मिस नेपालको कोरियोग्राफर रचनाको प्रसव पीडा र खुशी : प्रेगनेन्सीकै समयमा तालिम, बिहेपछि फटाफट तीन बच्चा
हङकङमा जमिएकी रचना गुरुङ मोडलिङबाट करियर सुरु गरेर सफल कोरियोग्राफर बनिन्। आफ्नो कुरा सीधा राख्ने अनि निडर स्वभाव छ उनको।
करिब तीन दशकदेखि नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने 'मिस नेपाल’मा कोरियोग्राफरको भुमिकामा छिन् उनी। तीन छोरीकी आमा उनै रचनाले आमा बन्दाको सुखदुःख अनि त्यस अवस्थाबारे उकेरासँग यसरी आफ्नो भोगाइ साटिन्।
०००
मेरो बाबा हेड मास्टर हुनुहुन्थ्यो अनि आमाचाहिँ नर्स। नेपालमा छुट्टी मनाउन आइराख्थेँ। त्यसै समयमा सन् १९९१ मा नाङ्लो बेकरीका लागि मोडलिङ गरेको थिएँ। त्यसपछि उतै फर्किएँ।
सन् १९९४ मा फेरि यहाँ आएँ। त्यस बेला पनि नाङ्लो गएको थिएँ। गोपाल कक्षपतीले भोलि अफिस आउनु भन्नुभयो। म गएँ। उहाँले 'मिस नेपाल’ गर्ने योजना सुनाउनुभयो अनि मलाई कोरियोग्राफर बन्ने प्रस्ताव पनि गर्नुभयो। मैले तुरुन्तै स्विकारेँ। अनि मिस नेपाल प्रतियोगितासँग जोडिएँ।
हङकङको काम, साथीभाइ सब छोडेर यतै आएँ। अहिले मिस नेपालमै मेरो २९ वर्ष भइसक्यो। यस बीचमा मैले आफ्नो जीवनसाथी भेटेँ। अनि तीन जना राम्री छोरीहरू पनि पाएँ। सन् १९९५ मा चै मेरो पहिलो प्रेगनेन्सी भएको कारण टाढा हुनपर्यो। त्यसबाहेक हरेक मिस नेपालमा मेरो संलग्नता छ।
प्रायः सबै आमाबाको इच्छा भनेको सन्तानले आफ्नै जातसँग बिहे गरोस् भन्ने हुन्छ नै। मेरो पनि त्यस्तै थियो। तर, हामीबीच अन्तरजातीय भन्ने नामको मात्र थियो। पारिवारिक पृष्ठभूमिमा पनि धेरै कुरा निर्भर हुने रहेछ। मेरो स्वभावले गर्दा पनि हाम्रो धेरै कुरा मिल्न गयो। रहनसहनमा पनि खासै फरक भएन। खाली म गुरुङ ऊ शर्मा भन्ने मात्र थियो।
ससुराको ’शर्मा सन्स’ भन्ने रिमुभल कम्पनी थियो। उहाँ त्यसलाई चलाइरहनुभएको थियो। बिहेपछि हाम्रो जिम्मेवारी बढ्यो। प्राथमिकतामा परिवर्तन आए। अनि आफ्नो काममा पनि निरन्तरता भइ नै रह्यो। बिहेपछि फटाफट बच्चा भयो। हरेक वर्षजसो तीन जना छोरी भए।
मलाई बच्चा त जन्माउनु नै थियो। कति समय जन्मान्तर राख्ने भन्ने नै भएन। पाइहाल्यौँ। सबैले मलाई तपाईंले कसरी समय मिलाउनुहुन्छ भनेर पनि सोध्ने गर्छन्। समय त सबैका लागि बराबर नै हुन्छ। कसैलाई पनि २४ घण्टाभन्दा बढी त हुँदैन नि। त्यो म्यानेज गर्न सजिलो पनि छ।
