ब्याच नम्बर ६९ : थुनुवाले उल्टो प्रहरीको सुरक्षा गर्नुपर्ने भएपछि...

ब्याच नम्बर ६९ : थुनुवाले उल्टो प्रहरीको सुरक्षा गर्नुपर्ने भएपछि...

अपराध अनुसन्धान लगायतका धेरै अनुभवहरू लेखिरहेको छु। एसएसपी हुँदाका अनुभवहरू लगभग सकिए।

अब डीआईजी हुँदाका केही अनुसन्धानका पाटा अनि केही अनुभव लेख्नेछु। यो पटक चाहिँ एउटा रमाइलो घटना लेख्न मन लाग्यो। घटना सामान्य नै हो। तर, त्यसले संकटको बेलामा मान्छेले कस्तो व्यवहार गर्छ भन्ने साइकोलोजी देखाउने भएर लेख्न मन लागेको हो।

त्यो बेलामा अपराध महाशाखाको कार्यालय हनुमानढोकामा थियो। हनुमानढोकाको भैरवको मुर्तिको उत्तरतिरको पुरानो भवनमा पहिल्यैबाट काठमाडौं हेर्ने प्रहरीको कार्यालय त्यही थियो। जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं हुँदै अहिले कार्यालयको नाम जिल्ला प्रहरी परिसर काठमाडौं भएको छ।

कार्यालय परिसर त्यति फराकिलो हैन। कोचाकोच हुने भने पनि हुन्छ। सबैभन्दा तल थुनुवा कोठा थियो। पहिलो तलामा जिल्ला प्रहरी कार्यालय अनि तेस्रो तलामा अपराध महाशाखाको कार्यालय। छतमा महाशाखाकै सोधपुछ गर्ने कोठा थियो। महाशाखाको क्यान्टिन पनि छतमै।

माथि छतमा बसेर बसन्तपुरको दृश्य हेर्न बढा मजा आउने। तर भवन निकै पुरानो। हिँड्दा पनि हल्लिनेखालको। बरन्डामा कोही जाँदा खस्लान् कि भन्ने डर हुने। तर, सरकारले त्यस्तैमा बस् भनेर दिएकाले हाम्रो विकल्प के नै हुन्छ र! दैनिक सयौँको आवाजजावत हुने भवनमै दुवै महत्वपूर्ण कार्यालय थियो। कतिखेर दुर्घटना हुने हो भन्ने त्रासमै रहेर काम गर्थे प्रहरी कर्मचारी।

कार्यालयमा बसिराखेको थिए। भोक लागेकाले भुटेको चना मगाएँ। कोठामा एक्लै नै थिएँ त्यो बेलामा। यसो भवन हल्लिएजस्तो लाग्यो। कहिलेकाहिँ बाहिर ट्रक आउँदा भवन हल्लिन्थ्यो पनि। सेनाको आवतजावत हुँदा कहिलेकाहीँ ट्रक आउथ्यो पनि।

भवन त मज्जाले हल्लिन पो थाल्यो। ट्रक मात्र हिँड्दा यसरी त हल्लदैनथ्यो। भूकम्प आएको रहेछ। यो वैशाख १२ को घटना हैन है। त्यो भन्दा अगाडिको नै हो। वैशाख १२ को भूकम्पको बेलामा त म केन्द्रीय अनुसन्धान ब्यूरो पुगिसकेको थिएँ।

भवन हल्लिन थालेपछि मनमा डर लाग्ने नै भयो। झट्ट मनमा थुनुवा कोठाको याद आयो। त्यो त भित्रै त्यसमा पनि छिँडिमा थियो। काठमाडौं प्रहरी अनि अपराध महाशाखा दुवैको संयुक्त थुनुवा कोठा भएकाले दुवै कार्यालयले अनुसन्धान प्रक्रियामा थुनामा राखेकाहरू त्यहीँ थिए। त्यो बेलामा कोठामा तीन सय जति थुनुवा थिए होलान्।

