बालबालिकालाई पनि हुन्छ एन्जाइटी, याद गर्नुपर्ने चार लक्षण

बालबालिकालाई पनि हुन्छ एन्जाइटी, याद गर्नुपर्ने चार लक्षण

काठमाडौँ : शुक्रवार चाबहिलमा रहेको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालको इमर्जेन्सीमा एक १५ वर्षकी किशोरी ल्याइयो। उनी छिटो छिटो सास फेरिरहेकी थिइन्। मुटुको गति उच्च थियो। ज्यान लल्याकलुलुक भएपछि विद्यालयबाट सिधै अस्पताल ल्याइएको थियो।

चिकित्सकले आवश्यक परीक्षण गरे। पहिला अक्सिजनको लेभल हेरे। ९७ देखिएपछि उनले अन्य परीक्षण गरे। यसरी अकस्मात् किन यस्तो भयो भनेर सोधपुछ सुरु गरे।

उनी स्कुलमा पुगेपछि प्रिन्सिपलले कोठामा बोलाएर गाली गरेका रहेछन्। प्रिन्सिपलले गाली गरेपछि स्कुलको कक्षा कोठामा फर्कँदासम्म उनको स्वास्थ्य ठिकै थियो। केही छिनमै उनलाई चिटचिट पसिना आउने, सास फेर्न गाह्रो हुने अनि मुटुको धड्कन बढ्न थालेपछि अस्पताल ल्याइएको थियो।

उनमा जे लक्षण देखियो ती सबै एन्जाइटीको सङ्केत थियो। उनको अभिभावकले नियमित रूपमा विद्यालयको शुल्क तिर्न नसक्दा पटक पटक उनलाई विद्यालयले गाली गर्दै निकाल्ने चेतावनी दिने गरेको खेल्यो।

उनको मस्तिष्कमा कतै मेरो पढाई नै बिग्रने हो कि भन्ने भय गहिरोसँग गढेर एन्जाइटीको रूप लिइसकेको खुल्यो।

प्रायलाई एन्जाइटी अनि डिप्रेसन जस्ता मनोरोगले युवा र प्रौढहरूलाई सताउने भ्रम देखिन्छ। चिकित्सकहरू यसले जुनसुकै उमेर समूहकालाई पनि प्रभाव पार्न सक्छ। समयमै मनोपरामर्शसहित उपचार गरे निको हुन्छ। तर समयमै थाहा नपाउँदै अकल्पनीय घटना निम्त्याउन सक्छ।

यसका चार लक्षण

उमेर अनुसार शरीरको विकास नहुन

सामान्य खानपान भएका बालबालिकाको शरीरको विकास उमेर अनुसार सामान्य रूपमै हुनसक्छ। यदि अन्य सबै अवस्था सामान्य रहेको बेलामा पनि बालबालिकाको शारीरिक विकास सामान्य नभएमा उनीहरूलाई एन्जाइटीले सताएको हुनसक्छ।

मानसिक समस्यासँग जुध्नुपर्दा जुन रूपमा बालबालिकाको शारीरिक विकास हुनुपर्ने हो त्यो नहुन पनि सक्छ। किनकि शारीरिक विकासमा मानसिक अवस्थाले पनि प्रभाव पार्छ नै।

निन्द्रा नआउने

यसको अर्को सङ्केत हो निन्द्रा नलाग्नु। यो प्रौढको मात्र सङ्केत हैन। एन्जाइटीको समस्यासँग जुधिरहेका बालबालिकाले निन्द्रा नलाग्ने समस्यासँग समेत जुधिरहेका हुन सक्छन्।

शारीरिक तथा मानसिक अवस्थाको नियमित विकासका लागि रातको समयमा गुणात्मक निन्द्रा आवश्यक पर्छ नै। गहिरो निन्द्राको समयले शारीरिक तथा मानसिक विकासमा सकारात्मक/नकारात्मक असर पर्छ नै।

खानामा कम रुचि

बालबालिकाको खानाको प्रकार नियमित नै छ तर एकाएक खाना खान इच्छा गर्न छाड्दा कतै एन्जाइटीको समस्या पो भयो कि भनेर अभिभावक सचेत हुनुपर्छ। खाना नरुच्नुको कारण अन्य पनि हुन सक्छन्। ती अन्य कारणहरूमध्ये एन्जाइटी पनि एक हो है।

टाउको दुख्ने,आत्तिने

पेट दुखेको अनुभव हुने, टाउको दुख्ने, एक्कासि मुटुको धड्कन बढ्ने अनि सानो कुरामा पनि आत्तिने स्वभाव छ भने बच्चाहरू यस्तै हुन् भनेर नटार्नुस् यी एन्जाइटीका लक्षण हुन्। समयमै चिकित्सककोमा लगेर एन्जाइटीको कारण पहिल्याएर उपचार विधि सुरु गरे यो समयमै निको हुनसक्छ।

यस्तै हो भनेर हेलचेक्र्याइँ गरे बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा लामो समयसम्म नकारात्मक प्रभाव पर्न सक्छ। मनोरोग अन्य जस्तै सामान्य रोग नै हो। अन्य रोग उपचार विधिबाट जसरी सहजै उपचार सम्भव छ। यसको पनि उपचार सम्भव छ।

असार १६, २०८० शनिबार १६:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।