ब्याच नम्बर ६९ : बाहिर अपराधीलाई कुनै हालतमा नछाड्नू भन्ने गृहमन्त्री आफ्ना मान्छे समातिएपछि थर्काउँथे
सार्वजनिक मञ्चमा शान्ति, सुरक्षा अनि सुशासनको चर्का भाषण गर्ने, प्रहरी कार्यालय पुगेर कानुन कार्यान्वयन गर्न कसैसँग सम्झौता नगर्ने निर्देशन दिने। तर व्यवहारमा भने प्रहरी जवानको सरुवामा पनि हस्तक्षेप गरिहाल्ने। कानुनले प्रहरी प्रमुखलाई दिएको अधिकार प्रयोग गरेर निर्णय गर्दा पनि ‘मलाई नसोधी किन गरेको?’ भन्दै सातो खाने।
प्रहरीमा हुँदा गृहमन्त्रीहरूका यस्ता चर्तिकला खुबै देखियो। सार्वजनिक मञ्चमा क्या क्या गफ दिने। तर उनीहरूले भाषणमा कानुन कार्यान्वयन गर्न कसैसँग डराउनु पर्दैनभन्दा हामीले यसको अर्थ’ मबाहेक अरूसँग नडराउनू तर मैले भनेको चैँ खुरुखुरु मान्नु’ भनेर आफैँ बुझ्नुपर्थ्यो।
भन्ने बेलामा आन्तरिक सुरक्षा भन्थे। अधिकांश असुरक्षाका कारक उनीहरू नै हुन्थे। उनीहरू निकट जति बदमास भए पनि पक्राउ गर्नै नहुने। जसले पक्रियो दशा सुरु भयो। निर्वाचन क्षेत्रका अर्को दलको कार्यकर्ता भए ठिकै छ। आफ्नो दलको त मतदातालाई नि छुनै नहुने। अनि हुन्छ शान्ति सुरक्षा?
अधिकांश गृहमन्त्रीको ध्यान पार्टी नेतृत्व, आफ्ना समूहमा रहेका व्यक्तिहरूको स्वार्थ, आफ्ना निकटलाई कसरी फाइदा गराउने त्यसैमा हुन्थ्यो ध्यान। फाइलैपिच्छे यसबाट कति पैसा आउँछ भन्नेसम्मका गृहमन्त्री भोगियो ३० वर्षीय कार्यकालमा। अहिले पनि त्यो भन्दा फरक अवस्था देख्दिन म।
बाहिर चैँ तस्करी नियन्त्रण गर्नु, तस्करहरुविरुद्ध कुनै सम्झौता हुन सक्दैन भनेर भाषण गर्ने। परर कार्यकर्ताको ताली खाने। तर पछि प्रहरी महानिरीक्षक हुन्छन् कि सम्बन्धित जिल्लाका प्रहरी प्रमुख हुन्छन् फोन गर्दै कहिले ल्वाङ तस्करीको लाइन खुलाउने त कहिले सुपारी तस्करीको।
तस्करीका लागि एयरपोर्ट समेत ठेक्कामै दिन पछि नपर्ने गृहमन्त्रीहरू पनि देखिए। हिजोका जमिम शाह भनौँ या अहिले चर्चामा रहेका तस्करहरू यी सबै सत्ताको संरक्षककै उत्पादन त हुन्। यिनलाई नागरिकले संरक्षण दिएका हुन् र? यी अधिकांश भ्रष्ट गृहमन्त्रीका उत्पादन हुन्।
विमानस्थलबाट सुन भित्र्याउनेदेखि नेपाल-भारत सीमा वारपार हुने तस्करीसम्म फिल्डमा देखिने त प्रहरी नै हुन् नि। गाली जो फिल्डमा छन् उनीहरूले नै खाने त हो। खान्थे मस्त। अहिले पनि खाइरहेका छन्।
प्रहरीले तस्करी नै गराउँदैन भनेको हैन है मैले। संगठनमा भएका सबैको लक्ष्य एकै कहाँ हुन्छ र! प्रहरी पोसाकलाई पैसा छाप्ने मेसिनै ठान्नेहरू पनि यही संगठनमा थिए। अनि छन्। नागरिकलाई दुख दिएर एक रुपैयाँ लियो भने पनि पाप लाग्छ भन्नेहरू पनि यही संगठनमा थिए अनि अहिले पनि छन्।