घर भत्कियो भने ती सबैको ज्यान जोखिममा पर्ने पक्का थियो। भौतिक संरचनाका कारण चान्सै थिएन। आफू कोठाबाट बाहिर निस्किने त कुरै भएन। अब के गर्ने भन्ने सोच्नै समेत सकिएन। कुर्सीबाट ज्यानै उठेन। उठेर पनि के गर्ने? बरन्डा निकै साँघुरो। तल झर्ने भर्याङ सिधै ठाडो। सामान्य अवस्थामा झर्दा र गर्ल्यामगुर्लुम हुने हो कि भन्ने डर हुन्थ्यो।

कोठाबाट निस्किएर पनि गर्ने के? भवन ढल्ने नै अवस्था हो भने सकुशल बाहिरसम्म पुग्दा ढलिहाल्थ्यो। यस्तै कुरा मनमा खेलिराख्यो।

एकाएक तत्कालीन डीएसपी राजकुमार लम्साल मेरो कोठामा आइपुगे। उनले ‘सर घर त हल्लिन थाल्यो बाहिर जाऊँ’ भने। मैले ‘बाहिर भागेर के गर्ने? भवन भत्किए जाँदाजाँदै नै पुरिइहालिन्छ, बरु थुनुवालाई बाहिर कसरी निकाल्ने सोचौँ’ भने।

हामी दुई जना कुरा गरिरहेकै थियौ, अर्को डीएसपी दिप्ती कार्की पनि आइपुगिन्। उनी कोठामै बसिन्। तीनै जना ढोकाको कापमा उभियौँ। कमसेकम ढोकाको फ्रेमले त जोगाउँछ नि! धन्न भवन केही भएन। विस्तारै हल्लाउन छाड्यो।

मेरो कार्यकक्षबाटै बाहिर देखिन्थ्यो। बाहिर हल्लाखल्ला थियो। बाहिरको माहोल के रहेछ भनेर यसो हेरेको त अधिकांश प्रहरी कर्मचारी कार्यालय बाहिर पुगिसकेका रहेछन्। बाहिर खाली ठाउँ भरिएको थियो।

प्रहरी मात्र हो र, केहीको हातमा त हत्कडी पनि थियो। भनेपछि ती थुनवा थिए। सँगै प्रहरी उभिएका थिए तर उनीहरूको ध्यान थुनुवातिर थिएन। थुनुवा पनि कतै हलचल नगरी उभिइरहेका थिए।

जुन बेलामा भूकम्प आयो त्यो बेलामा ठ्याक्क थुनुवाहरूलाई अदालतबाट लिएर आएका रहेछन्। अदालतबाट थुनुवाहरूलाई हातमा हत्कडी लगाएर लिएर आउनु र भूकम्प आउनु एकै समयमा भएछ। थुनुवा भित्र कोठामा लैजान गाडीबाट ओराल्दाओराल्दै हल्लाउन थालेपछि सबै टाप।

उनीहरूको सुरक्षामा खटिएका प्रहरी पनि भागेर कार्यालय बाहिर गए। अनि उनीहरू सँगसँगै थुनुवा पनि भागेर बाहिर गए। बाहिरबाट प्रहरी अनि थुनुवा कतिखेर पुक्लुक्क ढल्ने हो जस्तै गरेर भवनतिर हेरिरहेका थिए।

प्रहरीको ध्यान थुनुवामा हैन भवनतिर। अनि थुनुवाहरू पनि चुपचाप प्रहरी कर्मचारीसँगै उभिएर भवनतिरै हेरिरहेका थिए। त्यो बेलामा चाहेको भए थुनुवाहरू टाप कस्न सक्थे। तर कोही भागेनन्।

दृश्य प्रहरीले थुनुवाको सुरक्षा गरेको हैन कि थुनुवाले प्रहरीको सुरक्षा गरेको जस्तो देखिएको थियो। त्यो दृश्य देखेर रमाइलो लाग्यो। थुनुवा भागिदेलान् र आपत् आइलाग्ला भनेर माथिबाटै ‘थुनुवा हेर थुनुवा’ भनेँ। बल्ल प्रहरी यताउता हेर्न थाले। थुनुवाहरू चुपचापै थिए।

केहीबेरमै प्रहरी सेटमा भूकम्पबाट कहाँ के भयो भनेर जानकारी आउन थाल्यो। कहाँ भवन भत्कियो अनि कहाँ कति घाइते भए भनेर सूचनाहरू आउन थाले। सबैभन्दा पहिलो घाइतेबारे आएको सूचना रत्नपार्कको दरबार हाइस्कुल नजिकैको घटनाको थियो।

