अरूले गल्ती गर्दा संविधान पढेर सम्झाउने रविले फहराए उल्टो झण्डा, गल्ती गरेपछि भनेः नियतवश होइन

अरूले गल्ती गर्दा संविधान पढेर सम्झाउने रविले फहराए उल्टो झण्डा, गल्ती गरेपछि भनेः नियतवश होइन

काठमाडौँः  अरूको सानो गल्तीमा पनि चिच्याएर, संविधानै सातो खाने रास्वपा सभापति रवि लामिछानेले आफूले गल्ती गरेपछि भने नियतवश हैन भन्दै पन्छिएका छन्।

सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा उनले फहराएको झण्डा उल्टो भएपछि उनको चर्को आलोचना भइरहेको छ। 

असार २ गते काठमाडौँको टोखा नगरपालिका भोरस्थित पार्टीको प्रथम स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा उनले हेर्दै नेहेरी चन्द्र सूर्यअंकित झण्डालाई उल्टो पारेर फहराएका थिए। 

पार्टीको बागमती प्रदेश समितिद्वारा आयोजित वृक्षरोपण तथा बृहत् रक्तदान कार्यक्रमको प्रमुख अतिथि भएर लामिछाने त्यहाँ पुगेका थिए। तर उनले त्यहाँ झण्डा कसरी फहराउने भनी हेरेनन्। पार्टीका अन्य नेता तथा कार्यकर्तासँग मिलेर उनले उल्टो पारेर झण्डा फहराएका थिए।

आश्चार्यको विषय त यो छ कि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला जनकपुर पुग्दा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतलाई नेपालको झण्डा किन उल्टो पारेर राखेको भनी कडा प्रश्न गरेका थिए। जहाँ उनले राउतलाई उक्त कार्यको सबै दोष थुपारेका थिए। 

जनकपुरमा राखिएको नेपालको उक्त झण्डामा रङ समायोजना राम्रोसँग भएको थिएन भने भद्दा आकारको थियो। तर लामिछानेले टीभी कार्यक्रमबाटै राउतलाई संविधान पढेर सम्झाएका थिए। जतिबेला उनी न्युज २४ टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिए। उनी त्यतिबेला 'सीधा कुरा जनतासँग' कार्यक्रम चलाउँथे। 

उक्त टीभी कार्यक्रममा लामिछानेले राउतलाई सोधेका थिए, 'नेपालको झण्डा त्यसरी राख्दा तपाईंले हेर्नुभएन ? त्यही हो नेपालको झण्डाको आकार ?' जवाफमा तत्कालीन मुख्यमन्त्री राउतले आफूलाई थाहा नभएको बताएका थिए। तर लामिछानले 'प्रदेशको मुख्यमन्त्री भएर त्यसो भन्न पाउनुहुन्छ' भनी फेरि प्रश्न तेर्स्याएका थिए।

जबकि त्यसबेला उक्त झण्डा मन्दिरका पुजारीहरूले फहराएका र राखेका राउतले बताएका थिए। आफूहरूले मन्दिरको तयारी केही पनि नगरेको जवाफ राउतले लामिछानेलाई दिएका थिए। आफूहरूको तयारी मञ्चको मात्र भएको राउतले बारम्बार जवाफ दिए पनि लामिछानेले सोधेका थिए, 'मुख्यमन्त्री भएपछि त्यसको जिम्मेवारी लिनुपर्दैन ?' 

त्यसबेला मोदीको स्वागतका लागि राखिएको नेपालको झण्डामा चन्द्र सूर्यअंकित तस्विर उल्टो थिएन। बरु त्यसमा प्रयोग भएको रङ र किनारामा प्रयोगमा लापरवाही भएको थियो। झण्डाको आकार पनि केही भद्दाजस्तो देखिएको थियो। जुन अवस्थाको भिडियोलाई लामिछानेको उक्त कार्यक्रमले बारम्बार देखाएको थियो। 

राजनीतिमा आउनुभन्दा अगाडि अरूलाई संविधान पढाएका लामिछानेले आफूले भने उल्टो झण्डा देखेनन्। काठमाडौँमा असार २ गते उल्टो झण्डा फहराएका उनले चितवन पुगेर माफी मागेका थिए। 

चितवन पुगेका लामिछानेलाई स्थानीय पत्रकारले 'तपाईंले उल्टो झण्डा फहराइरहेको दृश्य भाइरल भइरहेको छ नि भन्ने प्रश्न गरेका थिए। जवाफमा लामिछानेले भने, 'मैले थाहा पाएँ। एउटा कार्यक्रममा जाँदाखेरि कोही सर्वसाधारणले, शुभेच्छुक शुभचिन्तकले फहराउँदै ल्याउनुभएको थियो। उहाँले दिनुभो मैले पनि फहराइहालेँ।'

लामिछानेले थपे, 'देख्नेबित्तिकै उल्टो भन्ने थाहा पाइहालेँ,' अनि आफूले एक मिनेटमै सच्याउन भनिहालेको उनले दाबी गरे।भने, 'कहिलेकाहीँ त्रुटि हुन्छ, जोकोहीलाई चोट परेको छ भने उनीहरूसँग पार्टीका तर्फबाट माफी माग्छु,' उनी सच्चिए। 

आफूले गरेको गल्ती सजिलै बताए पनि उनले काठमाडौँको कार्यक्रममा भने शुभचिन्तकले ल्याएको झण्डा हेर्ने न चेस्टा गरे, न त फुर्सदै निकाले। जबकि जनकपुरमा राउतलाई फहराउँदै नफराएको झण्डाप्रति लामिछानेले कडा प्रश्न गरेर त्यसको प्रमुख जिम्मेवार ठहर्याएका थिए। चितवनमा भने शुभचिन्तकलाई दोष दिएर लामिछाने उम्किन खोजे। 

यता पार्टीको बागमती प्रदेश कार्यालयले भने सभापतिको उक्त कार्यप्रति क्षमा मागेको छ। मंगबार (आज) एक विज्ञप्ति जारी गर्दै पार्टी प्रदेश कार्यालयले लेखेको छ-सभापतिज्यूबाट फहराइएको राष्ट्रिय झण्डा भुलवश उल्टो पर्न गएकोमा बागमती प्रदेश समिति विशेष क्षमायाचना प्रकट गर्दछौँ।

साथै उल्टो पर्न गएको झण्डामा ध्यानाकर्षण हुनेबित्तिकै तत्काल सच्चाइएको पनि विज्ञप्तिमा लेखिएको छ। 

पार्टीले विभिन्न औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा पूर्ण रूपमा सजग र सतर्क रहन प्रेरित गर्ने सम्पूर्ण सुभेच्छुक, सामाजिक सन्जाल प्रयोगकर्ता र मिडियाहरूलाई विशेष धन्यवाद दिँदै सभापति लामिछानेको त्रुटि भुलवस भएको र  पुनः नदोहोरिन सचेत रहेको प्रतिबद्धता पनि जाहेर गरेको छ। 

असार ५, २०८० मंगलबार १०:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।