फ्रान्समा १७ वर्षीय युवकलाई प्रहरीले मारेपछि हिंसात्मक प्रदर्शन, १५० पक्राउ

फ्रान्समा १७ वर्षीय युवकलाई प्रहरीले मारेपछि हिंसात्मक प्रदर्शन, १५० पक्राउ

एजेन्सी : फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन र गिरफ्तारी जारी छ।

फ्रान्सेली गृहमन्त्रीले रातभरि भएको प्रदर्शनका क्रममा कम्तीमा १५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीहरूले देशभरका स्कूलहरू, टाउन हलहरू र प्रहरी स्टेशनहरूलाई निशाना बनाएको बताएका थिए।

फ्रान्समा मंगलबार प्रहरीले १७ वर्षीय युवकलाई ट्राफिक जाँचका लागि नरोकेपछि गोली हानेको छ। ती युवकको नाम नाहेल एम रहेको बताइएको छ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरीले सुरुमा यो युवकलाई चोट पुर्याउने उद्देश्यले प्रहरीतर्फ कार चलाएको बताएको थियो। 

तर, उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल तानेर नजिकबाट गोली हानेको देखिन्छ।

समाचार एजेन्सी एएफपीले यो फुटेजको सत्यता पुष्टि गरेको छ।

फ्रान्सेली राष्ट्रपतिले गोलीबारी ‘अक्षम्य’ भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन।’

यसै क्रममा समाचार एजेन्सी रोयटर्सले सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका भएको पत्ता लगाएको छ।

गत वर्ष ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो।

रोयटर्सले मृतकका छिमेकीहरूलाई उद्धृत गर्दै नाहेल पनि फ्रान्सेली–अल्जेरियन मूलको परिवारबाट भएको बताएको छ।

असार १४, २०८० बिहीबार १५:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।