मूल्य अचाक्ली भएपछि ८० रुपैयाँ प्रतिकिलोमा टमाटार बेच्दै भारत सरकार

मूल्य अचाक्ली भएपछि ८० रुपैयाँ प्रतिकिलोमा टमाटार बेच्दै भारत सरकार

सर्वसाधारणलाई राहत दिन भारतको केन्द्र सरकारले आज आइतबारदेखि टमाटर प्रतिकिलो भारु ८० रुपैयाँमा बिक्री गर्न थालेको छ।

भारत सरकारले देशभरका ५०० भन्दा बढी स्थानमा मूल्य निर्धारण गरेपछि १६ जुलाईदेखि प्रतिकिलो ८० रुपैयाँमा टमाटर बिक्री गर्ने निर्णय गरेको छ। 

आजदेखि दिल्ली, नोएडा, लखनऊ, कानपुर, वाराणसी, पटना, मुजफ्फरपुर र आराहमा भारतको राष्ट्रिय सहकारी उपभोक्ता महासंघ (नाफेड) र भारतको राष्ट्रिय कृषि सहकारी बजारीकरण महासंघ (एनसीसीएफ) मार्फत बिक्री सुरु भएको छ। 

थोक मूल्यमा कमी आएपछि मूल्य घटेको सरकारले जनाएको छ। भारतको सरकारी तथ्यांकअनुसार हाल टमाटरको औसत मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ छ।

दिल्ली नेसनल क्यापिटल रिजन (एनसीआर)मा शुक्रबारदेखि शनिबारसम्म करिब १८ हजार केजी टमाटर मोबाइल भ्यानमार्फत प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको थियो।

अर्कोतर्फ खुद्रा बजारमा टमाटरको मूल्य दिल्लीमा प्रतिकिलो १७८ रुपैयाँ, मुम्बईमा १५० रुपैयाँ र चेन्नईमा प्रतिकिलो १३२ रुपैयाँ छ। हापुरमा टमाटरको अधिकतम मूल्य रु २५० प्रतिकिलो छ।

असार ३१, २०८० आइतबार १६:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।