तस्बिरमा प्रचण्डपत्नी सीताको अन्तिम बिदाइ

तस्बिरमा प्रचण्डपत्नी सीताको अन्तिम बिदाइ
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई श्वास फेर्न गाह्रो भयो। उनीसँगै रहेकी नर्सले त्यसको जानकारी प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्मालाई दिइन्।

लगत्तै शर्मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे। त्यहाँ गर्नुपर्ने प्रारम्भिक उपचार गरेर उनलाई विहान ८ बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल लगियो। त्यहाँ लगेको केही समयमानै सीताले अन्तिम श्वास फेरिन्। डाक्टरले विहान ८ बजेर ३३ मिनेटमा उनलाई मृत घोषणा गरे।

सशस्त्र द्वन्द्वमा समेत पति प्रचण्डलाई डटेर साथ दिएकी सीताले बुधबार विहान साथ छाडिन्। सीताको निधनको खबर सामाजिक सञ्जाल र मिडियाबाट फैलियो। राजनीतिक दलका शीर्ष नेता तथा उच्च पदस्थ व्यक्ति उनलाई श्रद्धान्जली अर्पण गर्न नर्भिक अस्पताल पुगे।

उनलाई विहान ११ बजे पार्टी कार्यालयमा राखेर दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यतालिका प्रधानमन्त्रीको सचिवालयले बनायो। त्यहिअनुसार सीताको पार्थिव शरीरलाई त्यहाँबाट निकालियो र लगियो कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालय।

पार्टी मुख्यालयमा प्रधानमन्त्री दाहालले पत्नी सीतालाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिए। त्यहाँ सयौंको संख्यामा उपस्थित उच्च पदस्थ व्यक्तित्व, पार्टी नेता तथा कार्यकर्ता र सर्वसाधारणले श्रद्धान्जली अर्पण गरे।

त्यहाँबाट करिब साढे १ बजेपछि सीताको पार्थिक शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगियो। अस्पताल र पार्टी कार्यालयमा छुटेकाहरूले पशुपति आर्यघाटमै अन्तिम श्रद्धान्जली दिन पुगे। हजाराैंको संख्यामा उपस्थितले पनि उनीप्रति श्रद्धान्जली अर्पण गरे।

मन्त्रिपरिषद्को निर्णयअनुसार सीतालाई राजकीय सम्मानका साथ सेनाको टुकडीले अन्तिम सलामी दियो। सरकारका तर्फबाट उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठले राष्ट्रिय झण्डा ओढाए।

त्यसपछि श्रीमान् प्रचण्डसहित छोरीहरू रेनु र गंगाले सीतालाई दागबत्ती दिए। हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टिसहित अन्तिम बिदाइ गरियो।

२७ असार, २०८०, १७:२२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।