बाघ संरक्षणमा ध्यान दिएनौँ भने केही दशकमै डाइनासोरजस्तै लोप हुन बेर छैन

बाघ संरक्षणमा ध्यान दिएनौँ भने केही दशकमै डाइनासोरजस्तै लोप हुन बेर छैन

हरेक बाह्र वर्षमा एकपल्ट बाघ वर्ष आउँछ। चिनियाँ पात्रोअनुसार मनाइने बाघ वर्ष पछिल्लोपल्ट सन् २०२२ मा परेको थियो।

अघिल्लो बाघ वर्ष अर्थात् सन् २०१० देखि प्रत्येक वर्ष जुलाई २९ मा अन्तर्राष्ट्रियस्तरमै बाघ वर्ष मनाउन थालिएको हो। यस वर्ष नेपाल सरकारले बाघ वर्षको नारा राखेको छः मानव-बाघ सहअस्तित्व।

विश्वबाट विस्तारै लोप हुने अवस्थामा रहेको वन्यजन्तु बाघको संरक्षणको निम्ति जनचेतना जगाउने उद्देश्यले बाघ वर्ष मनाउने गरिएको हो।

बाघको परिचयः 

सामान्यतया पहेंलो छालामा कालो धर्का भएको जंगलको राजा मानिने बाघ एक बलशाली मात्र नभै सुन्दर र आकर्षक वन्यजन्तु पनि मानिन्छ। हाल देखिने बाघ जसलाई वैज्ञानिक शब्दावलीमा पेन्थरा टिग्रिस भनिन्छ, आफ्नो पूर्वज पेन्थराबाट करिब १० लाख वर्षअघि उत्पन्न भएको मानिन्छ।

उक्त पेन्थरा त्यसको पनि पूर्वज फैलिडे भनिने प्रजातिबाट करिब ४० देखि ६० लाख वर्षअघि उत्पन्न भएको वैज्ञानिकहरू बताउँछन्। बाघको उद्गमस्थल दक्षिण चीन भएको विश्वास गरिन्छ। यो जनावर कालान्तरमा त्यहाँबाट दक्षिणतर्फ भारतसम्म फैलिन पुग्यो भने उत्तर र पश्चिममा साइवेरिया तथा उत्तरतर्फ तिब्बत हुँदै क्यास्पियन सागरको तट र टर्कीसम्म फैलियो। त्यसैगरी भारतमा पुगेर बाघ त्यहाँबाट पूर्वी एशियासम्म फैलिन पुग्यो। 

तर चीनबाट अन्यत्र बाघ फैलिने क्रमलाई राजस्थानको मरुभूमि, यूरोपको ककेसिया पर्वत र हिन्द महासागरले रोकेको हुनाले त्यो युरोप, अमेरिका र अफ्रिकामा भने पुग्न सकेन।

त्यसैगरी बाघ चीनबाट भारत पुग्नुअघि नै श्रीलंका भारतबाट अलग भै स्वतन्त्र टापु बनिसकेको हुनाले दक्षिण एशियाका अन्य देशहरूमा पाइने बाघ श्रीलंकामा कहिल्यै देखा परेन।

भारतीय उपमहाद्वीपमा बाघको अस्तित्व रहेको सबैभन्दा पुरानो तथ्य प्रमाणको रूपमा हाल पाकिस्तानमा रहेको हरप्पामा कुनै बखत उत्खनन गर्दा भेटिएका इसापूर्व करिब ३००० वर्ष पुरानो भग्नावशेषमा अंकित बाघको छापलाई लिन सकिन्छ।

हिन्दू धर्ममा बाघको विशेष महत्व रहेको पाइन्छ। शिवजीले बाघको छालामा बसेर तपस्या गरेको र बाघमा चढेर देवी भगवतीले महिषासुरको बध गरेको पौराणिक कथाहरू हामीले सुनेका छौं।