भूकम्प आउँदा कोही आकाशेपुलबाट बाटो काट्दै रहेछन्। हल्लाउन थालेपछि माथिबाट सडकमै हाम फालेछन्।  घाइते भएको खबर आएको थियो। प्रहरीले रेस्क्यू गरेर वीर अस्पताल पूर्याए। अन्तबाट पनि घाइते र क्षतिको विवरणहरू आउन थाले।

२०७२ को भूकम्पको बेलामा म सीआईबीमा पुगिसकेको थिए। सीआईबीको कार्यालय प्रहरी प्रशिक्षण प्रतिष्ठान नजिकै थियो। हनुमानढोकाको जस्तो धराप थिएन। नजिकै खुल्ला चौर पनि थियो।

तर, २०७२ को भूकम्पमा पनि हनुमानढोकाको धराप भवनको याद आयो। धरहरा भत्किएको लगायतका सूचनाहरू आउन थालेपछि त्यो भवन त ढल्यो होला भन्ने लागेको थियो। तर ढलेनछ त्यत्रो भूकम्पमा पनि। भनेपछि धराप जस्तै देखिए पनि भवन बलियै रहेछ।

तर, भूकम्पबाट हनुमानढोकाको भवन बस्न लायक भने रहेन। पछि काठमाडौं हेर्ने परिसर अनि अपराध महाशाखा पनि टेकुमा साल्ट ट्रेडिङको भवनमा गएर बसे। जिल्ला प्रहरीको कार्यालय त अहिले पनि टेकुमै छ। महाशाखाको नाम बदलिएर अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भएको छ। त्यो चाहिँ मीनभवनमा सरेको छ।

हनुमानढोकामा कहिलेदेखि प्रहरी कार्यालय बस्यो भन्ने एकीन विवरण जानकारी भएन। प्राय प्रहरी कार्यालय पाटीपौवा वा सार्वजनिक स्थानमै राख्ने प्रचलन अझै हराएको छैन। त्यो बेलामा पनि हनुमानढोका क्षेत्रमा रहेको सार्वजनिक पाटीबाट शुरू भएको कार्यालय अहिलेको स्वरूपमा आएको हुनसक्छ।

कतै-कतै त्यो कार्यालयको पहिलाको नाम ‘पुलिस गोश्वारा हनुमानढोका’ भन्ने थियो भन्ने पनि सुनिन्छ। यदि हो भने त यो १९७२ सालतिरकै कुरा हुन्छ। यसको आधारमा हेर्दा त्यो भवनको उमेर ८८ वर्षजति त देखिन्छ। भनेपछि त्यसले सन् १९९० को भूकम्प पनि पचाएको भवन।

हनुमानढोका क्षेत्र विश्व सम्पदा सूचीमा रहेको क्षेत्र हो। प्रहरी कार्यालय नै त्यहीँ हुँदा सम्पदा संरक्षणमा सकारात्मक प्रभाव पर्छ नै। तर, स्थान र भवनको अवस्थाका आधारमा भने त्यो भवन त्यति उपयुक्त थिएन। आउजाउ गर्न पनि निकै कठिन। सर्वसाधारणलाई आउन पनि सकस।

प्रहरी कार्यालय त्यहाँबाट सार्न पटक-पटक प्रयास भएको पनि हो। केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले सार्ने घोषणा नै गरेका थिए। तर सकेनन्।

त्यसपछि पनि सरकारले एक पटक त कार्यालय सार्न सरकारले जग्गा किन्ने निर्णय समेत गरेको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजेटै छुट्टिएको थियो। तर, पछि युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि हटाइदिएका थिए। कार्यालय सर्न सकेन।

भूकम्पपछि भने त्यो भवनमा प्रहरी बस्ने नसक्ने भयो। नसरी सुखै भएन। प्रहरी सरेपछि त्यहाँ कहिले प्रहरीको इतिहास झल्काउने संग्रहालय बनाउने चर्चा सुनियो त कहिले भूकम्प झल्काउने संग्रहालय बनाउने चर्चा पनि भए। तर, भवन उस्तै छ। अहिले पनि प्रहरीले नै भवनको सुरक्षा गरिरहेका छन्।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

२७ असार, २०८०, १८:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।