एथलेट च्याम्पियन ननिताको प्रसव पीडा र खुसी : छोरा पाएर मोटाएको ज्यान कम गर्न जिम गएको बडिबिल्डर पो भइयो
एथलेट हुन् ननिता महर्जन। सात वर्ष अघि थाइल्यान्डको पतायामा भएको ८ औँ डब्लुबीपीएफ विश्व शारीरिक सुगठन र फिजिक स्पोर्ट्स च्याम्पियनसिपको एथलेट फिजिक (१६५ सेन्टिमिटर) श्रेणीमा कांस्य पदक जितेकी थिइन् उनले।
विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा पहिलो पटक नेपाली महिला खेलाडी सहभागिताहुँदा नै कांस्य पदक जित्दा उनी चर्चित भइन्।
उनलाई बडिबिल्डर भन्छन्। तर,उनी आफू बडी बिल्डर हैन 'एथ्लेट’ मात्र भनेर चिनिन चाहिन्छिन्। उनका अनुसार बडी बिल्डिङलाई छुट्टै आयाम मान्ने गर्छन्।
सन् २०१६ मा भएको मिसेस् काठमाडौँ बडी बिल्डिङ एन्ड वुमन फिटनेस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उनले जितेकी छिन्। सन् २०१७ मा मंगोलियामा भएको विश्व शारीरिक सुंगठन च्याम्पियनसिपमा पनि उनले १ सय ५० सेन्टिमिटर उचाइमा रजत पाइन्।
सन् २०१८ मा उनी प्रतियोगितामा जाने र स्वर्ण नै जित्ने लक्ष राखेकी थिइन्। तर, विश्वव्यापी कोरोना भाइरसले उनको सपना त्यत्तिकै रह्यो । अहिले तत्काल कुनै प्रतियोगितामा भाग लिने तयारी छैन उनको।
भैसेपाटीमा फिटनेस सेन्टर खोलेर उनी सक्रिय छिन्। कीर्तिपुर नगरपालिकाको स्कुल व्यवस्थापन समितिमा सदस्य छिन्। नगरपालिकाको खेलकुद विकास समितिमा पनि सक्रिय रहेकी उनी आमा पनि हुन्। उनले उकेरासँग साटेको प्रसव पीडा र खुसी :
०००
म २३ वर्षको हुँदा नै अन्तर्जातीय विवाह भयो। म महर्जन, श्रीमान् बज्राचार्य। सानैदेखि व्यवहारिक भएर होला त्यस्तो चुनौती भोग्नु परेको छैन जीवनमा।
विवाह गरेको अर्को वर्ष छोराको जन्म भइसकेको थियो। सुरुमा त प्रेगनेन्ट भएको पनि थाहा भएन। ज्वरो आइरहन्थ्यो। पछि टन्सिल पनि भएछ। त्यही बेलामा एकदम धेरै बान्ता पनि भयो। ज्वरोको कारण यस्तो भएको होला भनेर सोचियो। म गर्भवती भइसके भन्ने त एक मन पनि सोचाई आएन।
दाई-भाउजू सँगै हुनुहुन्थ्यो। भाउजूले 'तिमि त प्रेगनेन्ट भएको जस्तो छ है’ भन्नु भएको भने थियो। मैले नै होइन होला है भने।
त्यसबेला श्रीमान् पनि बाहिर जानुभएको थियो। पछि उहाँ आउनु भए पछि जँचाउन गयौँ। हो रहेछ। नतिजा पोजेटिभ देखियो। दुवै जना खुसी भयौँ। म आमा बन्ने भए। उहाँ बुबा। आमा बन्दै छु भन्ने सुन्दा नै मन कस्तो कस्तो हुने रहेछ। फुरुङ्गै। उहाँ पनि मक्ख।
