सय किलो सुन तस्करीमा जोडिएका राकेशको नाममा आधा दर्जन कम्पनी, शेयरमा डुबेपछि सुन कारोबारमा

सय किलो सुन तस्करीमा जोडिएका राकेशको नाममा आधा दर्जन कम्पनी, शेयरमा डुबेपछि सुन कारोबारमा

काठमाडौँ : टेस्ला गाडीको नेपाल विक्रेता अनि चाँदीको कारोबारमा संलग्न राकेश अडुकिया शेयर बजारका चल्तीका खेलाडि। तर पछिल्लो समय शेयरसँगै टेस्ला अनि चाँदी दुवैको व्यापार खस्कियो।

आर्थिक सङ्कटमा पर्दै गएका अडुकियाको जीवनशैली केही महिनादेखि एकाएक बदलियो। मारवाडी व्यापारी समूहबिच अडुकियाको बदलिँदो जीवनशैली छलफलको विषय बन्ने गरेको थियो।

राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको स्कुटरको ब्रेकशु नियन्त्रणमा लिएर तस्करीको एक क्विन्टल सुन फेला परेको समाचार बाहिरिएपछि अडुकियाको दैनिकी पनि बदलिएको थियो। उनी केही हतास जस्तै देखिएको उनीसँग परिचित एक व्यवसायीले बताए।

बुधवार विभागले एकाएक अडुकियाको कमलपोखरीमा रहेको घरमा छापा मार्यो। सुन तस्करीको अनुसन्धानकोक्रममा मारिएको छापामा अड्किया भने फेला परेनन्। उनी भारत भागिसकेका थिए।

'टेस्लाको व्यापार खासै छैन। चाँदीको कारोबारमा पनि त्यति फाइदा छैन,' अडुकियाबारे जानकारस्रोतले भन्यो' तर यो बिचमा उनको जीवनशैली पुरै बदलिएको देखिन्थ्यो। उनले के काम गरिराखेका छन् भन्ने व्यवसायी समूहमा चर्चाको विषय बनेको थियो।'

बैङ्क डुबाउनेदेखि भन्सार छलीसम्मका खेलाडी

अडुकियाको परिचय सेयर बजारका खेलाडीको रूपमा सुरु भएको हो। नेपालको शेयर बजारलाई प्रभाव पार्न सक्ने खेलाडीमध्ये उनी पनि एक थिए।

उनी कृषि प्रुमेरा होल्डिङ कम्पनी, नेपाल मेन्था प्रालि, वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी,श्रीमा डिस्ट्रिब्युटर्स र अरेटी इन्टरनेसनल कम्पनीमा आबद्ध छन्। हङकङमा रोयल सिल्भर हङ्गकङ्ग लिमिटेड कम्पनीमा समेत उनी संलग्न रहेको खुलेको छ।

उनी खेतान समूहका पारिवारिक सदस्य हुन्।  उनी सर्वसाधारणको तर्फबाट २०६२ मा लक्ष्मी बैङ्कको सञ्चालक बनेका थिए। उनको कृषि प्रुमेरा कम्पनीले गोर्खाको २३ प्रतिशत शेयर लिएर बैङ्क सञ्चालक भएका थिए।

गोर्खा विकास बैङ्क सङ्कटमा परेपछि अड्किया चर्चामा आए। प्रक्रिया मिचेर ऋण लिएर सर्वसाधारणको बचत सङ्कटमा पारेको भन्दै नेपाल राष्ट्र बैङ्कले २०६७ चैत ११ गते गोर्खालाई समस्याग्रस्त घोषणा गर्यो।

तत्कालीन सञ्चालक डीबी बम्जन, राकेश अड्किया, निर्मल गुरुङलगायतले बैङ्कको ठुलो रकम हिनामिना गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा पर्यो।

बैङ्कमा भएको घोटाला विरुद्ध  बैङ्कका कार्यकारी तथा सञ्चालकविरुद्ध बैङ्किङ कसुर अन्तर्गत १३ वटा अलग अलग मुद्दा दायर भएको थियो। एक अर्ब ६२ करोड घोटाला भएको भन्दै एक सय २४ जना विरुद्ध  मुद्दा दायर भएको थियो। अड्किया धरौटीमा रिहा भएका थिए।

गोर्खा काण्डपछि उनी शेयरसँगै चाँदी र टेस्लाको व्यापारमा लागेका थिए अडुकिया। उनी अधिकांश समय हङकङमा बस्दै आएका थिए। व्यवसायमा गुमनाम बन्दै गएका उनी एकाएक एक क्विन्टल सुन तस्करीमा जोडिएर चर्चामा आए।

अडुकियासँग भारतीय राहदानी

दुई पटक दुई वटा बैङ्कको सञ्चालक समिति सदस्य भएका अडुकियाले भारतीय राहदानी प्रयोग गर्ने गरेको यही घटनाले पुष्टि गर्यो।

उनले जेड ५०९७७३९ नम्बरको भारतीय राहदानी प्रयोग गर्छन्। उनको श्रीमतीले समेत भारतीय राहदानी प्रयोग गरेकाले उनी समेत भारतीय नागरिक रहेको देखिन्छ।

साउन ११, २०८० बिहीबार २३:१९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।