्ने थियो। बच्चा पाएपछि मैले आफ्नो आमालाई धेरै याद गरेँ। मैले त्यस्तो सुविधापूर्ण ठाउँमा दुई बच्चा जन्माउँदा त मलाई यस्तो गाह्रो भयो भने मेरी आमाले गाउँमा, त्यसमा पनि नौ जना जन्माउँदा कति गाह्रो भयो होला ! 

म पाउँदा आमालाई तीन दिनसम्म व्यथा लागेको रे ! त्यसपछि मलाई मेरी आमाको झन् बढी माया लाग्यो। स्वास्थ्य, परिवार र दुर्गम ठाउँले गर्दा आमालाई कति दुःख भयो भयो होला अहिले पनि झलझल त्यही याद आउँछ। त्यही भएर पनि छोरी मान्छेहरू अलि बढी भावुक भएको हुने गरेको हो कि ! 

बच्चा हुर्काउँदा त त्यस्तो गाह्रो भएन। मेरा दुवै बच्चा शान्त स्वभावका छन्। मैले आफ्नो काम पनि निरन्तर गरि नै राखेँ। बच्चाहरूले पनि बुझे। त्यही बहानामा उनीहरूले अरू आफन्तको महत्व पनि बुझ्ने मौका पाए। धेरै समय दिनुभन्दा पनि केही राम्रो समय दियो भने पुग्ने रहेछ भन्ने लाग्यो। 

ठूलो छोरा स्विट्जरल्याण्डमै आईटी पढ्दै काम गर्दै छ। उसले जापानी बुहारी बिहे गरेको छ। धेरैले विदेशी ल्यायो भनेर पनि कुरा गरे। तर, मैले उनीहरूको खुसी देखेपछि केही भनिनँ। 

सानो छोराले चाहिँ सानैदेखि पाइलट बन्ने इच्छा देखाएको थियो। मैले त्यो जोखिम हुन्छ भनेर बिजनेस पढाएँ। तर, उसले पाइलट नै बन्ने भनेर अहिले त्यही नै पढ्दै छ। बच्चाहरूलाई जोखिम हुन्छ भनेर हामीले नै जबर्जस्ती गर्न पनि नहुने रहेछ।

दुवैले पर्यटनमा चाहिँ रुचि नै देखाएनन्। अब मैले जबर्जस्ती यही गर् भन्ने अवस्था पनि छैन। अहिले उनीहरू स्वतन्त्र छन्। आफ्नो लागि आफैले निर्णय गर्न सक्छन्। मैले त त्यसमै साथ दिने मात्र न हो। 

अब मेरा बच्चाहरू हुर्किसके, उनीहरू बुझ्ने भइसके। खुसी भएर जे गरे पनि म साथ दिन्छु। मातृत्व अनुभवले मलाई निःस्वार्थ माया गर्न पनि सिकायो। आफ्नोपनको महसुस गर्न पाएँ। केही वर्षपछि पूरै समय समाजसेवामा लगाउने विचार छ। हामीले अरूलाई हेर्यौँ भने भगवानले हामीलाई पनि हेर्छन्। केहीलाई जागिर मात्र दिन सके पनि मैले धेरै गरे भन्ने हुन्छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

साउन २१, २०८० आइतबार १६:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।