पर्यटन व्यवसायी शर्मिलाको प्रसव पीडा र खुशी : लामखुट्टेले टोकेपछि डाक्टरले त गर्भपतन नै गर्नुपर्छ भन्नुभयो

पर्यटन व्यवसायी शर्मिलाको प्रसव पीडा र खुशी : लामखुट्टेले टोकेपछि डाक्टरले त गर्भपतन नै गर्नुपर्छ भन्नुभयो

शर्मिला काफ्ले छोटो समयमै सफल भएकी पर्यटन व्यवसायी हुन्। विशेषगरी भारतीय पर्यटक लक्षित उनको आफ्नो ट्राभल एन्ड टुर एजेन्सी छ।

आफै पनि भारतमा जन्मिएको र लामो समय त्यतै बसेको हुँदा शर्मिलालाई भारतीय पर्यटक आकर्षित गर्ने तरिका अरूलाई भन्दा धेरै थाहा छ। 

पर्यटक 'गाइड’ का रूपमा यस क्षेत्रमा प्रवेश गरेकी उनले कस्मेटिक पसल र पढाउने काम गर्दागर्दै स्कुलसम्म चलाइन्। सानैदेखि घुमफिर मन पर्ने उनलाई पर्यटकीय क्षेत्रले आकर्षित गरिरह्यो। अनि यसमै लागिन्। सन् २०१४ मा लाइसेन्स निकालेकी उनले एक दशक पनि नपुग्दै आफूलाई सफल पर्यटन व्यवसायी सावित गरिसकिन्। 

सानो उमेरमा विवाह अनि बच्चा जन्माएकी पनि उनलाई करिअरमा बाधा आउन नदिएकी उनै शर्मिलाले उकेरासँग यसरी आफ्नो प्रसव पीडा र खुसी साटिन्।  

०००

केरलामा नै मेरो बाल्यकाल बित्यो। प्लस टु भर्खरै मात्र जोइन गरेको थिएँ। विवाहको कुरा चल्यो। १७ वर्षको थिएँ, विवाह हुँदा। त्यति बेला माग्न आउनुभयो। ह्याण्डसम, गुड लुकिङ देखेर ल हुन्छ भनेँ। त्यतिबेलासम्म खासै प्रेम विवाह गर्ने सोच पनि थिएन। त्यै भएर माग्न आउँदा नै राम्रो/नराम्रो थाहा नभए पनि आमाबाले भनेको भनेर मानेँ। 

भाग्यले अहिलेसम्म राम्रै छ। इन्डियामा मे दिवसको दिनमा हाम्रो 'स्टेज म्यारिज' भयो। त्यहाँका नेपालीबीच संगठन विवाह भयो। बिहे भएको अर्को वर्ष नै बच्चा पनि भयो। तत्काल पाउने योजना थिएन। तर, पनि बच्चा आइसकेपछि नकार्ने कुरा भएन। त्यो उमेरमा के नै थाहा हुन्थ्यो र ! बच्चाले बच्चा पाएको भन्ने जसो भयो। 

परिपक्व भएको भए अलि राम्रोसँग ह्यान्डल गर्न सक्थेँ कि भन्ने जस्तो पनि लाग्छ। तर, जे भए पनि राम्रै भयो। पहिलो तीन महिना बिरामी भएँ। टाइफाइड र मलेरिया सँगै भयो। १५ दिन हस्पिटलमै बस्न पर्यो। तर, बच्चालाई भने केही असर गरेन। सुरुको तीन महिना बान्ता हुने त भयो नै। 

टुर गएकाले लामखुट्टेले टोकेर केही महिना कमजोरी भयो। डाक्टरले त गर्भपतन नै गर्नुपर्छ भन्नुभएको थियो। तर, परेन। पाँच/छ महिना भएपछि खाना रुच्न थाल्यो। तौल हल्का बढेको थियो। हात गोडा पनि त्यस्तो धेरै चै सुन्निएन। प्रेग्नेन्ट भएको आठ महिनामा म १२ कक्षाको जाँच दिन गएँ। 

अन्तिम अन्तिम अवस्थामा आउँदा बच्चा चल्न थालेको थियो। त्यतिखेर रमाइलो पनि लाग्थ्यो। अहिले लगभग २४ वर्ष भइसक्यो। तर, केही भने अझै नि याद छ। हामी घरमा बेलाबेलामा यस्तो कुरा पनि गर्छौं। त्यसबेला परिवारभन्दा पनि छिमेकीहरूका साथ भयो। म धेरै हिँड्ने भएर होला, बच्चा पनि नर्मल नै भयो। 

व्यथा पनि धेरै समय भएन। हस्पिटल गएको तीन घण्टामै बच्चा भयो। घरदेखि नै व्यथा लाग्न थालेको त थियो, तर रगतजस्तै देखिन थालेपछि हस्पिटल गएका थियौं। नौ महिनासम्म शारीरिक र मानसिक रूपमा यस्तो असर गर्ने रहेछ कि म त आफै झन् बलियो भएँ। मानसिक रूपमा तयारी भएर होला दुखाइ पनि सजिलै सहन सकेँ। 

