पाँच आरोप लगाउँदै त्रिविका परीक्षा नियन्त्रक जोशीविरुद्ध अख्तियारमा उजुरी

पाँच आरोप लगाउँदै त्रिविका परीक्षा नियन्त्रक जोशीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

एकपछि अर्को गैरकानूनी र अख्तियार विपरीतका कार्य गर्दै आएकाले तत्काल निलम्वन गरी छानविन तथा अनुसन्धान अघि बढाउन माग गर्दै जोशीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो।

उजुरीमा उल्लेख भएका आरोपहरू
– मिति २०८० साल साउन ८ गते सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएको इतिहास विषयको ऐच्छिकतर्फ ४१० कोड नम्बर भएको पर्यटन विकासको परिचय विषयमा  गैरजिम्मेवारीपूर्वक लापरवाहीका साथ पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको।

– न्यूनतम योग्यता नपुगेका शिक्षकहरुलाई विषय विज्ञमा नियुक्ति गरी परीक्षा सञ्चालनका लागि पर्यवेक्षकमा नियुक्ति गर्ने, परीक्षकमा नियुक्ति गर्ने, संपरीक्षकमा नियुक्ति गर्ने, प्रश्न पत्र निर्माण र मोडरेसनमा संलग्न गराउने समेतका कार्यहरु गराउँदै आएको।

– एक कार्यकाल सकिएपछि घुस खुवाएर पुनः नियुक्ति हुनुभएका परीक्षा नियन्त्रक पुष्पाराज जोशीले कानुन विपरीत मौखिक आदेशका भरमा गैरकानुनी कार्य गर्न आफूले भनेका नमान्ने विषय विज्ञ एवं शिक्षकहरुलाई कालोसूचीमा राख्ने गरेको।

– विभिन्न क्याम्पस तथा विद्यार्थीहरुसँग आर्थिक लाभमा परी घुस लिइ प्रश्नपत्र चुहावट गर्ने, परीक्षा केन्द्रहरु सेटिङमा तोक्ने कार्यहरु गर्दै आएको।

– निर्धारित समयमा सञ्चालन गर्नुपर्ने परीक्षा ढिलाइ गर्ने तथा परीक्षाफल २० महिनासम्म पनि प्रकाशित नगर्ने गैरजिम्मेवारी कार्यमा संलग्न भएको।

११ साउन, २०८०, १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।