रानु शाहको प्रसव पीडा र खुसी : प्रेगनेन्सीमा मैले केही कमजोरी महसुस नै गरिनँ तर प्रसवको बेलामा श्रीमान् धेरै मिस हुने रहेछ
नेपाल पर्यटन बोर्डको उत्तरपूर्व एशिया डेस्कको म्यानेजर हुन्, रानु शाह। जापान, चीन, हङकङ र कोरियालगायत देशमा नेपालको पर्यटन प्रवर्द्धनमा उनले नेतृत्व भूमिका निर्वाह गर्ने गर्छिन्।
आन्तरिक पर्यटन विकास अधिकारीका रूपमा करिब दुई दशकअघि उनी बोर्डमा आबद्ध भएकी थिइन्। त्यतिबेला भने सम्पदा संरक्षणदेखि लिएर सौन्दर्यकरणसम्म उनले हेर्नुपर्थ्यो।
विराटनगरमा जन्मिए पनि उनको पढाइ भने काठमाडौँमै भयो। बिवाह र बच्चापछि उनी करिअरमा फोकस भइन्। बोर्डमा जागिरे हुनुभन्दा अगाडि उनले डेढ वर्षजति स्कुलमा पढाउने काम पनि गरिन्। बिहे हुँदा उनी २१ वर्षकी थिइन्।
दाजुभाइ दार्जिलिङ पढे पनि उनी काठमाडौँमै बसिन्। थप पढाइका लागि उनका दाजुभाइ अमेरिकासम्म पनि गए। तर, उनी परिवारमै रहिन्। छोरीहरू टाढा जानु हुँदैन, सुरक्षित भएर घरमै बस्नुपर्छ भन्ने उनको परिवारमा थियो।
बिहेको कुरा पनि उनले पक्का भइसकेपछि थाहा पाएकी थिइन्। दुई छोराकी आमा रानुले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन्।
०००
मेरो दिदीको छिमेकी अहिले आमाजू हुनुहुन्छ। उहाँले मेरो बिहेको कुरा गर्नुभएको रहेछ। अनि मेरो श्रीमानले पनि बुवा ममीले हेरिदिएको केटी 'हुन्छ' भनेर जानुभएको रहेछ। त्यै भएर परिवार-परिवारमा कुरा पक्का भएछ। त्यसबेला बुवाहरूले यत्तिको हुन्छ भनेपछि सीधै नाइँ भन्न सक्ने अवस्था पनि थिएन। मान्छे भेट्ने त कुरा नै भएन। एकचोटि पनि नभेटी हाम्रो बिहे भयो।
मेरो स्नातकको अन्तिम परिक्षा आइरहेको थियो। पहिला म परीक्षा सकाउँछु अनि बिहे गर्छु भनेको थिएँ। ...भन्दा भन्दै बिहे भयो। सासू इन्डियन हुन्। उहाँ आफै एकदमै पढेलेखेको जागिरे हुनुहुन्थ्यो। आफै त पढेलेखेको भएपछि मलाई काम गर्न नदिने भन्ने त कुरै हुँदैन थियो।
त्यै भएर बिहेपछि मेरो पढाई रोकिएन। स्नातक पूरा गरे। स्ननाताकोत्तरको जाँच दिएपछि पहिलो बच्चा भयो। त्यसलाई प्लान नै भन्नुपर्ला। किनभने बिहे भएको साढे दुई वर्ष भइसकेको थियो।
त्यसो भन्दैमा भइहाल्छ भन्ने पनि थाहा थिएन। गर्भवती भएको थाहा पाउँदा 'अबुई मैले पनि अब बच्चा जन्माउछु है !’ भन्ने लागेको थियो। घरमा पनि सबै जना खुशी थिए।
प्रेगनेन्सीमा मैले केही कमजोरी महसुस नै गरिनँ। एक पटक पनि वान्ता गरिनँ। खानेकुराहरू अलि अलि गन्हाउँथ्यो। तर, सब नर्मल नै थियो। खानपान सबैमा ध्यान दिएर पनि त्यस्तो नभएको हो कि। घरमा सबै जनाको एकदमै सहकार्य भएर पनि होला। अरुहरूको खुट्टा सुन्निने, तौल बढ्ने हुन्छ भन्ने सुनेको थिएँ। मलाई त त्यस्तो पनि भएन।
मानसिक रुपमा चाहिँ पहिलो बच्चा हो। के होला, कसो होला भन्ने भइरह्यो। श्रीमान आर्मी भएको कारण बाहिरबाहिरै हुनुहुन्थ्यो। तर, सासू ससुराले एकदमै सहयोग गर्नुभयो।