किनभने नर्मली ढाड, कम्मर दुख्ने भनेको त सुन्दै आएको हो। तर लगातार दुखी नै रह्यो मलाई त। सधैँ दुखेको भएर होला यो त यस्तै हो भन्ने पो भएछ। त्यै भएर दुखाइ नघटे पनि त्यसलाई कसरी सहने भन्ने पो भयो। नानी पाउनुभन्दा अगाडि दुई घण्टाचाहिँ धेरै नै गाह्रो भयो।

हस्पिटल पुग्दा त्यहाँको वातावरण ले झनै तर्सायो। जताततै महिलाहरू कराइरहनुभएको थियो। रोइरहनुभएको थियो। 
त्यो देख्दा त ओहो ! ठूलो दुखाइ त अझै बाँकी छ कि क्या हो भन्ने पो भयो। अनि त्यस्तो हुँदाहुँदै नानी पाइहालेँ।

त्यसपछि भने निद्रा लाग्यो। एकदम हल्का भयो। भोक लाग्यो। खान खाएँ। दुई दिनसम्म त हस्पिटल नै बसेँ। इन्डियामा यहाँको जस्तो सुत्केरी स्याहार भन्ने हुँदैन। पटुका बाँध्ने भन्ने पनि भएन। घिउ, ज्वानो केही खाइनँ। बस समयमा खाना खानुपर्छ भन्ने भयो। अनि सुपहरू मात्र खान्थेँ। विशेषगरी मटन सुप। 

सुत्केरी भनेर पनि बसिनँ। छिट्टै निको भइसकेको थिएँ। स्तनपान पनि आठ महिनासम्म मात्र गराउन पाएँ। त्यसपछि मलाई जन्डिस भयो। स्तनपान नै रोकियो। सुरुसुरुमा त आमाहरूले नि कसरी खुवाउने भनेर सिकाउनुभयो। बच्चाले लिन नमान्ने भने हुन्छ, तर उसले राम्रोसँग लियो। 

दुई वर्षसम्म म ऊसँग बसेँ। त्यसपछि मैले पढाइलाई निरन्तरता दिए। नानी मेरो आमाबासँग बस्न थालिन्। सुरुसुरुमा छुट्टिँदा त बिछट्टै याद आयो। त्यो अर्कै खालको बेचैनी हुनेरहेछ। आफ्नो हजुरबा, हजुरआमालाई चै 'ममी बाबा' भन्थी। अनि हामीलाई त 'दिदी भिनाजु' पो। 

घरमा मेरो भाइबहिनी पनि साना भएककाले उनीहरूसँग हुर्किँदै गर्दा म पनि उसको दिदी जस्तो लागेको हुन सक्छ। 

पछि बुझिहाल्छ भन्ने भयो। पढाइ सकेपछि त सँगै बस्यौं। अहिले मेरो काममा पनि हेल्प गर्छे। आफै पनि इञ्जिनियरिङ गर्दै छे। कन्सल्टेन्सी चलाएर बसिरहेकी छ। 

नेपाल आएदेखि यताको यतै भइयो। हाम्रो हजुरबा, हजुरआमा सबै यतैको हो। यता आएर स्नातकोतर पनि गरेँ।

करिअरमा फोकस गर्दागर्दै अर्को बच्चाबारे सोच्दा पनि सोचेनौँ। अब पाउने सोच पनि छैन। तर, कहिलेकाहीँ यसो सोच्दा अझै एउटा भएको भए हुनेजस्तो लाग्छ। उसलाई पनि साथी हुन्थ्यो कि भन्ने लाग्छ। 

तर, उनले कहिल्यै गुनासो गरिनन्। घरमा मेरा भाइबहिनी साना भएको भएर पनि उसलाई उनीहरूसँगै रमाइलो लागेको पनि हुन सक्छ। तर, पनि दुइटासम्म चै हुनुपर्ने रहेछ भन्ने लाग्छ। बच्चा भएपछि धेरै कुरामा सम्झौता पनि गर्नुपर्ने रैछ।

श्रीमान् श्रीमतीको सम्बन्धमा पनि एक प्रकारको मिठास त हुने नै भयो। सम्बन्ध जति पुरानो त्यति बलियो पनि हुने रहेछ। 

अहिले इन्डिया त टुर प्रमोशनका लागि मात्र जाने गरेको छु। धेरैले कत्ति छिटो बिहे गरेको, बच्चा पाएको भन्थे। तर, छिट्टै गरेर राम्रै भयो जस्तो लाग्छ। सबै भइसकेपछि आफ्नो करिअरमा मात्र फोकस गर्न पनि पाएँ।

नत्र यो उमेरमा बच्चा छ भनेर बसिरहनुपर्थ्यो। परिवारको सपोर्टबिना यो सम्भव भने हुँदैन थ्यो। अहिले आफ्नो प्यासन भएको काम गर्न पाउँदा खुशी नहुने कुरै भएन।

यो पनि

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

असार ३१, २०८० आइतबार १६:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।