भारतको मणिपुरमा भीडको अमानवीय हर्कतः २ महिलालाई नांगै पारेर सडकमा घुमाए

भारतको मणिपुरमा भीडको अमानवीय हर्कतः २ महिलालाई नांगै पारेर सडकमा घुमाए

भारत मणिपुरमा दुई महिलालाई भीडले अमानवीय व्यवहार गरेको छ। 

दुई महिलालाई सडकमा भीडले नांगै परेड गराएको हो। 

सामाजिक सञ्जालमा छरपस्ट भएको एक भिडियोमा दुई महिलालाई नग्न अवस्थामा सडकमा लगिएको देखिन्छ। त्यहाँ १५ देखि २० जना पुरुष पनि सँगै देखिएका छन्। उनीहरूले ती नांगै पारिएका महिलालाई खेततिर तानेको पनि भिडियोमा देखिएको छ। 

यो घटना मणिपुरको कांगपोकपी जिल्लाको हो। दुवै महिला कुकी समुदायका र आक्रमणकारी मेइती समुदायका हुन्।

के हो घटना ?

मणिपुरको मेइतेई र कुकी समुदायबीच झडप भएको एक दिनपछि मे ४ मा काङ्पोकपी जिल्लाको बि फेनोम गाउँ नजिकै हमला भएको थियो। 

त्यसपछि भीडले तीन जना महिलालाई नांगै पारेर सडकमा परेड गराएको हो। यस क्रममा दिउँसो एक महिला बलात्कृत पनि भएकी थिइन्। 

एक समाचार एजेन्सीका अनुसार पीडितमध्येकी एक ४० वर्षीया महिलाले भनिन्, 'जब हामीले नजिकैको गाउँमा मेइती भीडले घर जलाएको सुन्यौँ, हाम्रो परिवार र अरूहरू भागे, तर भीडले हामीलाई फेला पारे। हाम्रो छिमेकी र छोरालाई केही टाढा लगेर मारियो।' 

त्यसपछि भीडले महिलालाई कुटपिटसँगै नांगै बनाएको थियो। यो घटना ४ मेको हो। 

ती महिलाले त्यस क्रममा विरोध गरे पनि ज्यान मार्ने धम्की आएको बताइन्। वेबसाइट स्क्रोलका अनुसार ती महिलाले लुगा फुकाल्न नमान्दा ज्यान मार्ने धम्की दिइएको थियो। 'त्यसपछि हामीले आफ्नो जीवन बचाउन आफ्नो सबै लुगा फुकाल्यौं। अनि पुरुषहरूले हामीमाथि कुटपिट गर्न थाले।'

त्यसपछि भीडमा भएका केही पुरुषहरूले ती महिलालाई खेतमा लडाएर जबर्जस्ती गर्न खोजेका वेबसाइट स्क्रोललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

प्रहरीमा उजुरी दिएका महिलाका आफन्तले सोही क्रममा एक महिलामाथि सामूहिक बलात्कार भएको बताएका छन्।उजुरीका आधारमा प्रहरीले काङपोकपी जिल्लाको साइकुल प्रहरी चौकीमा मे १८ मा एफआईआर दर्ता गरेको जनाएको छ। 

साइकुल प्रहरी चौकीका एक अधिकारीका अनुसार करिब आठ सयदेखि एक हजारसम्म हत्या र जबर्जस्ती करणीका मुद्दा अज्ञात अपहरणकारीविरुद्ध परेको छ।  यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटना सुनेर आफू क्रोधित भएको र यो सभ्यताको लाजमर्दो घटना भएको बताएका छन्। उनले भनेका छन्- यो कुनै पनि सभ्य समाजका लागि लाजमर्दो घटना हो।'

यता भारतको सर्वोच्च अदालतले पनि आफ्नै अगाडि उक्त भिडियो आएको भन्दै आफूहरू विचलित भएको बताएको छ।

साउन ४, २०८० बिहीबार २०:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।