समाजसेवी सफलाको प्रसव पीडा : यता दूध बगिरहेको थियो, उता बच्चा भोकै हुँदा सारै चित्त दुख्थ्यो

समाजसेवी सफलाको प्रसव पीडा : यता दूध बगिरहेको थियो, उता बच्चा भोकै हुँदा सारै चित्त दुख्थ्यो

लामो समय स्कुलमा पढाएकी सफला राजभण्डारी अहिले भने समाजसेवामा संलग्न छिन्। उनी बागमती किनारमा रहेको बस्तीका बालबालिकाहरूलाई निशुल्क पढाउँछिन्। 

विवाहपछि परिवारिक खर्च धान्न उनले १२ वर्ष भानु माध्यमिक विद्यालयमा पढाइन्। त्यसपछि करिब १४ वर्ष रातो बंगला स्कुलको फाउन्डेसनमा आबद्ध भएर काम गरिन्। 

त्यसै सिलसिलामा उनले विभिन्न दुर्गम जिल्लाका बालबालिकाहरूको मनोभाव बुझ्ने मौका पाइन्। त्यसबाहेक विभिन्न स्कुलहरूमा फ्रिलान्सर भएर पनि काम गरिन्।

सडक दुर्घटनामा श्रीमानलाई गुमाएपछि उनी एक्लै भइन्। दुइटा बच्चाको जिम्मेवारी र कामलाई एक्लैले सम्हाल्नु उनको लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो। तर, एक्लो भएपछि परिस्थितिले आफूलाई झन् सशक्त बनाएको उनको अनुभव छ।
 

उनै सफलाले उकेराको स्तम्भ प्रसव पीडा र खुशीमा आफ्नो अनुभव यसरी साटिन्। 

०००

बिहे हुँदा म २१ वर्षकी थिएँ। प्लस टुको पढाइ पनि सकिएको थिएन। त्यो बेलामा २१-२२ वर्ष भएपछि बिहे भएन भने बिहे नहोला भन्ने लाग्ने रहेछ। आफन्तमा पनि बिहे नहुनेहरू धेरै थिए फेरि। 

हजुरआमा वृद्ध भइसक्नुभएको थियो। हजुरआमा हुँदै बिहे हुनुपर्छ भन्ने पनि थियो। एक हिसाबले दबाब बढ्यो। मलाई पनि समयमै बिहे गरिहाल्नुपर्छ भन्ने भयो। त्यही भएर पढ्दा पढ्दै मागी बिहे भयो। 

त्यो बेलामा म आफै पनि बच्चाजस्तै थिए। बिहेमा रमाइलो लाग्यो। 'दुलही’ भनेर आफै दंग परेँ। विवाह गरेर जाने घरमा छोरीहरू थिएनन्। त्यै भएर दाइहरूले पनि बहिनीजस्तै गरेर माया गर्नुहुन्थ्यो। श्रीमान् र मेरो नौ वर्षको उमेर अन्तर छ। 

श्रीमानले पनि मलाई हुर्काउनु भएको भन्दा पनि हुन्छ। 

बिहे भएको दुइ वर्षपछि छोरी जन्मिइन्। हाम्रो आर्थिक अवस्था कमजोर नै थियो। अनि बच्चालाई हेर्नै पर्यो। मैले भानुभक्त मेमोरियलमा प्राइमरी लेभलमा पढाउन सुरु गरेँ। श्रीमानको कमाइले मात्रै घर धान्न गाह्रो भएपछि म पनि काममा जोडिएको थिएँ। पढाउने मेरो इच्छा पनि हो। फाप्यो पनि। 

त्यहाँ १२ वर्षजति पढाएँ। गर्भवती भएको भन्ने थाहा पाउँदा खुशी लाग्यो। आमा हुन पाउने भएँ भन्ने भयो। परिवारमा पनि सबै जना खुशी हुनुहुन्थ्यो। पढाइचाहिँ निरन्तर हुन गाह्रो होला कि भन्ने लागेको थियो। तर, मामाघर नजिकै भएकाले पढाइ पनि छुटेन। 