उमेर सानै नै हो। त्यही भएर हुनसक्छ दुई महिना त निकै गाह्रो भयो। बान्ता निकै हुने। पछि बिस्तारै रोकियो। सात महिनादेखि गोडा सुन्नियो। हात भने सुन्निएको थिएन।
त्यो बेलामा मेरो तौल १५ केजी बढेकोथ्यो। तर, तल-माथि गरिरहेको भएर होला त्यस्तो गाह्रो चैँ भएन। आज-भोली बच्चा चल्ने भनेर कुरा गर्दा अलि बढी उत्सुक हुने गरेको देख्छु। आफैलाई पनि उनीहरूले त्यो कुरा सुनाउँदा उत्सुकता जाग्छ।
तर, मैले त त्यस्तो अनुभवै गर्न पाइन्। केही चलेको जस्तो त लाग्थ्यो। तर धेरै वास्ता नै भएन त्यो बेलामा। चल्यो भने स्वस्थ छ भन्ने चैँ मनमा ढुक्क हुने रहेछ।
घरको कामहरू धेरै गर्थे म। त्यै भएर तनाव भएन। ध्यान काममा नै हुन्थ्यो। घरपरिवारको सहयोग अहिलेसम्म पनि उस्तै छ। त्यसले पनि निकै सजिलो भयो। गर्भावस्थामा आराम त गर्नपर्छ। तर कुनै न कुनै सजिलो हुने काममा व्यस्त राख्यो भने झन् सजिलो हुने रहेछ।
बच्चा जन्माउने दिनको त के कुरा गर्नु। आठ घण्टाको व्यथापछि चार केजी दुई सय ग्रामको बच्चा जन्मिएको थियो। त्यो पनि अप्रेशन गरेर हैन। नर्मल प्रक्रियाबाटै।
रातको १२ बजे व्यथा लागेर अस्पताल गएको, बिहान ८ बजे बच्चा पाएको। अहिले सम्झँदा पनि सिरिङ हुने गरी गाह्रो भएको थियो नि त्यो बेलामा त।
त्यो बेलामा अप्रेशन गर्ने कि भनेर कुरा पनि भएको थियो। छलफल हुँदा डाक्टरले सबै नर्मल नै भइरहेको छ, अप्रेशन नगर्दा होला भन्ने सल्लाह दिनुभयो। बच्चाको तौल भने ठुलै भएकाले कतै नर्मल डेलिभरी गर्न गाह्रो होला कि भन्ने मात्र हो।
डाक्टर र नर्सले जुस अनि झोलिलो खानेकुरा खान सल्लाह दिनुभएको थियो। नर्मल प्रक्रियाबाटै बच्चा जन्मियो। बच्चाको तौल हेरेपछि डाक्टरले 'यति धेरै ठुलो बच्चा नर्मल पाउनुभयो साह्रै बलियो ज्यान रहेछ’ भन्नुभएको थियो। अहिले पनि त्यो सम्झन्छु।
बच्चा त नर्मलै पाउँ तर दूध आएन। श्रीमान् यहाँ हुनुहुन्थेन। डेलिभरीको समयमा श्रीमानसँगै हुनुपर्ने रहेछ। धेरै याद आउने रहेछ। निकै मिस गरेँ नि मैले त्यो बेला श्रीमानको।
परिवारका सदस्यहरू नहुने हैन हुनुहुन्थ्यो। सहयोग पनि थियो। तै पनि मनले भने श्रीमान् खोज्ने रहेछ। बच्चा जन्माउने समयमा मेरो नजिक कोही पनि हुनुहुन्थेन। ममी आउने कुरा भएकोथ्यो । तर, उपत्यका बन्द भयो।आउन खोजेर पनि आउन सक्नु भएन। त्यो बेला चित्त दुख्ने रहेछ।
बाबु पाएपछि त एकदम हल्का अनुभव भयो। एक थाल खाना अगाडि आइसकेको थियो। मस्तले खाएँ। नर्मल डेलिभरी भएकाले खानामा त्यस्तो बार्नुपर्ने केही थिएन। डाक्टरले नै टन्न खाए हुन्छ भनेका थिए। मैले नि टन्नै खाएँ।