भारतमा मुगल सम्राटहरूको पालामा जंगलमा बाघको शिकार खेल्ने गरिन्थ्यो। त्यसैगरी नेपालमा पनि राणाकालदेखि शाहकालको केही समयसम्म पनि जंगलमा गै बाघको शिकार खेलेर साहसिक कार्य देखाउने र मनोरञ्जन गर्ने गरेको पाइन्छ। कतै शासकहरूबाटै निर्बाध शिकार खेलेका घटना र कतै बरोबर हुने गरेको चोरी शिकारीका घटनाका कारण बीसौँ शताब्दिको सुरुमा संसारमा बाघको संख्या एक लाखभन्दा पनि बढी भएकोमा त्यसबाट ९५ प्रतिशत घटेर एक सय वर्षको अवधिमा सो संख्या ५ हजार भन्दा पनि कम हुन पुगेको तथ्य हामीले सुनेका वा पढेका छौं।

तर अहिले विश्वबाटै लोपोन्मुख बाघको संरक्षण गर्नुपर्छ भन्ने चेतना मानिसमा आउन थालेको पाइन्छ। कन्भेन्सन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिस (साइटिस) को अनुसूची-१ ले सन् १९७५ मा बाघलाई संरक्षित वन्यजन्तुअन्तर्गत राखी यसको वध गर्न वा यसका अंगहरूको व्यापार गर्नबाट प्रतिबन्ध लगाएको छ।

जंगलको राजा मानिने बाघ हाल एशियाका १३ वटा देशहरूमा संरक्षित जगलहरूमा बसोबास गरिआएको पाइन्छ। बाघ पाइने १३ वटा देशहरू हुन्ः बंगलादेश, भारत, भुटान, क्याम्बोडिया, चीन, इण्डोनेसिया, लाओस्, म्यानमार, मलेसिया, नेपाल, थाइलैण्ड, रसिया र भियतनाम।

बीसौँ शताब्दिको सुरुसम्म बाघ यी १३ देशबाहेक उत्तर कोरिया र पाकिस्तानमा पनि पाइन्थ्यो। पाकिस्तानमा अन्तिम बाघ सन् १९०३ ताका देखिएको थियो भने उत्तर कोरियामा १९४० को दशकसम्म बाघ देखापरेको बताइन्छ। 

बाघका ८ प्रजातिमध्ये हाल ५ वटा प्रजाति अमुर, बंगाल (पाटेबाघ), सुमात्रा, इण्डोचाइना र साउथ चाइना बाघ मात्र अस्तित्वमा छन्। यसका तीन प्रजातिहरू, क्यास्पियन, जाभा र बाली हाल लोप भइसकेको छ।

बंगाल टाइगर अर्थात् पाटे बाघ नेपाल, भारत, बंगलादेश, भुटान र म्यानमारका आरक्षणहरूमा पाइन्छ। यदि हामीले बाघको संरक्षण उचित तवरले गर्न सकेनौं भने केही दशकमै यो आकर्षक जनावर डाइनासोरजस्तै लोप हुन बेर छैन। बाघको अनधिकृत शिकार, यसको आहारमा कमी, बासस्थानको संकुचन वा विनाश तथा मानव र बाघबीच हुने द्वन्द्व नै यसको विनाशका मुख्य कारण हुन्।

पाटेबाघ अर्थात् रोयल बंगाल टाइगर हाल भुटान, बंगलादेश, भारत, नेपाल र म्यानमारका केही संरक्षित क्षेत्रहरूमा करिब ३,९०० को संख्यामा बसोबास गर्दछन्।

नेपालमा एक दशकयता बाघको संख्यामा उल्लेखनीय वृद्धि भई हाल यसको संख्या ३५५ पुगेको छ। सन् २०१० को नोभेम्बर २१ देखि २४ सम्म रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न बाघको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा आगामी बाघ वर्ष २०२२ (चिनिया क्यालेण्डर अनुसार हरेक १२ वर्षमा मनाइने) सम्ममा बाघको संख्या दोब्बर बनाउने घोषणा गरियो, जसमा बाघ पाइने नेपाललगायत एशियाका १३ वटा देशहरूले आफ्आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। सोअनुरुप नेपालले सन् २०१० मा १२१ बाघ रहेकोमा १२ वर्षभित्र त्यसलाई झण्डै तेब्बरले वृद्धि गरी सन् २०२२ मा ३५५ पुर्याउन सफल भयो।