सुरुसुरुमा त वाकवाक लाग्ने भयो। तीन महिनासम्म जुन कुरा पनि गन्ध आएको जस्तो लाग्ने। सबैको अगाडि वाकवाक लाग्यो भनेर उठेर जान पनि लाज लाग्थ्यो। तर, कमजोरी महसुस भएन। 

काम गरी नै रहेको थिएँ। त्यै भएर होला खाना पनि राम्रोसँग रुचेको थियो। हाम्रोमा पानीको समस्या थियो। पानी बोकेर हिड्थेँ म। 

सासू नभए पनि सबैले ध्यान दिनुहुन्थ्यो। खानपान सब राम्रो थ्यो। बच्चाको ग्रोथ पनि राम्रो थियो। मेरो पनि स्वास्थ्य राम्रो। माया पाएर पनि होला। 

खुट्टाहरू अलिअलि सुन्निएको थियो। पाँच महिनामा बच्चा चल्दा 'ए’ भन्नेचाहिँ थियो। मेरो हाइट सानो छ। आठ महिना हुँदा त मलाई हिँड्न पनि गाह्रो भयो। त्यसबाहेक त खासै केही भएन। 

डाक्टरले अगाडि नै यस्तो भयो भने, यस्तो हुन्छ भन्नुभएको थियो। के हुँदा के गर्ने भन्ने सिकाउनुभएको थियो। डाक्टरले भनेजस्तै पानी बग्न थालेपछि चाहिँ अब प्रसव सुरु हुन थाल्यो भन्ने भयो। अनि हस्पिटल गयौं। 

हस्पिटलमा सबै जना कराइरहनुभएको थियो। परिवारका सबै जना साथमा हुनुहुन्थ्यो। त्यही भएर त्यहाँ पनि गाह्रो भएको महसुस गरिनँ। 

छिनछिनमा घर खुल्यो भन्न नर्सहरू आउँथे। त्यो बेला चै गाह्रो भएको थियो। चार बजेतिर व्यथा लाग्न थालेको राति १२ बजेतिर छोरी पाएँ। गाह्रो भए पनि नर्मल नै भयो। 

बच्चालाई छातीमा राख्दा आनन्द, हल्का महसुस हुने रहेछ। मलाई त निद्रा लाग्यो। केहीबेर निदाएँ पनि। अनि जुस खाएँ। सबै जना वरपर भएर एकदम सजिलो भयो। उहाँहरूले नै पटुका कस्दिनुभएको थ्यो। त्यो बेलामा आमा भनेको के हो भन्ने बुझेँ। 

जेठाजु, श्रीमान् सबले राम्रो स्याहार गर्नुभयो। अनि चाँडै माइती पनि गएँ। आमाहरूले सबै राम्रोसँग हेरिदिनुभयो। सुत्केरी पनि राम्रो भएकाले पछि पहाड चढ्न सकेजस्तो लाग्यो। त्यो त मेरो आमाहरूकै देन रहेछ। 

स्तनपानमा अलि गाह्रो भयो। घाउ पनि भएको थियो। बच्चाले दूध तान्न नै छाड्ने। काममा जाँदा दूध खुवाउन नपाएर गानेर ज्वोरो नै आउँथ्यो। कस्तो चित्त दुख्थ्यो त्योबेला। यता दूध बगिरहेको छ। उता बच्चा भोकै छ। के गर्नु, काम गर्नै पर्यो। 

अनि दूध खुवाइसकेपछि फेरि अर्को आनन्द हुने रहेछ। दूध त जमेर बसिरहेको हुन्छ नि। अनि भोकाएको बच्चाले खाँदा त बच्चालाई पनि तृप्त हुने। मलाई पनि तृप्ति हुने। 

पहिलो छोरी भएपछि दोस्रोचाहिँ हामीले प्लान नै गरेर जन्माएको। चार वर्षको अन्तर छ। दोश्रो बच्चा हुँदा पनि प्रेगनेन्सीमा खासै गाह्रो भएन। छोरालाई पनि नर्मल नै पाएँ। 

अझ बाबुकोमा त धेरै व्यथा पनि लागेन। एउटा छोरी, एउटा छोरा भयो। त्यसपछि चै हामीले प्लान गरेनौँ। बच्चाको हरेक क्रियाकलापमा श्रीमान् र म साथमै थियौँ। सबै राम्रो भयो। स्कुलमा तालिम लिएको घरमा पनि लागु भयो। उनीहरूको रुचि केमा रहेछ भनेर मैले नियाल्न पाएँ। 