बच्चा पनि ज्ञानी नै भयो। जन्मने बित्तिकै दूध चुस्न जान्ने भयो छोरा। अरूको त चुसाउन पनि जान्दैन भन्थ्यो। तर, बाबुले त खायो। रोएर दुख दिने पनि गरेन। तर बाबु अलि ठुलो भएकाले होला दुधनै पुगेन। छिट्टै बोतलको दूध खुवाउन पर्यो। मेरो दूधले नपुगेपछि बोतलमा दिँदा एक बोतल खाइदिने। घट्कीघट्।
सुत्केरी स्याहार्ने काम सासू आमाले नै गर्नुभयो। बाबुलाई, मलाई तेल लगाउने गर्नुभयो। हाम्रोमा सुत्केरीको बेलामा चाकु भात खाने चलन छ। त्यही खाएँ। त्यो समयमा पायल्स पनि बढेको थियो। त्यसले अलि गाह्रो भएको थियो।
छ, सात महिनाकोहुँदा एकचोटी बाबु बिरामी पनि भयो। बान्ता गर्ने, झाडापखाला पनि भयो। उसलाई मैले जीवनजल खुवाए। त्यसपछि ठिक भयो।
आफू नआत्ती बच्चालाई स्याहार गर्यो भने सब ठिक हुने रहेछ। आमा नै आत्तियो भने बच्चालाई झन् गाह्रो हुने हो कि जस्तो लाग्छ।
बाबु पाएपछि मेरो शरीर बढ्दै गयो। म मोटी भए। आफैलाई नै आफू राम्रो लाग्दैनथ्यो। माइग्रेनको समस्या पनि अलिअलि थियो।
त्यसपछि श्रीमानलाई भने। उहाँलेनै ’जिम’मा लगिदिनुभयो। बाबु पाँच वर्षको हुँदा म फिटनेसमा लागेको हो। त्यसको एक वर्षमै चिनिन पाएँ।
गृहिणी भएर बसेको ननिता महर्जन अन्तर्राष्ट्रिय महिला फिटनेसमा समेत चिनिन पाए। कम्ता खुसी लाग्दैन नि।
त्यसले धेरै मान्छेहरूसँग चिनजान भयो। धेरै कुरा सिक्न पाएँ। आफ्नो कन्फिडेन्स पनि बढ्दै गयो।
तर, एउटा महिलाको शरीर पातलो हुनुलाई हाम्रो समाजमा आकर्षक र सुन्दर मानिन्छ। म पनि 'स्लिम’ हुन नै जिम गएको थिए। तर, त्यहाँ गएको एक वर्ष पनि नपुगी 'बडी बिल्डिर’ भन्दै चिनिन थालेँ। म फिट त भए, त्यस सँगै ’मसल्स’पनि धेरै ठुलो देखिन थाल्यो।
’मसल्स’भएकै कारण उनले ’केटीको नि केटाको जस्तो जिउ’, ’कस्तो केटा जस्तै’ भन्ने कुराहरू पनि सुने।
अहिले जिममा धेरै महिलाहरू जान थालेका छन्। सबै जना स्लिम हुनकै लागि गएका हुन्। छोरी मान्छे ’बडीबिल्डिर’ भएको पनि धेरैले मन नपराउने रहेछन्।
बाबु भएपछि मेरो करियर पनि अघि बढ्दै गयो। त्यसपछि हामीले अर्को बच्चा पाउने प्लान बनाएनौ। केहीले एउटा छोरी त पाउ भन्नुहुन्छ। तर, नपाउने अब। पुग्यो एक सन्तानबाटै।
छोरा पनि अहिले ठुलो भइसक्यो। नौ कक्षामा पढ्छ। पछि उ नै बन्छ अब ’बडीबिल्डिर’। उसले इच्छा पनि देखाएको छ।
यो पनि
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असार २४, २०८० आइतबार २०:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।