यसरी लोपोन्मुख वन्यजन्तु बाघको संरक्षणको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्नुले नेपाललाई वन्यजन्तु संरक्षण र व्यवस्थापनको क्षेत्रमा अग्रपंक्तिमा उभ्याएको छ।

बाघको चारित्रिक विशेषता

बाघ सामान्यतया एक्लो जीवनयापन मन पराउने वन्यजन्तुमा गनिन्छ। तर पोथीहरू भने धेरैजसो आफ्ना २,३ वटा बच्चाहरूको साथमा रहन्छिन्। वयस्क भाले बाघ ३ मिटरसम्म लामो हुन्छ भने त्यसको तौल २०० केजीसम्म हुनेगर्छ। तर पोथी बाघ त्योभन्दा केही सानो आकारको हुन्छ, जसको तौल १३६ केजीजति हुन्छ।

बाघले आफ्नो विशेष क्षेत्र बनाई त्यसमा राज गरेर बस्छ र उसको बासस्थान ६५ देखि करिब १०० वर्ग किमिसम्म फैलिएको हुन्छ। सामान्यतया बाघ १० देखि १५वर्षसम्म बाँच्छ भने कुनै, कुनै बाघ १७ वर्षको आयुसम्म पनि बाँचेको पाइएको छ।

पोथी बाघ ३ वर्षदेखि यौनिक रूपले सक्रिय हुन्छिन् भने उनले ९, १० वर्षसम्म सन्तानोत्पादन गर्न सक्छिन्। तर भाले बाघ भने ५, ६ वर्षमा मात्र यौनिक रूपले सक्रिय हुन्छ। पोथी बाघले गर्भाधान भएको करिब १०३ दिनपछि एकै बेतमा २ वा ३ वटासम्म व्याउँछिन्। बाघको बच्चालाई डमरु भनिन्छ। बाघका डमरुहरू सामान्यतया १८ देखि २८ महिनाको अवधिपछि स्वतन्त्र रूपले जंगलमा विचरण गर्न सक्छन्। मृग र बँदेल बाघको प्रिय शिकारमा गनिन्छ। तर यसले कहिलेकाहीँ गाई, बाख्रा, अर्ना तथा हात्ती र गैंडाका बच्चाहरूको पनि शिकार गरेको पाइन्छ।

बाघले अन्य शिकारको अभावमा कहिलेकाहीँ चरा, गोही, माछा र बाँदरलाई पनि आफ्नो आहार बनाउने गरेको पाइन्छ।

मानिसको स्वाद पाइसकेको नरभक्षी बाघले बाहेक सामान्यतया त्यसले मानिसको शिकार गर्दैन। तर घाइते भएको कारण वा बुढो भएर शिकार खेल्न नसक्ने अवस्थामा भने त्यसले मानिसलाई पनि आफ्नो आहार बनाउन सक्छ। बाघले एक विशेष प्रकारको गन्ध छर्केर, जमिन वा रूखमा नंग्राले कोतरेर वा घाँसमा लडिबुडी गरेर आफ्नो निश्चित क्षेत्रको लक्ष्मण रेखा कोर्ने गरेको पाइन्छ। 

बाघको महत्व

बाघ जंगलको इको सिष्टम अर्थात् पर्यावरण प्रणालीको सबैभन्दा उच्च स्थानमा रहने जनावर हुनाले इको सिष्टममा सन्तुलन कायम राख्न यसको महत्वपूर्ण भूमिका रहिआएको पाइन्छ। मृग, जरायोजस्ता जंगली जनावरहरूले घाँस, पात खान्छन् भने बाघले मृग, जरायो जस्ता शाकाहारी जनावरका साथै बँदेलजस्ता मांसाहारी जनावरलाई पनि आहार बनाउँछ। यसरी बाघको स्थान खाद्यचक्र अर्थात् फूड चैनमा उच्च रहेको पाइन्छ।

