ब्याच नम्बर ६९ : उच्च सरकारी कर्मचारीले तन्त्रको वाण हानेर प्रतिस्पर्धी मार्न भारतबाट बाबा ल्याए
अहिले एक अभिनेताले आत्महत्या गरेको घटनासँग तन्त्रमन्त्र पनि जोडिएर आयो। मसानमा गएर मध्यरात पूजा गरेको अनि बुटी लगाएको घटना सार्वजनिक भयो। आत्महत्या र यो पूजाको सम्बन्ध के छ भनेर प्रहरीले अनुसन्धान गरिरहेकै होला। तर, प्रहरीले यस्ता अन्धविश्वासलाई पनि गम्भीर रूपमा हेर्नुपर्छ।
केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख भएको बेलामा यस्तै एक अन्ध विश्वाससँग जोडिएको गम्भीर अपराधको अनुसन्धान गर्नुपरेको थियो। उजुरी जिल्ला प्रहरी कार्यालय धादिङमा परेको थियो। तर, त्यसमा अपहरणसँगै मानव बलि नै जोडिएपछि प्रहरी महानिरीक्षकको सचिवालय हुँदै अनुसन्धानको जिम्मा सीआईबीमा आएको थियो।
उजुरी अनुसार एक युवतीलाई उनकै दाइ नाता पर्नेसहितले बन्धअक बनाएर कोठामा राखे। नागार्जुन क्षेत्रमा उनीहरूले कोठा लिएर युवतीलाई १८ दिनसम्म कोठामा बन्धक बनाएर त्यहाँ एक आफूलाई तान्त्रिक हुँ भन्ने भारतीय नागरिक पनि थिए।
उनीहरूले बनमान्छेको हड्डी जगाउने भन्दै युवतीलाई निरन्तर पूजा गराउने गरेका थिए। जब पूजाको अवधि सकिन्छ अनि ती युवतीको बलि दिने उनीहरूको योजना रहेछ।
अन्धीविश्वास पनि कस्तो भने बन मान्छेको हड्डीको निरन्तर पूजा गरेर युवतीको बलि दियो भने त्यो जाग्ने अनि हड्डी जागेपछि चमत्कार हुने भ्रम रहेछ उनीहरूमा।
लगातार १८ दिनसम्म बन्धक बनाएर दिनकै हड्डीमा पूजा गराउन लगाउँदा युवतीलाई शंका लागेछ। धन्न उनीहरूको आपराधिक योजना सफल हुनुभन्दा अगाडि नै युवती बन्धक बनाएको कोठाबाट भागेर जिल्ला जान सफल भइन्।
उनको उजुरीको आधारमा अनुसन्धान अगाडि बढाउँदा तान्त्रिक भनिने तानु पहरी अनि ती युवतीका दाइ भनिने ओमकार शाह पक्राउ परे। प्रहरीले हड्डी जागेमा जुवा खेल्दा सधैँ जितिने, चावी नै नभई जुन भन्यो त्यही ताल्चा खुल्ने जस्ता भ्रममा पारेर युवती ल्याउन भनेका रहेछन्।
उनीहरूले बलि दिने योजना अनुसारै सजिलो हुन्छ भनेर नागार्जुन क्षेत्रमा कोठा भाडामा लिए। तान्त्रिकको योजनाअनुसार शाहले आफ्नै गाउँकी बहिनी नाता पर्नेलाई धादिङबाट फकाएर काठमाडौं ल्याएर कोठामा बन्धक बनाएको देखिएपछि दुवै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा मुद्दा चलेको थियो।
एक १७ वर्षीया युवतीलाई मोडल बनाउने भनेर भारतमा लगेर बलि दिने प्रयास गरेको घटना पनि केही वर्षअघि सार्वजनिक भएको थियो। त्यसको मैले अनुसन्धान गरेको हैन। तर, त्यो घटनाले अन्धविश्वासले कुन हदसम्मको गम्भीर अपराध निम्त्याउन सक्छ भन्ने देखाउने भएकाले त्यो घटना पनि उल्लेख गर्न मन लाग्यो।
नेपालमा मोडलिङमा संलग्न युवतीलाई परिचित महिलाले भारतमा लगेर मोडलिङमा स्थापित हुन सघाउने भनेर फकाइन्। ती युवती पनि तयार भइन्। ती महिलाले भारतमा आफ्नो मोडलिङ एजेन्सी नै भएको भनेर फकाएकी थिइन्।
जसले ती युवतीलाई भारत लैजान फकाइन् उनले नेपालमा पनि फेसन हाउस चलाइरहेकी थिइन्। ती युवतीले पत्याइन् पनि। उनीसँग माछामासु खाने कि नखाने, देवी बन्ने कि नबन्ने जस्ता प्रश्न सोधिएपछि उनको मनमा शंका लाग्यो। मोडल बन्न माछामासुको के सम्बन्ध हुन्छ र!