छोरीको आर्टमा रुचि छ, त्यो थाहा पाएँ। अहिले छोरी आर्टमै काम गर्छे। छोराको चाहिँ मलाइ बुझ्न अलि गाह्रो भयो। अहिले उ सिनेमाटोग्राफर छ। दुवै जना अहिले आर्टमा काम गर्छन्। दुवैको बिहे पनि भइसक्यो। 

अब बच्चाहरू पनि आफ्नो लागि आफै काम गर्ने भइसके। दिन गएको नै थाहा भएन। बच्चाहरूसँग पल एकदम छिटो बित्ने रहेछ। त्यैमाथि म पनि आफ्नो काममा व्यस्त भएँ। 

छोरी १० मा पढ्दै गर्दा श्रीमान् बित्नुभयो। हाम्रो समाजमा जस्तै जे भने पनि एकल महिला हुन एकदम गाह्रो रहेछ। समाजमा त धेरै नै गाह्रो हुने नै भयो। आफ्नै परिवारमा समेत गाह्रो रहेछ। 

सांस्कृतिक कुराहरूमा विधवा हो यो भनेर समावेश गरिएन। हरेक पारिवारिक कार्यक्रमबाट म त्यतिबेला टाढा भएँ। त्यो बेलामा अफ्टयारो लाग्यो। 

जे जस्तो भए पनि मैले नानीबाबुलाई हुर्काउनै पर्छ भन्ने भयो। त्यही भएर मेरो बच्चाहरू पनि कलिलै उमेरमा परिपक्व भए। उनीहरूले आफ्नो दुःखहरू मलाई लुकाउन थालेको म कहिल्यै बिर्सन सक्दिनँ। 

तर, परिस्थितिले मलाई थप सशक्त बनायो। बाउको जिम्मेवारी पनि आफैले निभाउन परेपछि कहिले त उनीहरूसँग कडा स्वभावको पनि हुन पर्यो। कहिले सँगै बसेर रुन पनि पर्यो। 

श्रीमान हुनुभएसम्म एकदम मायामा फुर्केको रहेछु भन्ने लाग्यो। त्यसपछि त साइकल चढेर असनमा तरकारी लिन जान्थे एक्लै। चालीस वर्षपछि स्कुटर सिकेँ। सबै काम आफैँ गर्ने भएँ। 

एउटा घर पनि बनाएँ। गरे भने त हुने रहेछ भन्ने लाग्यो। बच्चाहरू पनि आफै बलियो हुँदै गए। मलाई कामको सबैभन्दा बढी आवश्यक भएको समयमा रातो बंगला फाउन्डेसनमा जोडिन पाएँ। भानुभक्त पढाउँदै गर्दा त्यहाँको सरिता राणा म्यामसँग भेट भएको थियो। त्यसपछि कहिल्यै पनि फर्केर हेर्नु परेन।

दैलेखको दुर्गम गाउँमा ११ घण्टासम्म हिँडेर पढाउन गएको छु। बिस्तारै कमजोरी महसुस हुन थालेपछि त्यो काम छोडिदिएँ। 

केही महिनादेखि चाहिँ बागमतीको सुकुमबासी क्षेत्रमा २० जना बच्चाहरूलाई पढाउने काम गरिरहेको छु। स्कुलमै गरेको त्यो त्यति प्रभावकरी नभएको जस्तो लागेर अहिले छुट्टै आफैले ठाउँ भाडामा लिएर पढाउन थालेको छु। 

मेरो साथी र म मिलेर सिर्जनशील पाइला नेपाल भनेर च्यारिटीमा काम गरिरहेका छौं। अब बच्चाहरू पनि हुर्किसके। अब समाजमा योगदान गर्ने बेला भयो भनेर त्यसमै व्यस्त छु। 

अहिले यसको प्रभाव राम्रै पनि देखिरहेको छ। त्यही भएर कम्तीमा पनि एक वर्ष कुनै पनि संस्थामा आबद्ध नभएर यसैमा काम गर्छु।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
 

साउन १४, २०८० आइतबार १७:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।