नन्दी, भृङ्गी, चौसट्ठी योगिनी, भूत, प्रेत अनि पिशाचलाई महादेवको फौज भनिन्छ नि। हो जुनसुकै संगठनमा यी सबै फौज हुन्छन् नै। प्रहरीमा पनि छन्।
तर राज्यको उपलल्लोतहमा बसेकाको निर्देशन र मिलेमतो नभई प्रहरीले चाहेर मात्रै संगठित रूपमा ठूला आर्थिक अपराध गर्न सम्भव छैन। तस्करीको लाइन खुलाउन त सम्भवै छैन। त्यो संगठनको प्रमुख या गृहमन्त्रीले मात्र चाहेर पनि हुन्न। यसमा कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको पनि कुनै न कुनै रूपमा भूमिका हुन्छ नै।
किनकि राज्यको सबै संयन्त्रको सूचना प्रधानमन्त्रीमा पुग्छ नै। कसले कहाँ के गरिरहेको छ वा के गर्यो भनेर प्रधानमन्त्रीले जान्न चाहने हो भने २४ घण्टाको समय हो। त्यसमा पनि हाम्रोमा प्रधानमन्त्रीको टिमले गृहमन्त्री वा अन्य मन्त्रीको निगरानी गराउनु अनि गृहमन्त्रीले प्रधानमन्त्रीको निगरानी गराउनु के नै नौलो भयो र!
सुरक्षा संगठनको प्रयोग गरेर हुने संगठित बदमासीको चेनअफ कमान्ड प्रधानमन्त्री हुँदै गृहमन्त्री, गृहमन्त्रीबाट प्रहरी महानिरीक्षक अनि प्रहरी महानिरीक्षकबाट फिल्डमा जाने त हो। यसमा कसैले रिस्क लिए प्रधानमन्त्रीबाट सीधै फिल्ड वा प्रहरी महानिरीक्षकबाटै सीधै फिल्ड वा गृहमन्त्रीबाट सीधै फिल्ड पनि हुनसक्छ है। तर यो अलि जोखिमपूर्ण हुन्छ। एकले गरेको काम अर्कोले थाहा पाउँछ। पछि एक्सपोज होला भनेर यो पूरै चेन अफ कमान्ड मिलेरै ठूला बदमासी गरेका हुन्छन्।
कुनै कुनै दुस्साहसी पनि हुन्छन्, नहुने हैन। तर त्यस्ता कुनै न कुनै चरणमा पुगेर एक्सपोज हुन्छन्, भएका छन्। त्यो बेला कारबाहीमा पर्ने ऊ मात्र हुन्छ।
एक पटक विमानस्थलमा यताबाट अवैध रूपमा विदेशमा डलर लैजाने अनि त्यही डलरबाट सुन किनेर उसैगरी विमानस्थलबाट पार गराएर ल्याउने गिरोह नै सार्वजनिक भएको थियो।
त्यसमा विमानस्थलका तत्कालीन उच्च अधिकारी, प्रहरी कर्मचारीसँगै अहिले प्रतिष्ठित व्यवसायी बनेकाहरूको हैसियत खुलेको थियो नै। जब घटना एक्सपोज भयो प्रहरी कारबाहीमा परे। डलर अनि सुन तस्करीमा प्रत्यक्ष संलग्न देखिएका व्यापारी जोगिए। अहिले त थप प्रतिष्ठित पो भएका छन् उनीहरू। प्रधानमन्त्रीसँग कुम जोडेर फोटो खिचेको देखिन्छ।
यदि चेन अफ कमान्ड मिलाएर काम गरेको भए त्यो एक्सपोज हुन गाह्रो थियो। तर भयो। एक्सपोज भएर के नै भयो र! जो जेल जानुपर्ने थियो ती त फेरि त्यही चेन अफ कमान्डको संरक्षणमा जोगिइहाले। कारबाहीमा परे प्रहरी। अनुसन्धान समाप्त।
एयरपोर्टका प्रहरी कारबाहीमा पर्दा नयाँ टिम गयो। तस्करी गर्नेहरूले ओहो क्रस गर्न नहुने रहेछ भनेर तस्करीको चेन अफ कमान्डको पालना गरे। कुरा सकियो।
यही ब्याचको शृङ्खलामा मैले एक पटक यो गृहमन्त्री भन्ने पद अभिशाप बोकेर आएको हुन्छ भनेर लेखेको थिए। त्यो प्रमाणित पनि भएका छन्।