धन्न बेलैमा शंका लागेर युवतीले प्रहरीलाई खबर गर्दा विराटनगर पुर्याइसकेकी युवतीको उद्धार भयो र घटनामा संलग्नहरू पक्राउ परे। प्रहरी अनुसन्धानमा त जसले उनलाई भारत लैजाने भनेर लगेका थिए उनीहरूले बलिका लागि १२ लाख भारतीय रुपैयाँमा ती युवतीलाई बेच्न लैजान लागेको खुलेको थियो।
यसले नै कहिलेकाहिँ अन्धविश्वासले कुन तहको गम्भीर अपराध निम्त्याउँछ भन्ने देखाउँछ। यस्ता घटनाको प्रकृति नै यस्तो हुन्छन् कि झट्ट पत्याउन गाह्रो हुन्छ। तर, घटना भइरहेका हुन्छन्। मुख्यत: मधेसमा मानव बलिकै घटनाहरू अलि बढि देखिन्थे। शक्तिशाली भइन्छ भनेर तान्त्रिक भन्नेले भनेको भरमा आफ्नै नाबालक सन्तानको बलि दिएको घटनाहरू समेत सार्वजनिक भएका थिए।
यो त भयो आम नागरिकको कुरा। आम नागरिक मात्रै हैन हामीले पत्याउनै नसक्ने शक्तिशालीहरू पनि यस्तो अन्धविश्वासको पछि लागेका घटनाहरू छन्। बाबा भनिनेहरूको पछि लाग्ने लाइन त्यही अन्धशविश्वासको प्रमाण त हो नि!
यस्तै एक शक्तिशाली व्यक्ति अन्धविश्वासमा परेको घटना पनि उल्लेख गर्न मन लाग्यो। व्यक्ति भन्दा पनि प्रवृत्तिबारे उल्लेख गर्न चाहेकाले मैले ती व्यक्तिको नाम भने उल्लेख गरिनँ।
२०४६ को राजनीतिक परिवर्तनपछि नेताहरूबारे जासुसी गर्न तत्कालीन विशालबजारको माथिल्लो तलामा फोन ट्याप गर्ने मेसिनहरू राखेर फोन रेकर्ड गर्ने गरेको सूचना आयो। त्यही आधारमा प्रहरीले छापा मारेर त्यस्ता सामानहरू बरामद गरेको थियो।
त्यो बेलामा अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो। तर, काठमाडौंबाहिर हुनुहुन्थ्यो। सामान जफत गरेपछि दरबार सक्रिय हुने नै भयो।
दरबारले ती सबै सामान आफैँले माग्न सकेन। उसले सेना प्रयोग गर्यो। सेनाले मागे लगत्तै प्रहरीको तत्कालीन निमित्त प्रहरी प्रमुखले सबै सामान सेनालाई जिम्मा लगायो। पछि खरेल सर काठमाडौं आएपछि सामान फिर्ता गरेकोमा धेरै रिसाउनुभयो।
त्यो फोन ट्याप दरबारकै निर्देशनमा भएको थियो। त्यो ट्यापिङ सुन्नेमध्येका एक जनाले मसँग केही संवादहरू भनेका थिए। त्यो बेलामा गिरिजाप्रसाद कोइरालाको टेलिफोन संवादबारे पनि सुनाएका थिए। तर, मैले बिर्सिए त्यो संवाद। अनेक संवादमध्ये एउटा रोचक संवाद चाहिँ तान्त्रिक सम्बन्धी भएकाले अझै याद छ।
एक जना उच्च तहकै व्यक्तिले तन्त्रमन्त्रबाट कसैको हत्या गरेर सो पदमा आफू जान भारतबाट तान्त्रिक बाबा ल्याएका रहेछन्। बाबाको नाम पनि ‘बाल्टी बाबा’। तन्त्रमन्त्र गराएर एक व्यक्तिलाई खुत्रुक्कै ढाल्ने भनेर पशुपतिमा ल्याएर राखेको खुल्यो।
जो व्यक्तिले भारतबाट बाल्टी बाबालाई नेपाल ल्याएका थिए उनको फोन पनि टेप भइरहेको रहेछ। उनी र बाल्टी बाबाबीच टेलिफोनमा हुने कुराकानी पुरै सुनेर बसेका रहेछन्।
भारतबाट बाबा ल्याए। उनले पशुपतिमा बसेर तन्त्र साधना गर्दै मन्त्रको वाण हान्ने रहेछन्। तर, जसलाई अहित गर्न मन्त्रको वाण हानिएको हो उनलाई कुनै नकारात्मक प्रभाव परिरहेको थिएन।
टेलिफोनमा दुवैबीच यसबारे कुरा हुने रहेछ। जसले बाबालाई ल्याएको हो उनले खै त कामै भएन भन्दै गुनासो गर्ने रहेछन्। अनि उता बाल्टी बाबाले चाहिँ वाणले पनि काम गरिरहेको अनि उता भारतमा कांग्रेस नेतृ सोनिया गान्धीसम्म पनि यसबारे कुरा भइरहेको भन्दै फकाउने रहेछन्।
जसले वाण हान्न बाबा ल्याएका थिए ती पनि जिवितै छन् अनि जसलाई वाण हानिएको थियो ती व्यक्ति पनि जिवितै छन्।
यी सबै प्रसङ्ग कलाकार सारुक ताम्राकारकै घटनाले सम्झायो मलाई। उनीबारे समाचार आएपछि पढे। राम्रै करिअर भएका कलाकार रहेछन्। परिवार पनि राम्रै रहेछ। तन्त्रमन्त्रतिर पनि लागेका रहेछन्। सुन्दा अचम्म लाग्यो।
घटना के हो त्यो अनुसन्धानले खुलाउला नै। यस्तो अन्धविश्वासको पछि लाग्नु हुन्न है भन्ने सन्देश दिन पनि प्रहरीले यस पाटोको समेत अनुसन्धान गर्नैपर्छ।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
साउन ३, २०८० बुधबार २०:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।