कालान्तरमा बाघको मृत्यु भएपछि त्यसको शरीर कुहिएर त्यसलाई अनेक जीवाणुहरूले उपभोग गर्छन् र फेरि त्यो माटोमा मिल्छ। त्यसलाई फेरि घाँस, झारपात, रूख आदिले आहारा बनाउँछ। यो प्राकृतिक जीवन-चक्रलाई जंगलको इकोसिष्टम अर्थात् पर्यावरण प्रणालीको रूपमा बुझ्न सकिन्छ। मृग आदि जनावरले जंगलमा घाँस, पातलाई अत्यधिक परिमाणमा बढ्न नदिई नियन्त्रणमा राख्छ भने बाघले शाकाहारीका साथै मांसाहारी जीवजन्तुहरूको पनि शिकार गर्ने हुँदा ती जनावरहरूको संख्या एक निश्चित विन्दुभन्दा बढ्न पाउँदैन। तसर्थ बाघले जंगलमा प्राकृतिक एवं पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। 

नेपालमा बाघको स्थिति

कुनै बखत नेपालका जंगलमा सैयौंको संख्यामा बाघ विचरण गर्थे। नेपालको दक्षिणी भेगमा अवस्थित तराइका समतल भूभाग बाघको निम्ति सुरक्षित बासस्थानमा गनिन्थ्यो। सन् १९५० को दशक अगाडिसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीस्थित दक्षिणी भेगका जंगलमा बाघ ओहोरदोहोर गर्थ्यो। तराईस्थित चारकोसे झाडीको नाउँले चिनिने जंगल बाघको मुख्य बासस्थान मानिन्थ्यो।

तर पछि जब तराइका जंगलहरू फँडानी गरेर त्यहाँ मानव बस्तीको विकास हुन थाल्यो, बाघको बासस्थान साँघुरिँदै गयो। त्यस्तै राणा तथा शाहकालीन शासकहरू आफू मात्र बाघको शिकार खेली त्यसको मजा लुट्दैनथे, उनीहरू बेलायतलगायत मित्र राष्ट्रहरूबाट समेत पाहुनाहरू बोलाई शिकार खेल्न लगाउँथे।

नेपालमा सन् १९३९ ताका एउटै शिकार आयोजनाअन्तर्गत १२० वटा बाघ मारिएको इतिहास पढ्न पाइन्छ। यसप्रकार अनियन्त्रित शिकार, बसाइसराइ आदिका कारण बाघको संख्या धमाधम घट्न थाल्यो। सन् १९५० ताका नेपालबाट मलेरिया उन्मूलन भएपछि पहाडबाट तराइमा बसाइसराइ गर्ने क्रममा मानिसहरू धमाधम जंगल फँडानी गरी त्यहाँ बसोबास गर्न थाले। यसप्रकार सन् १९७० को दशकको सुरुका वर्षमा बाघको संख्यामा यति धेरै ह्रास आउन थाल्यो; कि त्यो घटेर यूनतम विन्दुमा अर्थात् ५० जतिमा सीमित रहन गयो।

तर सोही दशकमा नेपालमा बाघ संरक्षणको दिशामा महत्वपूर्ण प्रयासको थालनी पनि भयो। सन् १९७२ ताका चितवनमा स्थापना गरिएको स्मिथसोनियन टाइगर इकोलोजी प्रोजेक्ट नेपालमा बाघको संरक्षणको दिशामा पहिलो औपचारिक प्रयास मानिन्छ। त्यसको अर्को वर्ष सन् १९७३ मा नेपालमा पहिलो व्यवस्थित संरक्षणको प्रयासस्वरूप चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो। यो बाघ संरक्षणको दिशामा कोशेढुंगा सावित हुन गयो।

त्यसको केही वर्षभित्रमै अन्य चार वटा आरक्षण क्षेत्रहरू स्थापना गरिए। ती हुन्ः पर्सा, बांके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज। 

नेपालले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूमा हस्ताक्षर गरको छ, बाघलगायत विभिन्न प्रकारका वन्यजन्तु संरक्षणका खातिर। साइटिस १९७३, युनेस्को १९८४ र कन्भेन्सन अन वायोडाइभर्सिटी (सीबीडी) १९९२ जस्ता सन्धीहरूमा नेपाल पक्ष भएर हस्ताक्षर गरेको छ।

