गन्धर्वहरूको पीडाः किन माग्दै हिँड्नु भनेर युवाले पनि छाडे, पेसा जोगाइदिन कसैले वास्ता गरेनन्

गन्धर्वहरूको पीडाः किन माग्दै हिँड्नु भनेर युवाले पनि छाडे,  पेसा जोगाइदिन कसैले वास्ता गरेनन्

सुर्खेत : वीरेन्द्रनगर–५ का ५२ वर्षीय गंगाराम बैगार अहिले पनि सारंगी बजाएर गाउँदै हिँड्छन्। १२ वर्षको कलिलो उमेरदेखि नै गाउँमा सारंगी बजाएर घरव्यवहार चलाएका उनी अहिले यो पेसा लोप हुन थालेको प्रति चिन्तित छन्।

गंगारामले पाँच छोरी र एक छोरालाई यही सारंगी बजाएरै पालनपोषण र पढाए। दुई वर्ष पहिला उनकी श्रीमतीको निधन भएपछि उनी यसरी नै सारंगी बजाएर गाउँदै हिँड्छन्।

त्यो बेला गन्धर्वहरूले गाउँहरू भागमा पार्ने गर्थे। अंश र सम्पत्तिको नाममा यो समुदायले गाउँ भाग लगाउँथ्यो। एउटा गन्धर्वले वर्षभरि चार गाउँसम्म कमाउन सक्थे। उनीहरूले काठबाट बनाइएका कपाल कोर्ने काइँया र लिखाटासमेत आफ्नो गाउँमा बाँड्थे। 

त्यसै अनुसार आफ्नो भागको गाउँ गंगारामले राम्ररी चलाएका थिए। तर, अहिले सारंगी बजाएर जीविका चलाउन मुस्किल परेको उनी बताउँछन्। 

‘पहिला हाम्रो समुदायले गाउँहरू भागमा बाँड्थ्यौं। वर्षभरि बजाएपछि सिजनअनुसार अन्न मिल्थ्यो। त्यसले जहान परिवार राम्रैसँग धानिएको थियो’, उनले भने, ‘अहिले म गाउँमा बजाउँदै जान्छु। यसको महत्व कसैले बुझ्दैनन्। कसैले ५-१० रुपैयाँ दिन्छन्। कसैले रित्तो हात फर्काउँछन्। घरव्यवहार धान्न त अरू काम गर्नुपर्ने बाध्यता भयो। त्यही कारण पनि छोराहरू यो पेसा गर्न मन पराउँदैनन्।’

यही पेसाबाटै जीविका चलाएका वीरेन्द्रनगर-११ झुप्रा खोलाका रंगवीर गाइने पनि आधुनिकतासँगै गन्धर्व समुदायको पेसा संकटमा परेकोप्रति दुःखी छन्।

सामुदायिक वनको आडैमा सानो झुपडी लगाएर बसेका उनी अन्य मानिसले गन्धर्व समुदायलाई पहिले र अहिले हेर्ने दृष्टिकोणमा फरक आएको उनले बताए। 

‘यही सारंगी बजाएर ९ जनाको परिवार पाल्छु। पहिला बालिघरे हुँदा मेरो जीविका राम्रै चलेको थियो। अब हाम्रो रोजीरोटी खोसियो’, उनले भने, ‘पहिला केही सन्देशहरू पनि  हामीमार्फत मान्छेहरू सुन्थे। हामीले सचेतना पनि जगाउँथ्यौं। तर, अहिलेका मानिसहरू सारंगी बजाउँदा पनि दिक्काउँछन्’, उनले भने, ‘दिनभर डुल्दा पनि साँझ चुलो बाल्न मुस्किल पर्छ।’ 

घटनालाई कथा बनाएर सारंगीको तालमा गीत गाउँदा समाजमा सचेतना समेत फैलने उनीहरूको सुझाव छ। गन्धर्व समुदायको यो पेसालाई संरक्षण गर्न सरकारले पनि पहल गर्नुपर्ने गन्धर्व समुदायका अगुवा वीरेन्द्रनगर-७ निवासी भक्तबहादुर गन्धर्वले बताए। सिजनअनुसार गाउँ फेर्दै हिँडेर फिरन्ते जीवन बिताएका गन्धर्व समुदायमा अशिक्षा, बेरोजगारी, भूमिलगायत विषयले समस्या थपिएको उनको भनाइ छ। 

सम्भावना नदेखेपछि अन्य पेसामा

सारंगी बजाएर जीविका नचल्ने भएपछि गन्धर्व समुदायका युवाहरू अन्य पेसामा आकर्षित भएका छन्। उनीहरू, सिकर्मी डकर्मी, प्लम्बर, दैनिक मजदुरी र वैदेशिक रोजगारीमा जाने गरेका गन्धर्व विकास संघ सुर्खेतका अध्यक्ष बद्री बैगारले बताए। 

‘सारंगी बजाउँदै गाउँ पसेपछि यस्तो युवा मान्छे काम गरेर खाए भयो नि ! किन माग्दै हिँड्नु भन्ने जस्ता कुराले हाम्रो समुदायका युवाले यो पेसामा रुचि देखाएका छैनन्’, अध्यक्ष बैगारले भने, ‘बरु उनीहरू सिकर्मी, डकर्मी, प्लम्बर र दैनिक मजदुरीका काम गर्न बाध्य छन्।’

परिश्रम गरेर पनि फल नपाउँदा युवा पुस्ताले अर्को पेसा रोज्नुपरेको अध्यक्ष बैगारले बताए। कर्णालीमा गन्धर्व समुदायको सुर्खेत, रुकुमपश्चिम, सल्यान र दैलेखमा बसोबास छ। २०७८ सालको जनगणनाअनुसार कर्णाली प्रदेशभरि गन्धर्व समुदायको जनसंख्या जम्मा एक हजार मात्रै छ।

गन्धर्व समुदायमा बैगार, गान्धारी, गायक, गायन, रञ्जन र भरतथरी थर पर्दछन्। गन्धर्व समुदायको पेसागत विकासका लागि तीनै तहका सरकारसँग अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको अध्यक्ष बैगार गुनासो गर्छन्। 

‘हाम्रो पेसागत विकासका लागि सरकारले विशेष खालको नीति तथा कार्यक्रम ल्याइदिन तीनै तहका सरकारसँग अनुरोध गर्यों। अहिलेसम्म कसैले वास्ता गरेन’, अध्यक्ष बैगारले भने, ‘हाम्रो परम्परागत पेसागत सुरक्षाका लागि सबैको सहयोग खाँचो छ।’ कर्णाली प्रदेशमा सारंगी कला संग्राहलय स्थापना गरी विभिन्न प्रकारका बाजा र त्यसको तालिम, प्रशिक्षण दिन आवश्यक रहेको अध्यक्ष बैगारको भनाइ छ।

गन्धर्व समुदायको विकास र पेसागत सुरक्षाका लागि २०६२ सालमा गन्धर्व विकास संघ सुर्खेत दर्तासमेत गरिएको छ। उनीहरूले गन्धर्वका हक अधिकार र संविधानका विषयमा समेत समुदायमा सचेतना जगाउँदै आएका छन्।

४ असार, २०८०, ०९:१०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।