अपवाद बाहेक अधिकांश गृहमन्त्री भएकाहरूको अन्त्य बढो नमीठो तरिकाले भएको छ। तर प्रधानमन्त्रीहरू भने जोगिएका छन्।
गिरिजाप्रसाद कोइरालाको पालाका गृहमन्त्रीहरू हेरौँ न। खुमबहादुर खड्काको राजनीतिक यात्रा कति दर्दनाक रूपमा अन्त्य भयो। भ्रष्ट प्रमाणित भएर बित्यो उनको यात्रा। गोविन्दराज जोशीको हालत त्यस्तै त छ।
पछि गृहमन्त्री भएर रजगज गरेकाहरूको हालत हेरौँ त अहिले! बामदेव गौतमको हालत के भयो अहिले? जहिले पनि गृहमन्त्री ताक्ने विजयकुमार गच्छादारको हालत के छ अहिले? कृष्णबहादुर महराको हालत के भयो? अनि अहिले बालकृष्ण खाँणको हालत के छ?
एकाध जोगिएका छन् अहिलेसम्म। तर उनीहरूको भविष्य पनि पनि त्यति राम्रो देखिरहेको छैन। किनकि त्यो गृहमन्त्री भन्ने पदै त्यस्तै हो। असल काम गर्ने हैन आफूअनुकूल काम गरेर अतिरिक्त आम्दानी गर्ने अनि गराउने पदको रूपमा विकसित भइसकेको छ गृहमन्त्री पद।
एक कोणबाट हेर्दा गृहमन्त्री भनेको प्रधानमन्त्रीको अकाउन्टेन्ट जस्तै। अन्य अकाउन्टटेनसँग पैसा माग्दा छैन भने छैन भन्न सकिन्छ। तर गृहमन्त्रीले सक्दैन। प्रधानमन्त्री होस् या पार्टी प्रमुख पैसा ले भन्नासाथ दिनुपर्ने। जहाँबाट पनि।
अब त्यो जहाँबाट पनि भनेको त्यही अवैध काम त हो। अनि नेपाल-भारत सीमाका लाइन खुल्छन्, टक्क आफ्ना मान्छेको सामान सीमा पार गर्ने बेलामा झ्याम्म लोडसेडिङ हुन्छ। सामान पार भएपछि बत्ती आउँछ।
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मेवारी पाएर गएका कार्यालय प्रमुख तस्करका भरिया बन्न बाध्य हुन्छन्। गाडीको टायरै पन्चट हुने भारी सामान सुरक्षा घेरामै भन्सार पार गराइन्छ।
सुनले भरिएका ब्रिफकेस विमानस्थलका सुरक्षा प्रमुखको कार्यकक्षमा पुग्छन्। उनी कार्यालयबाट निस्कँदा आफ्नै गाडीमा राखेर बाहिर ल्याइदिन्छन्। के-के हुन्छ के-के लाइन खुलाइए यो हामी सबैले न देखेको पनि हैन। आफ्नो सम्झनालाई कोट्याउने हो भने ती दृश्य सरर सिनेमा झैँ घुम्छ पक्कै।
अधिकांश प्रधानमन्त्रीलाई सक्षम हैन आफ्नै विश्वास पात्र व्यक्ति नै गृहमन्त्री किन चाहिने त? यसरी नै लाइन खुलाउन हैन र! तस्करीको चेन अफ कमान्डको चिन्ता नभए त सक्षम खोजिहाल्छन् नि। कहाँको निकट खोज्छन् र! यदि प्रधानमन्त्रीले सक्षम गृहमन्त्री खोज्ने गरेका भए भ्रष्टाचारले दुङदुङ गन्हाएकाहरू पटक-पटक गृहमन्त्री हुन सम्भव हुन्छ र! नेक्सस त यसले पनि पुष्टि गर्छ नि।
अब अहिलेको नक्कली भुटानी शरणार्थी सम्बन्धी घटनाको रकम सङ्कलनको अवस्था हेरौँ अनि कानुनी दायरामा आएकाहरू हेरौँ त। यसले उनीहरूको योजनामा मात्रै यतिसम्म राज्य स्रोतको दुरुपयोग हुन सम्भव हुन्छ त?