यसरी नेपालको संरक्षणका प्राथमिकताहरूमा पनि समय अनुसार परिवर्तन हुँदै आएको पाइन्छ। सुरुमा संरक्षित क्षेत्रहरूमा एक्लो प्रयासका रूपमा वन्यजन्तुहरू संरक्षण गर्दै आएको नेपालले पछिल्लो समयमा तराई आर्क ल्याण्डस्केपको अवधारणाअन्तर्गत बाघ संरक्षण कार्यमा सीमापार बाघ व्यवस्थापन जस्ता मोडेलहरू बनाएर काम गर्न थालेको छ।

आजभोलि समुदायको संलग्नतामा बाघ संरक्षण गर्ने र मानव वन्यजन्तुवीच द्वन्द्व न्यूनीकरणजस्ता कार्यहरूमा जोड दिन थालिएको छ। 

नेपालले बाघको गणना सन् २००९ देखि हरेक ४-४ वर्षमा गर्दै आएको छ। त्यसैअनुरूप २००९ मा यसको संख्या १२१ थियो भने सो बढेर २०१३ मा १९८ र २०१८ मा २३५ पुगेको थियो।

नेपालमा बाघ पाइने मुख्यतया पाँच आरक्षण केन्द्रहरू छन्ः चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज।

चौथो बाघ गणनाअनुसार नेपालका पाँच वटा संरक्षित क्षेत्रमध्ये चितवनमा सबैभन्दा बढी १२८ वटा वयष्क बाघहरू छन् भने पर्सामा ४१ वटा, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटामा ३६ गरी कुल ३५५ वटा वयष्क बाघहरू बसोबास गर्दछन्।

बाघको गणना गर्दा पहिले पहिले पगमार्क अर्थात् खुट्टाको छापलाई आधार मानिन्थ्यो भने आजभोलि क्यामेरा ट्रयापिङअन्तर्गत बाघको बासस्थामा स्वचालित क्यामेरा जडान गरी प्रत्येक बाघको फोटो लिने प्रविधि अपनाइने गरिन्छ र यो प्रविधि भरपर्दो पनि छ। 

बाघको संरक्षणमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण केन्द्र, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्यु) एफलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू लामो समयदेखि कार्यरत रहिआएको पाइन्छ। ती संस्थाहरूले स्थानीय समुदायको सक्रिय सहभागिता तथा संलग्नतामा बाघलगायत अन्य लोप हुने अवस्थामा रहेका वन्यजन्तुहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दैआएका छन्।

बाघ संरक्षणका कार्य प्रभावकारी बनाउन नेपाल सरकारको मात्र संलग्ताले पुग्दैन। तसर्थ तराई आर्क ल्याण्डस्क्याप (ताल) अन्तर्गत भारत र नेपालको संयुक्त प्रयासमा सीमापार संरक्षण योजना कार्यान्वयन गरी समन्वयात्मक ढंगले वन्यजन्तु संरक्षणका कार्यहरू अगाडि बढाइएको पाइन्छ।

हाल बाघ संरक्षणमा नेपालले हासिल गरेको सफलताको पछाडि करिब दुई दशकदेखि लागु गरिएको ल्याण्डस्क्याप तहको संरक्षण अभियान तथा चोरी शिकारीविरुद्ध संगठनात्मक कदमहरूको हात रहेको कुरा छर्लंगै छ।

साथै बाघको बासस्थानको पुनर्स्थापना तथा आरक्षण केन्द्रको उचित व्यवस्थापनका दिशामा चालिएका महत्वपूर्ण कदमहरूले पनि यसमा सघाउ पुगेको छ।

संरक्षणका चुनौती

चोरी शिकारी, गैरकानूनी रूपमा फष्टाएको वन्यजन्तुको व्यापार, आहारहरूको कमी, बासस्थानको अतिक्रमण तथा मानव-बाघ द्वन्द्व बाघ संरक्षणको क्षेत्रमा देखिएका जटिल समस्याहरू हुन्।

