विराट बन्दैछन् ५०० औं अन्तर्राष्ट्रिय खेल खेल्ने चौथो भारतीय, सचिन तेन्दुलकरको रेकर्ड तोड्ने मौका

विराट बन्दैछन् ५०० औं अन्तर्राष्ट्रिय खेल खेल्ने चौथो भारतीय, सचिन तेन्दुलकरको रेकर्ड तोड्ने मौका

भारत र वेस्ट इन्डिजबीच भोलिदेखि सुरु हुने दोस्रो टेष्ट खेल भारतीय स्टार विराट कोहलीको करियरको ५०० औं अन्तर्राष्ट्रिय खेल हुनेछ।

विराट यो माइलस्टोनमा पुग्ने भारतका चौथो र विश्वका १० औं खेलाडी बन्नेछन्। विराटअघि ६ ब्याट्सम्यान र ३ अलराउन्डरले ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

विराट ठ्याक्कै ५०० खेल खेलेर सबैभन्दा धेरै रन बनाउने स्टारको सूचीमा नम्बर १ हुने पक्का छ। विराटले अहिलेसम्म ४९९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा ११० टेस्ट, २७४ एकदिवसीय र ११५ टी-२० छन्।

यी सबै खेलमा विराटले ५३.४८ को औसतमा २५ हजार ४६१ रन बनाएका छन्। जसमा उनले ७५ शतक र १३१ अर्धशतक प्रहार गरेका छन्। 

विराट ५ सय खेलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बन्नेछन्। उनले ४९९ खेलमा सचिन तेन्दुलकर, रिकी पोन्टिङ, महेला जयवर्धने, सनथ जयसूर्या र ज्याक कालिसजस्ता महान ब्याट्सम्यानलाई पछाडि छोडेका छन्।

विराटले अहिलेसम्म २५ हजार ४६१ रन बनाएका छन्। जुन अन्यको तुलनामा धेरै हो। अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले पनि ५०० खेलमा २५ हजार ३५ रन बनाएका छन्।

विराटको ब्याटबाट अहिलेसम्म ७५ शतक बनिसकेका छन्। सचिन तेन्दुलकरले पनि ५०० खेलमा यति नै शतक बनाएका छन्। अर्थात् वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरे विराटले सचिनलाई पछाडि छोड्नेछन्।

साउन ३, २०८० बुधबार ०८:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।