तर गृहमन्त्री तहबाट माथि अनुसन्धान जाँदै गएन। तत्कालीन प्रधानमन्त्रीका त्यति विश्वासपात्र गृहमन्त्रीहरूले प्रधानमन्त्री मात्र हो र पार्टीको प्रमुख समेत रहेका व्यक्तिलाई जानकारी नै नदिई आफ्नो राजनीतिक भविष्यलाई संरक्षणको कुनै ग्यारेन्टी नै नलिई यस्तोसम्म काम गरे होलान् र! मैले पत्याउन सकेको छैन।
संगठित अपराधको एक विशेषता के हो भने यसको सम्पर्क जालो सोझो रेखामा जाँदैन। बीचमा कतै न कतै टुट्छ। निर्देशन माथिबाट तलतिर आउँछ। अनि रकम चैँ तल जम्मा भएर माथितिर जान्छ। त्यसैले निर्देशन हिँडेको बाटोको धागो चुँडिए रकम हिँडेको बाटो पहिल्याउन सकिन्छ। यो महत्त्वपूर्ण पाटो हुन्छ संगठित अपराध अनुसन्धानमा।
अनुभवी अनुसन्धानकर्ता हो भने उसले त्यो टुटेको अनुसन्धानको धागो जोडेर सम्बन्धित नाइकेसम्म पुग्न सक्छन्। अनुभव नभएकाहरू जहाँ टुट्छ त्यही अलमलिन्छन् र अनुसन्धान सकिएको भ्रममा पर्छन्।
नक्कली शरणार्थीको प्रकरणमा पनि बालकृष्ण खाँणमा पुगेर अनुसन्धानको धागो टुटेको या टुटाइएको हुनसक्छ। उता इन्द्रजित राइकोमा पुगेर धागो टुटेको हुनसक्छ।
तर यो घटनाको अनुसन्धानको क्षेत्र त्यति मात्रै हो अनि त्यहाँभन्दा माथि जान सक्दैन वा जानु आवश्यक छैन भन्नेमा ३० वर्ष अपराध अनुसन्धान अझ संगठित अपराधको अनुसन्धान गरेको मेरो अनुभवी मन र मस्तिष्कले स्वीकार गर्दैन। गर्ने विषय पनि हैन।
अहिलेका प्रधानमन्त्री अनि गृहमन्त्रीमा अनुसन्धानको धागो टुटेको स्थानबाट अगाडि बढ्ने हिम्मत हुने हो भने अनुसन्धान अगाडि बढ्न सक्ने आधार टन्नै छन्।
त्यसका अधिकांश आधार त पक्राउ अभियुक्तहरूको बयान, सार्वजनिक भएका प्रमाणले नै देखाउँछ नि। त्यसैले देखाइरहेको छ त नक्कली शरणार्थी घटनाको अनुसन्धानको अन्तिम विन्दु गृहमन्त्री मात्रै हैनन्। हुन सक्दैनन् भनेर।
तर यो हिम्मत गर्ने कसले? बाहिर मुखले परिआए सरकार छाड्छु भनेर अनुसन्धान हुन्न। हिम्मत चाहिन्छ हिम्मत। त्यो हिम्मत देखिनँ मैले त।
ब्याचका पुराना अंक
असार ६, २०८० बुधबार १९:३५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।