बाढीको स्थलगत निरीक्षण गर्न गएका सांसदलाई पीडित महिलाले हानिन् थप्पड

बाढीको स्थलगत निरीक्षण गर्न गएका सांसदलाई पीडित महिलाले हानिन् थप्पड

एजेन्सी : भारतको हरियाणा राज्यको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले स्थलगत निरीक्षणमा आएका सांसदलाई थप्पड हानेकी छन्।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला जननायक जनता पार्टी ‘जेजेए’ का सांसद ईश्वर सिंहलाई बुधबार ती महिलाले थप्पड हानेकी हुन्।

बाढीपीडित महिलाले ‘तिमी किन आएको अहिले?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी थिइन्। पानीको समुचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन्। यसपछि सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए।

हरियाणामा अविरल वर्षाका कारण आएको बाढीमा परेर हालसम्म १० जनाको ज्यान गएको छ। मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख राहतस्वरुप प्रदान गरिने घोषणा गरेका छन्।

विगत चार दिनदेखि आएको बाढीका कारण भारतमा हालसम्म ९१ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएका छन्।

असार २८, २०८० बिहीबार १४:४३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।