चार दिनदेखि उठेन पोखराको फोहर, सहर दुर्गन्धित

चार दिनदेखि उठेन पोखराको फोहर, सहर दुर्गन्धित

काठमाडौं : पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ।

पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो।

पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौंदेखिको ल्याण्डफिल साइटमा फोहर लैजान रोकिएको थियो। त्यसपछि महानगरले अस्थायी रूपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो।

स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन्।

महानगरले छ महिनाभित्रमा फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयको आरोप छ।

स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो।

१३ साउन, २०८०, १८:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।