संसदमै अश्लिल फिल्म हेर्ने सत्ताधारी सांसद् तर विपक्षीका पाँच सांसद् निलम्बित

संसदमै अश्लिल फिल्म हेर्ने सत्ताधारी सांसद् तर विपक्षीका पाँच सांसद् निलम्बित

एजेन्सी : शुक्रबार भारतको त्रिपुरा राज्यको विधान सभाको बजेट अधिवेशनको पहिलो दिन।

विपक्षी सांसदहरूले सदन सुरु हुने बित्तिकै अन्तिम अधिवेशनमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) सांसद जादबलाल नाथले संसदमै अश्लील भिडियो हेरेको मुद्दा उठाए।

सदन सुरु हुनेबित्तिकै विपक्षी दलका नेता अनिमेश देबवर्माले भाजपा विधायक नाथलाई कारबाही गर्न माग गर्दै संसद् स्थगित गर्न माग गरे।

देबवर्माले यस विषयमा स्थगन प्रस्ताव ल्याउन चाहेका थिए तर सभामुख विश्वबन्धु सेनले त्यसो गर्न दिएनन्।

त्यसको साटो अर्थमन्त्री प्रणजितसिंह रायलाई चालु आर्थिक वर्षको बजेट पेश गर्न आग्रह गरे।

यसैबीच सदनमा हंगामा सुरु भयो, विपक्षी सांसदहरूले भाजपा विधायक नाथलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरे।

सभामुख सेनले त्यसपछि भारतीय कम्युनिष्ट पार्टी (मार्सिस्ट)का सांसद नयन सरकार, कांग्रेसका सुदीप रोय बर्मन र टिपरा मोथा पार्टीका तीन सांसदलाई बजेटको कारबाहीको क्रममा ‘अवरोध गरेको’ भन्दै सदनबाट निलम्बन गरे।

सीपीआई (एम), टिपरा मोथा र कांग्रेसका अन्य सबै विपक्षी सांसदहरूले सभामुखको निर्णयको विरोध गर्दै सदनबाट बाहिरिए।

यसै वर्षको मार्चमा भएको विधानसभा सत्रमा भाजपा सांसद नाथ सदनभित्र मोबाइलमा अश्लील भिडियो हेर्दै गरेको अवस्थामा देखिएका थिए।

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेता टिपरा मोथा अनिमेश देबवर्माले भाजपा विधायकको यस्तो व्यवहारमाथि सदनमा छलफलको माग राखेका थिए।

सदनबाट बाहिरिएपछि टिपरा मोथाका विधायक देबवर्माले मिडियासामु भने, ‘गत अधिवेशनमा भाजपा सांसदले सदन चलिरहेको बेला मोबाइलमा ब्लु फिल्म हेरिरहेका थिए। सांसदको काम सदनमा  जनताको समस्या उठाउनु हो।’

उनले अगाडि भने, ‘हामी भाजपा सांसदको यो कार्यको निन्दा गर्दछौं। यो निकै लज्जास्पद छ। कांग्रेस नेता राहुल गान्धीले एक र्यालीमा मोदी उपनाममा केहि भनेका थिए, त्यसपछि उनको लोकसभा सदस्यता गुम्यो, तर भाजपा सांसदले गरेको यो लाजमर्दो कार्य गर्दा उहाँलाई कारबाही गर्नुपर्दैन? हामी सभामुखले घटनाको छानबिन गरुन् भन्ने चाहन्छौँ।’

६० सिट भएको त्रिपुरा विधानसभामा २७ जना विपक्षी सांसद छन्। टिपरा मोथा पार्टी १३ सांसदसहित सदनमा प्रमुख प्रतिपक्षी दल हो।

असार २२, २०८० शुक्रबार २१:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।