मेरो महिनावारि पहिलादेखि नै नियमित भन्ने हुँदैनथ्यो। कहिले छिटो, कहिले ढिलो भइ नै रह्यो। बिहेपछि पनि दुई महिनासम्म महिनावारी भएन। सधैँझैँ यसपालि पनि ढिला हुने भयो भनेर त्यस्तो केही सोचिनँ। सबैलाई खानेकुरा गह्ननाउने, खान मन नलाग्ने, वाकवाक लाग्ने भन्ने सुनेको थिएँ। तर, मलाई तीमध्ये केही पनि भएन।
पछि एक्कासी कता कता शंका लग्यो अनि जाँच गर्दा प्रेगनेन्ट भन्ने थाहा पाएँ। त्यस बेलासम्म पनि केही कमजोरी महसुस नै भएको थिएन। प्रेगनेन्ट भएको थाहा पाएपछि खुशी भएँ। अनि कसरी गर्ने भनेर मानसिक रूपमा पनि तयार हुन थालेँ।
किनभने शारीरिक रुपमा आउने परिवर्तन त हामीले रोक्न सक्दैनौँ तर, मानसिक रूपमा आउने परिवर्तनका लागि तयार भएर त बस्न सक्छौं नि भन्ने भयो।
भर्खरै मात्र आफूले जिन्दगी बिताउने भनेको मान्छे पाएको थिएँ। त्यसमा थप अर्को सदस्य आउँदै छ, भनेर थाहा पाएपछि खुशी नहुने कुरै भएन। त्यसबेला आफ्नो स्वास्थ्यको ख्याल त आफैले पनि गर्नैपर्छ। डाक्टरबाट सल्लाहसुझाव लिइराख्यौं।
पेट ठूलो हुने, हार्मोनमा परिवर्तन हुने, स्ट्रेच मार्कहरू आउने, मुड स्विङ हुने भयो। त्यसबेला सबैभन्दा बढी मलाई मानसिक रूपमा तयार हुनु थियो। किनभने व्यथा लाग्दाको दुखाइबारे पनि म जानकार नै थिएँ। त्यसबेला आफूलाई बलियो बनाउन सक्यो भने सहज हुन्छ भन्ने लग्यो। फलस्वरूप त्यसबेलाको मानसिक रूपमा खुब तयार भएँ। अनि यसपछि के गर्ने भन्ने नै भइरह्यो।
त्यही भएर मैले कामबाट टाढा हुन पनि परेन। सन् १९९५ मा पहिलो प्रेगनेन्ट भएको कारण ब्रेक लिएँ। तर, सन् १९९६ मा त मैले प्रेगनेन्सीकै बेला मिस नेपालको तालिम र कोरियोग्राफी गरेँ। धेरैको जस्तो पहिलो बच्चा जन्माउँदा म पनि अब अर्को पाउँदिनँ भन्ने त भयो नै। व्यथा लाग्दा पनि अब व्यथा लाग्दै छ भनेर आफूलाई खुब सम्हालेँ। एकदम स्वास तानेर आफूलाई हलुका बनाउने कोशिस गरेँ।
व्यथालाई व्यथाकै रूपमा लिने कोशिस गरेँ। त्यो नसहने भन्ने नै भएन। मैले आफूलाई यस्तोसम्म बनाएछु कि यो दुखाइ पनि बच्चा पाउने प्रक्रिया नै हो। व्यथाविना त बच्चा पाउने सम्भव नै छैन भन्नेसम्म सोचेँ।
अनि बच्चा नपाएसम्म आफूलाई सम्हालेँ। दुखाई नसहन अहिले त विकल्प पनि हुन्छन्। तर, मैले विकल्प रोजिनँ। धन्न तीनै जना नर्मल नै पाएँ। त्यसो आफू हुँदा छिटो निको पनि भइन्छ।
तीन जना छोरी भए। तीन वटैमा एकदम फरक अनुभूति महसुस गरेँ। अहिले सम्झिनुपर्दा मलाई रमाइलो लाग्छ। खुशी लाग्छ। भलै त्यसबेला गाह्रो भएको होस्। बच्चालाई हेर्नेबित्तिकै त्यो सबै व्यथा बिर्सिने रहेछ।
