सुन तस्करी अनुसन्धानमा विभाग-प्रहरी द्वन्द्व, राजश्वले सहयोग माग्यो, हेडक्वाटरले एक जना एसपी पठायो

सुन तस्करी अनुसन्धानमा विभाग-प्रहरी द्वन्द्व, राजश्वले सहयोग माग्यो, हेडक्वाटरले एक जना एसपी पठायो

काठमाडौँ : एक क्विन्टल सुन तस्करी घटनाको एक्लै अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले सहयोग मागेपछि प्रहरीले एक जना एसपीलाई पठाएको छ।

विभागले अनुसन्धानमा सहयोग माग्दै प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि सोमबार मानव बेचबिखन ब्युरोमा कार्यरत एसपी कृष्ण पङ्गेनीलाई विभागमा पठाएको हो।

हंगकंगबाट हवाई मार्ग हुँदै नेपाल आउने र नेपालबाट भारत लैजाने योजनासहित नेपाल भित्रिएको सुन तस्करी अन्तर्देशीय अपराध भए पनि विभागले एक्लै अनुसन्धान गर्दै आएको थियो।

राजश्व छलीमा उच्च अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको विभागले अनुसन्धान सुरु गरेको पाँचौँ दिनमा प्रहरी प्रधान कार्यालयको सहयोग मागेको हो।

विभागबाट अनुसन्धानका लागि एक जना प्रहरी अधिकारीको माग भएपछि प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पङ्गेनीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले उकेरालाई जानकारी दिए।

‘विभागबाट अनुसन्धानको लागि सहयोग माग्दै पत्र आएको थियो,’ उनले भने, ‘सोही पत्र आएपछि हामीले मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपीलाई पठायौँ।’

आइजिपीको माग सुनेनन् गृहमन्त्रीले

विभागको टोलीले गत मङ्गलवार सुन बरामद गरे पनि बुधवार मात्र यो घटना सार्वजनिक गरेको थियो। बुधवार बेलुकातिर ८० किलो बढी तस्करीको सुन फेला परेको सूचना बाहिरिएको थियो।

लगत्तै बुधवार नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरले सुन तस्करी राजश्व छलीको मात्र नभई अन्तर्देशीय र सङ्गठित अपराध समेत भएकाले प्रहरीले अनुसन्धान गर्नु राम्रो हुने सुझाव दिएका थिए।

स्रोतका अनुसार गृहमन्त्रीले सकारात्मक जवाफ दिएका थिए। तर सरकारले सुन तस्करीको अनुसन्धानमा प्रहरीलाई संलग्न गराउने निर्णय गरेन।

'राजश्व छलीको अनुसन्धान गर्ने कार्यक्षेत्र विभागकै हो,' एक प्रहरी अधिकारीले भने' तर यो केवल राजश्व छलीको घटना मात्र नभएर सङ्गठित र अन्तर्देशीय अपराध पनि हो। त्यसैले प्रहरीले यसको अनुसन्धानमा चासो राखेको हो।'

प्रहरीले अनुसन्धानमा चासो राखे पनि सरकारले भने यो प्रकरणको अनुसन्धान तत्काल प्रहरीलाई नदिने सोमबारको घटनाले पनि पुष्टि गर्यो। विभागले प्रहरीको सहयोग माग्यो। प्रहरीले पनि एक जना एसपी पठायो।

अहिलेसम्म विभागले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। विभागका प्रमुख नवराज ढुङ्गानाले पहिलो तहका सहयोगी पक्राउ गरेर अब दोस्रो तहको अनुसन्धान सुरु भएको दाबी गरेका थिए।

तर अहिलेसम्म भन्सार एजेन्ट, ट्याक्सी चालक, सुन स्टोर गर्ने स्थानको सहयोगी लगायतकाहरु मात्र पक्राउ परेका छन्।

प्रहरी सुन तस्करीको अनुसन्धान औपचारिक रूपमा गर्न इच्छुक छ। तर यसका लागि सरकारले विशेष निर्णय गर्नुपर्छ। पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरेपछि सरकारले नै विशेष निर्णय गरेर किर्तेबारे अनुसन्धानको जिम्मा प्रहरीलाई तोकेको थियो।

तर सो अनुसन्धान त्यति प्रभावकारी देखिएन। लामो समयपछि बल्ल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी दस्तखत छाप किर्तेमा पक्राउ गरिरहेको छ।

सङ्गठन अपराध सम्बन्धी एक जानकार प्रहरी अधिकारी घटना सार्वजनिक भएको पाँच दिनसम्म पनि सङ्गठित अपराधको जालोबारे अनुसन्धान नभएकाले अब अनुसन्धान गर्दा थप कठिन हुने बताउँछन्।

'सङ्गठित अपराधमा एकपछि अर्को जटिल लेयरको निर्माण गरिएको हुन्छ। कतिपय घटनामा सहयोगीलाई मैले कसको लागी काम गरिरहेको हो भन्नेसम्म थाहा हुन्न,' नाम उल्लेख गर्न नचाहने ती प्रहरी अधिकारीले भने' सङ्गठित अपराध अनुसन्धानको जटिल पक्ष नै कनेक्सन निर्माण गर्दै माथिल्लो तहसम्म पुग्नु हो। यत्रो दिनसम्म त्यतातिर अनुसन्धान नहुँदा ती तहहरू नष्ट भइसकेको हुनसक्छ।'

सम्बन्धित समाचार:

साउन ८, २०८० सोमबार २१:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।