चीनलगायत केही देशहरूमा टाइगर वोन बाघको हड्डीको सुप खाने र बाघको अंग, प्रत्यंगबाट परम्परागत औषधि तयार गर्ने प्रचलन लामो समयदेखि चलिआएको कारण पनि बाघको चोरी शिकारी तथा त्यसका अंगहरूको व्यापार यदाकदा फष्टाउने गरेको पाइन्छ।

नेपालमा केही वर्षयता चोरी शिकारीका घटनाहरूमा अलि कमी आएको देखिन्छ। गत आर्थिक वर्षमा कुल ९ वटा बाघको मृत्यु भएको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण विभागको तथ्यांकले जनाउंछ। जसमध्ये ७ वटाको प्राकृतिक रूपले मृत्यु भएको देखिन्छ भने एउटा मानिसहरूले लखेटेर मारेको र एउटा अज्ञात कारणले मरेको भन्ने बुझिएको छ।

गत वर्ष बाघको चोरी शिकारी भएको तथ्यांकमा देखिएको छैन। तर बाघ र मानिसबीच द्वन्द्वका घटना भने प्रशस्तै देखिएको छ। गत आर्थिक वर्षमा विभिन्न आरक्षण केन्द्रहरूमा गरी बाघ मानिसबीच द्वन्द्वका ४३४ घटनाहरू भएका देखिन्छन् भने त्यसबाट १२ जना मानिसको मृत्यु भएको, १४ जना सख्त घाइते भएका र ४ जना सामान्य घाइते भएका छन्।

त्यस्तै बाघको आक्रमणले ४०४ वटा पशुधन नष्ट भएको तथ्यांकले जनाउंछ। यसरी बाघ र मानिस तथा घरपालुवा पशुबीचको द्वन्द्वका घटना अघिल्लो वर्षभन्दा केही कमी आएको देखिए पनि त्यसमा सन्तोष मान्ने अवस्था भने छैन।

अघिल्लो वर्ष बाघको आक्रमणमा परी २१ जना मानिसको मृत्यु भएको तथ्यांकले देखाउँछ भने ८ जना सख्त घाइते र ७ जना सामान्य घाइते भएको देखिन्छ। त्यसैगरी गत आवमा ४८१ पशुधन क्षति भएको देखिन्छ भने सो अवधिमा द्वन्द्वका कुल ५१७ घटनाहरू घटेका छन्।

सो वर्ष प्राकृतिक कारणले ११ वटा बाघको मृत्यु भएको देखिन्छ। सरकारले बाघको आक्रमणमा परी मृत्यु हुने व्यक्तिलाई प्रतिव्यक्ति १० लाख र सख्त घाइते हुनेलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको देखिन्छ।

जे होस्, हाल मानव र वन्यजन्तुबीच हुने द्वन्द्वलाई न्यूनीकरण गर्नु नै नेपालको वन्यजन्तु संरक्षणको क्षेत्रमा एक महत्वपूर्ण चुनौती देखिएको छ। नेपालले दशकौंदेखि समुदायको संलग्नतामा बाघको संरक्षण कार्यलाई अघि बढाउँदै आएको छ, जुन अन्य कतिपय देशहरूका निम्ति पनि उदाहरणीय मानिन्छ।

तर संरक्षणका कार्यमा जनसहभागितालाई अरू व्यापक र विस्तृत बनाउँदै, जनचेतनामा वृद्धि गर्दै लग्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ। जबसम्म हामीले सर्वसाधारण जनतालाई बाघको संरक्षणबारे उचित प्रशिक्षण दिन र उनीहरूमा संरक्षणको महत्वबारे चेतना फैलाउन सक्दैनौं हाम्रा संरक्षणका प्रयासहरू अपेक्षाकृत रूपले सफल हुन सक्दैन।

यसका साथै खुला सीमानाका कारण बाघ छिमेकी देशमा ओहोरदोहोर गर्ने तथ्यलाई ध्यानमा राखी बाघको सीमापार व्यवस्थापन तथा संरक्षण कार्यलाई समन्वयात्मक ढंगले अझ परिष्कृत बनाउँदै लानु पनि आजको आवश्यकता हो।

(लेखक पत्रकार तथा नेपाल टाइगर (१९९८) पुस्तकका सह-लेखक हुन्।)
 

साउन १३, २०८० शनिबार १०:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।