पाँच महिनामा त बच्चा चलेको पनि थाहा भयो। त्यो बेला अनौठो लाग्ने रहेछ। उसले किक गर्दा 'बच्चा छ है यहाँ भित्र’ भनेर खुशी लाग्थ्यो।
जन्मिने समय नजिँकिदै थ्यो। त्यसबेला सासूससुराले सधैँ 'आज तिमीलाई ठिक छ’ भनेर सोध्नुहुन्थ्यो। अनि डेटभन्दा दुई दिनअघि चै राति पेट दुखेको जस्तो भएको थ्यो। तर, त्यस्तो गाह्रो चै भएको थिएन। त्यो बेला पनि ससुराले बिहान 'आज तिमीलाई ठिक छ ?’ भन्नुभयो। मैले राति पेट दुखेको जस्तो भएको थियो भनेँ। अनि उहाँले त्यसो भए एकचोटि डाक्टरकोमा जानुपर्छ भन्नुभयो।
फेरि त्यै दिन चै भद्रकालीमा मेरो एकदम मिल्ने साथीको बिहे थियो। त्यहाँ जानै पर्ने थियो। त्यै भएर मैले ससुरालाई म पहिला साथीको बिहेमा जान्छु अनि आउँछु भने। उहाँले, 'त्यसो भए पहिला डाक्टरकोमा जाम्। अनि डाक्टरले सब ठिक छ भन्यो भने तिमी साथीको बिहेमा जानू। ड्राइभरलाई पनि लिएर जानु’ भन्नुभयो। त्यति गर्यो भने चै धेरै बेर बस्दैन भन्ने सोच्नुभयो होला।
दश, साढे दशमा डाक्टरकहाँ पुगेको थिएँ। उहाँले त 'ऊ प्रसवमै छ भन्नुभयो’ तर, मलाई त्यस्तो केही भएकै थिएन। प्रसव पीडाको व्यथाबारे डर लाग्ने कुराहरू सुन्दै आएको थिएँ। कस्तो होला भन्ने भइरहन्थ्यो। तर, त्यस्तो पनि केही भएन। म स्कुलमा हुँदा खेलकुदमा पनि एकदम सक्रिय थिएँ। त्यै भएर पनि मेरो शरीरले प्रेगनेन्सीका परिवर्तनहरू सजिलै समात्यो कि !
म प्रसवमा छु भनेपछि त बिहेमा जाने कुरा भएन। पहिलो बच्चा भएको कारण के हुन्छ भन्ने पनि थाहा थिएन। त्यति बेला नै हस्पिटलमै भर्ना हुनुपर्यो। डाक्टरले सबै चेक गरिरहनुभएको थ्यो। मलाई त अचम्म लाग्यो। नजिकै वरपर कराएको, चिच्याएको सुनिरहेको थिएँ। त्यो सुनेपछि उहाँहरूलाई त कति गाह्रो भएको रहेछ। त्यो दुखाइ मलाई आए पनि हुन्थ्यो जस्तो लाग्यो। मलाई त केही भएन, उहाँहरूलाई किन गाह्रो भएको होला भन्ने लागिरह्यो।
त्यसको केही घण्टामा त बाबु पनि जन्मिहल्यो। दुखाइ त अलि अलि हुने नै भयो। तर, धेरै लामो नभएको कारण छिट्टै नर्मल नै पाएँ। पछि त एकदम आनन्द फिल भयो। सजिलो भयो। म त स्तनपान गराउने आमामै पर्छुजस्तो लाग्छ।
छोरालाई तीन दिनपछि जन्डिस देखियो। उसलाई स्तनपान गराइसकेको थिएँ। ११ दिन त हस्पिटलमै बस्नुपर्यो। त्यतिञ्जेल वरपरका बच्चाहरूलाई पनि आफ्नो दूध खुवाएँ।
दुइ/तीन हप्ता जतिचाहिँ मलाई अलिकति गाह्रो भयो। दूध खुवाउन खोज्दा एकदम दुखेर आउन थाल्यो। डाक्टरलाई भनेपछि दुखाइ सहेर भए पनि खुवाउन थालेँ। आफै ठिक हुँदै गयो। सासू इन्डियन हुनुभएकाले नेपाली परम्पराअनुसार तीनचोटि खानाचाहिँ खाइराख्नु परेन। आमाबच्चा दुवैलाई तेल मालिस गरे।
