रविले भने' हामीलाई चार वर्ष माफ गर्नुस्, काम गर्ने ठाउँमा छैनौँ'

रविले भने' हामीलाई चार वर्ष माफ गर्नुस्, काम गर्ने ठाउँमा छैनौँ'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सभापति पार्टी अहिले काम गर्ने ठाउँमा नभएकाले प्रश्न नगर्न आग्रह गरेका छन्। जनताको म्याण्डेड अनुसार छोटो समय सरकारमा गएको र प्रतिपक्षमा बस्न आग्रह आएपछि प्रतिपक्षमा आएको भन्दै चार वर्ष आफूहरूलाई माफ गर्न आग्रह गरे।

काठमाडौँको गोकर्णेश्वरमा आयोजित पार्टीको भेलामा उनले रास्वपाको मिसन २०८४ भएको र त्यसका लागि अर्जुन दृष्टि लगाएर सङ्गठन विस्तार गरिरहेको बताउँदै अहिले पार्टी काम गर्ने स्थानमा नभई खबरदारी गर्ने स्थानमा रहेको बताएका थिए।

उनले पार्टीमा एक जना मात्रा स्वार्थी व्यक्ति आए भने पार्टी नै बिग्रनेभन्दै सङ्गठनमा व्यक्तिहरू राख्दा असल व्यक्तिहरू राख्न आग्रह गरेका थिए।

उनले रास्वपाका २१ जना सांसद संसद्मा गएपछि संसद्को गरिमा बढेको दाबी गर्दै रास्वपाका सांसदहरुका कारण संसद्को गतिविधि चासोको विषय बनेको समेत दाबी गरे।

अहिले पार्टी काम गर्ने ठाउँमा नभई बोल्ने ठाउँमा पुगेको र बोल्ने काम गरिरहेको उनले बताए।

'बजेट बाँड्ने लुछाचुँडीमा गयौँ भने काम गर्न सक्दैनौँ। प्रतिपक्षमा बसेर सङ्गठन निर्माणमा लाग्ने छौँ' उनले भने।

अहिले रास्वपालाई अहिले प्रश्न नगरी साथ दिन सर्वसाधारणलाई आग्रह गरेका थिए।

'यो चार वर्ष हामीलाई माफ गर्नुहोला। हाम्रो आँखा मिसन ८४ मा छ।

अर्जुन दृष्टि भनिन्छ। उनले चाहेको भए अन्त पनि देख्थे तर उनले आँखाको नानी मात्र देखे। मिसन ८४ रास्वपाको अर्जुन दृष्टि हो' उनले भने।

निर्वाचन हार्नु र राजनीति हार्नुमा फरक भएको भन्दै उनले काठमाडौँको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवारले चुनाव हारे पनि राजनीति नहारेको बताए।

'हामीले गल्ती गरेनौँ भने मिसन ८४ सफल हुन्छ। देशको चिन्ताले यहाँ आएका हौँ। नामले आएका हैनौँ' उनले भने।

असार १७, २०८० आइतबार १५:१२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।