युक्रेनले हामीविरुद्ध क्लस्टर बम प्रयोग गरे कडा जवाफ दिन्छौँ : पुटिन

युक्रेनले हामीविरुद्ध क्लस्टर बम प्रयोग गरे कडा जवाफ दिन्छौँ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई क्लस्टर बम दिने अमेरिकाको निर्णयको आलोचना गरेका छन्।

पुटिनले अमेरिकाका सबै हतियार सकिएको पनि बताएका छन्। यही कारण उसले (अमेरिका) अब युक्रेनलाई प्रतिबन्धित हतियार आपूर्ति गरिरहेको उनको आरोप छ। 

रुसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले 'युक्रेनले हाम्रोविरुद्ध क्लस्टर बम प्रयोग गरे कडा जवाफ दिन्छौँ'  भनी बताएका थिए। रुससँग पनि क्लस्टर बम रहेको दाबी गर्दै उनले अहिलेसम्म युद्धमा प्रयोग नगरेको भने बताएका छन्। 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार युक्रेनलाई क्लस्टर हतियार हस्तान्तरण गरेको बताएको थियो। लेफ्टिनेन्ट जनरल डगलस सिम्सले युक्रेनलाई बम पुर्याइएको बताएका थिए।

युक्रेनी ब्रिगेडियर जनरल ओलेक्सान्डर टार्नाभस्कीले पनि सीएनएनलाई दिएको अन्तर्वार्तामा यसको पुष्टि गरेका छन्।

अमेरिकाले आफूलाई हतियार दिएको तर अहिलेसम्म प्रयोग नगरेको युक्रेनले बताएको थियो। युक्रेनलाई क्लस्टर बम दिएकोमा अमेरिकाका छिमेकी राष्ट्रहरूले पनि आपत्ति जनाएका थिए।

असार ३१, २०८० आइतबार २१:०६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।