रवि लामिछानेले सामान्य नियम पनि नटेरेका कि थाहा नपाएका ! फेरि मिडियालाई नै आक्षेप

रवि लामिछानेले सामान्य नियम पनि नटेरेका कि थाहा नपाएका ! फेरि मिडियालाई नै आक्षेप

अनुमति नलिई बसको रङ प्रयोग गरेर सञ्चालनमा ल्याएका रास्वपा सभापति रवि लामिछानेले गाडी मात्र परिवर्तन हुन लागेको हो तर मोबाइल क्लिनिक चालू रहेको बताएका छन्। 

आफू निर्वाचति चितवन निर्वाचन क्षेत्रमा लामिछानेले सांसदका रूपमा विजयी भएको १०० दिनको अवसर पारेर महिलाहरूका लागि निःशुल्क बस सञ्चालनमा ल्याएका थिए। 

आज सामाजिक सञ्जालमा लामिछानेले बसमा कुनै पनि समस्या नभएको भन्दै छिट्टै दुई वटा ल्याइने पनि लेखेका छन्। 

लामिछानले सञ्चालनमा ल्याएको उक्त बस सन् २०१४ मा बनेको ना५ख ३१३८ नम्बरको भाडाको बस हो। उनले उक्त बसको रङ फेरेर आफ्नै पार्टीको झण्डाको निलो रंग पोतेका थिए। जुन बसलाई ‘ब्लु बस’को नाम दिइएको थियो। 

अब भने ज्येष्ठ नागरिकहरूका लागि पनि निःशुल्क बस सञ्चालनमा ल्याइने लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

तर बसको रङ परिवर्तन गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति लिनुपर्ने हुन्छ। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा व्यवस्था भएअनुसार सवारीसाधनको स्वरुप परिवर्तन हुने भनि उल्लेख गरिएको छ। जसमा स्वरुप परिवर्तनअन्तर्गत सवारीको रङ, सिट संख्या, पार्ट पूर्जाहरु र इन्जिनमा कुनै परिवर्तन गर्नु हुँदैन' 

यदि सवारीसाधनको रङ परिवर्तन गर्न परे त्यस्तो अवस्थामा अधिकारप्राप्त अधिकारीको अनुमति लिएर मात्रै परिवर्तन गर्न सकिन्छ। यसका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूबाट के परिवर्तन गर्ने हो, कस्तो रङ लगाउने हो, त्यसबारे निवेदन दिएर त्यहाँबाट स्वीकृत गरेपछि मात्रै परिवर्तन गर्न पाइन्छ। 

लामिछानले बसको रङ परिवर्तन गर्दा अनुमति नलिएका यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ। यातायात व्यवस्था कार्यालय वीरगञ्जले उक्त बसको रङ परिवर्तनको अनुमति अहिलेसम्म नदिएको पनि कार्यालयले जनाएको छ। 

सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरूको बुँदा नम्बर ५ मा पनि अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गर्न नहुने उल्लेख छ।

तर लामिछानले सामाजिक सञ्जालमा रविले ब्लु बसमा कुनै पनि समस्या नरहेको लेखेका छन्। सञ्चारमाध्यममा उनले सञ्चालनमा ल्याएको बस र उनको कार्यबारेबारे प्रश्न उठाइएको थिएन। बरु अनुमति नलिई बसको रङ फेरिएको जानकारी गराइएको थियो। यसप्रति भने लामिछानेले कुनै शब्द खर्च गरेका छैनन्। उल्टै 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ...हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ' लेखेका छन्। 

लामिछानले 'आफ्नो पछि लाग्न छाडेर अब गाडीको पछि' पनि लेखेका छन्। 

यसैबीच ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्न भनी रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना२ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ। 

उक्त बस पनि लामिछानेले आफू सांसदमा विजयी भएको १०० दिनको अवसर पारेर मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रङको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिकका रूपमा सञ्चालनमा ल्याउने बताएका थिए। 

अनुमतिबेगर बसको रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेपछि रास्वापाले बस फिर्ता गरेको हो। सेतो रङको उक्त बस ११ बसअघि भारतीय दूतावासले चितवनस्थित पुरानो मेडिकल कलेजलाई दिएको थियो। लामो समयसम्म नवीकरण नभएको उक्त बस रास्वापाले आफ्नो झण्डासँग मिल्दोजुल्दो रङ पोतेर मोबाइल क्लिनिकका रूपमा सञ्चालनमा ल्याउने बताएको थियो। 

यसअघि अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नगरी नागरिकता लिएको भन्दै सर्वोच्चको ठहरपछि रवि लामिछानेले सांसद, मन्त्री तथा पार्टी सभापति सबै पद गुमाउनुपरेको थियो। 

बसको चक्करमा पनि उनी फेरि विवादित भएका छन्। 

साउन २१, २०८० आइतबार ११:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।