सुन तस्करी अनुसन्धानमा प्रधानमन्त्री कार्यालयले गृहलाई गर्‍यो बाइपास! गम्भीर अपराध समाचारबाट थाहा पायो प्रहरीले

सुन तस्करी अनुसन्धानमा प्रधानमन्त्री कार्यालयले गृहलाई गर्‍यो बाइपास! गम्भीर अपराध समाचारबाट थाहा पायो प्रहरीले

काठमाडौं : हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सबाट भित्रिएको कार्गोमा रहेको सुन ट्याक्सीमा ओसार्ने क्रममा राजश्व अनुसन्धान विभागले बरामद गरेको दाबी सार्वजनिक भएको छ।

विभागले मंगलबार नै बा २ ज २३२४ नम्बरको ट्याक्सीमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएको सुन बरामद गरेको दाबी गरिरहेको छ। तर बुधबार राती मात्र अनौपचारिक रुपमा तस्करीको सुन बरामद भएको बारे सूचना चुहाएको थियो।

विभागका अधिकारीहरुले सिनामंगलमा सुन बरामद भएको दाबी गरिरहेका छन्। विभागबाट सुन कहिले बरामद भएको भन्नेबारे समेत फरक फरक विवरण सार्वजनिक भइरहेका छन्। 

सुन तस्करीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको दाबी गरिरहेको छ। तर बुधबार बिहानसम्म पनि अनुसन्धान र पक्राउमा प्रहरी संलग्न छैन।

भन्सार छली सम्बन्धी अनुसन्धानको क्षेत्राधिकार विभागको हो। विभागमा आन्तरिक सुरक्षाका लागि सशस्त्र प्रहरी रहन्छन्। तर अपराध अनुसन्धानको जिम्मेवारी प्रहरीको हुने भए पनि प्रहरीले बिहीबार दिउँसोसम्म यसबारे औपचारिक जानकारी पाएको खुलेन।

संगठित अपराधबारे विभागले अनुसन्धान गर्न सक्दैन। बिहीबारसम्म तस्करीको अनुसन्धानमा गृह प्रशासनको संयन्त्रलाई औपचारिक रुपमा संलग्न गराइएको छैन।

‘समाचारमा आएका विवरणका आधारमा हामीले घटनाबारे जानकारी पाएका हौं,’ केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले उकेरासँग भने, ‘यसबारे हामीलाई औपचारिक जानकारी आएको छैन। प्रहरी अहिलेसम्म यसको अनुसन्धानमा संलग्न छैन।’

प्रधानमन्त्री कार्यालयले गृहलाई गर्यो बाइपास

अनुसन्धानको नेतृत्व विभागका प्रमुख नवराज ढुंगानाले नै गरिरहेका छन्। ढुंगाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा थिए। उनी असार १२ गते मात्रै विभागको प्रमुखमा सरुवा भएका हुन्।

विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत छ। सुन तस्करी लगायतका गम्भीर प्रकृतिको संगठित अपराधको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गर्दै आएको छ।

तर यो प्रकरणमा प्रहरी युनिटलाई पूर्ण गुमराहमा राखेको देखिन्छ। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ एकै पार्टीका नेता हुन्।

इलेक्ट्रिक चुरोट भेपको आवरणमा भन्सारमा आएर हराएको नौ किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको थियो। ठमेल क्षेत्रमा फेला परेको ८८ किलो सुन होस् या सनम शाक्य हत्यासँग जोडिएको ३३ किलो सुनको अनुसन्धानमा होस् गृह प्रशासन नै जोडिएको थियो। 

यस प्रकरणका अन्य सामग्री

साउन ४, २०८० बिहीबार १२:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।