माइक्रोमिटर लगाएर प्लास्टिक नाप्दै महानगर, प्रतिबन्धितलाई जफत गरिने

माइक्रोमिटर लगाएर प्लास्टिक नाप्दै महानगर, प्रतिबन्धितलाई जफत गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कमको प्लाष्टिकको प्रयोग रोक्न अनुगमन तीव्र पार्ने भएको छ। माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने छ।

महानगरले यही साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। साथै प्लाष्टिकजन्य फूलमा पनि महानगरले प्रतिबन्ध लगाएको छ।

यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको  संयुक्त अनुगमन टोली परिचालन गरिने महानगर प्रमुख बालेन शाहले बताएका छन्।

४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला तथा प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान प्रयोग गर्न नपाइने प्रमुख शाहको भनाइ छ।

यदि अनुगमनका क्रममा प्रतिबन्ध लगाइएको प्लाष्टिकको प्रयोग गरेको पाइएमा जफत गरिने उनले चेतावनी दिएका छन्।

‘हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ। प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ। टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ,’ प्रमुख शाहले भनेका छन्, ‘यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ। प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान चाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन। यसर्थ, अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र बिक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु।’

१२ साउन, २०८०, २२:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।