पहिलो बाबु भएको आठ वर्षपछि दोश्रो बाबु भयो। खानाको कुरामा चै पहिलोभन्दा दोस्रोमा अलि बढी छानेर खाने भएछु। त्यसबाहेक खासै फरक थिएन। फुर्तिलो नै थियो। दोस्रो बाबु हुँदा अफिस पनि जोडिइसकेको थिएँ। शारीरिक रूपमा बढी नै सक्रिय भएर होला दोस्रो बच्चा त सात महिनामै जन्मियो।
त्यो बेलामा सात महिनामा बच्चा जन्मिन्छ भनेर त सोचेको पनि थिइनँ। अलि अलि रगत बगेको जस्तो भयो। डाक्टरकोमा गएँ। रगत त नदेखिनुपर्ने भन्नुभयो। अल्ट्रासाउण्ड गराउनुभयो। त्यसमा पनि खासै केही देखिएन। त्यतिबेला मैले के रहेछ भनेर सोधेको पनि थिएँ। पहिलो बाबु भएको कारण दोश्रोचाहिँ छोरी होस् भन्ने थियो। उहाँले छोरा छ भन्नुभएको थियो। मैले हैन यो डाक्टरले भन्ने मात्र हो। म छोरी नै पाउँछु भनेर एकदम विश्वस्त थिए।
त्यो बेला पनि श्रीमान साथमा हुनुहुन्थेन। आर्मी भएको कारण उहाँ बाहिरको बाहिर नै हुनुहुन्थ्यो। सासू ससुराले कमी महसुस हुन नदिनुभए पनि त्यस्तो बेला श्रीमानको कमी भने महसुस भई नै रहेको थियो।
मेरो पेट दुख्ने क्रम निरन्तर नै भयो। त्यसपछि हस्पिटल नै जाने कुरा भयो। त्यहाँ गयो भने डाक्टरको वरपर हुन्छ भन्ने भयो। पेट दुखिरहेको भनेपछि डाक्टरले पनि अब्जरभेसनमा राख्ने कुरा गर्नुभयो।
रगत देखिएको भएर बच्चा अहिले नै ननिस्कोस् भनेर नर्सले पनि औषधि दिराखेको थियो। तर, दुखे क्रम झन् धेरै हुँदै गयो। उहाँहरूले के भएछ भनेर हेर्दा त बच्चा निस्कन लागिसकेछ। ए ! यति घर खुलिसकेछ भनेर उहाँहरू त प्रसव कक्ष खुलाउन पो लाग्नुभयो।
डेलिभरी किट पनि ल्याउनुपर्ने रहेछ। त्यो लिन पठायो। अनि मलाई भित्र लग्यो। त्यो किट पनि नआई मैले बाबु पाएँ। दोश्रोमा पनि धेरै व्यथा नै नलागी पाइहालेँ।
नर्मल नै जन्मिए पनि सात महिनामा जन्मिएको भएर बाबु अलिकति सानै थियो। अपरिपक्व बच्चा भएको करण उसको शरीरले तापक्रम मिलाउन सकिरहेको थिएन। उसको शरीरको तापक्रम कम थियो रे। त्यै भएर त्यो मिलेपछि मात्र बाहिर निकालेर मलाई दिएको थियो।
सात महिनामा पनि बच्चा जन्मिन्छ भन्ने सुन्दै आएको थिएँ। राम्रो स्याहार गर्नुपर्छ भन्ने लाग्यो। उसले चै सानो भएर पनि होला दूध नै तान्न सकेन। चम्चाबाट खुवाउन पर्यो। सानो छोरा जन्मिएको तीन महिनापछि ठूलोलाई पढ्न दार्जिलिङ पठाइसकेको थिएँ। त्यै भएर हुर्काउन पनि त्यति धेरै गाह्रो भएन। अहिले सम्झिँदा त एकदम रमाइलो लाग्छ। त्यो सबै फेज सकेर यिनीहरू यति ठूलो भइसके, धेरै समय गइसक्यो जस्तै लाग्दैन।
कत्ति छिटो समय बित्ने रहेछ। ठूलोले आर्मी मेडिकल कलेजबाट डाक्टर पढेर त्यतै इन्टर्नसिप गर्दैछ। सानोचाहिँ इन्डियामा कम्प्युटर पढिरहेको छ। आफ्नो बच्चा भएपछि त आफूमा पनि मायालुपन बढ्दै गएको पनि मैले महसुस गरेँ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
साउन ७, २०८० आइतबार १७:२५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।