अनि आफै अभिभावकत्व अनुभव हुने रहेछ। आफू पनि अगाडि नै तयार हुँदा परिवारबाट पनि छुट्टै सपोर्ट हुने रहेछ। जुन त्यस समयमा एकदमै महत्वपूर्ण हुने भयो। श्रीमान् श्रीमतीमा पनि बच्चा भएपछि माया बढ्ने/घट्ने भन्ने हुने रहेछ।
बच्चा भएपछि श्रीमानले श्रीमतीले मलाई बिर्सियो भन्नेसम्म पनि देखेको छु। पहिला जसरी प्राथमिकतामा श्रीमान् पर्थे। बच्चा आएपछि त्यो सबै प्राथमिकता बच्चामा जाने रहेछ। श्रीमानचाहिँ नजरअन्दाजमा परेको हो कि भन्ने जस्तो हुने रहेछ।
त्यस्तो भएपछि चाहिँ अलि बढी श्रीमानले पनि एक्लो महसुस गर्ने हो कि ! त्यै भएर मलाई त्यो पनि ब्यालेन्स गर्नु थियो, जुन मैले गरेँ पनि। अनि हामीबीच सम्बन्ध पनि बलियो भएको महसुस गरेँ।
बच्चा पाएपछि स्तनपानको त कुरै नगरौं। मलाई त त्यो चै त्यस्तो गाह्रो होलाजस्तो लागेको थिएन। किनभने मेरो 'निप्पल क्रयाक’ भएको थियो। दूध चुसाउनु अघि र पछि हरेकपल्ट तातोपानीमा रुवाले पुछ्थेँ। त्यसबेला व्यक्तिगत सरसफाइको पनि ठूलो आवश्यक महसुस गरेँ।
बोरोलिनले मलाई एकदम सहज गरायो। चार/पाँच दिनसम्म दुःख नै भयो। अनि बच्चाले राम्रोसँग खान थाले पछि फेरि दुखाइ सहेर भए पनि खुवाउन थालेँ।
पहिलो पटक भएर हो कि। त्यसपछि अर्को छोरीहरूको पालोमा त्यस्तो दुखाइ भएन। मैले सबैलाई ६ महिनासम्म चाहिँ राम्रोसँग स्तनपान गराएँ।
पहिलो छोरी हुँदा खानेकुराहरू पनि यो खाऊ, त्यो नखाऊ भनेर घरमा पनि स्याहार गर्नुभयो। बच्चा भएपछि हरेक दिन मेरो लागि विशेष रह्यो। अहिलेसम्म पनि विशेष नै छ। किनभने आज दिन बिताएर भोलि बिहान उठ्दा आफूले माया गर्ने र आफूलाई माया गर्नेलाई हेर्न पाउनु मेरा लागि जहिले पनि खुशीको कुरा हो।
तीन वटा बच्चा फटाफट भए। त्यसपछि चै अब पुग्यो भन्ने भयो। मलाई छोराको पनि खुब इच्छा थियो। मेरो दाजुभाइहरू धेरै थिए। हुर्काइ पनि मेरो छोराहरू सँगै बढी भएको भएर होला छोरासँग अलग्गै आत्मीयता पनि भइ नै रह्यो। अनि त्यसमाथि मामा, सानीआमा सबैको छोरा नै छोरा। त्यै भएर पनि छोरा नै मन पर्ने। पायो भने छोरै पाउँछु भनेर पनि भन्थेँ।
तर, छोरी भयो पहिला। छोरी पनि राम्री। टक्क परेकी। त्यसपछि स्वस्थ आमा र स्वस्थ बच्चा भन्ने भयो। छोरा मन पर्छ भनेर फेरि छोरा नै चाहिने भन्ने होइन। सानैदेखि मेरो हुर्काइ नै दाजुभाइसँग भएको र मेरा पनि साथीहरू धेरैजसो केटाहरू नै भएका कारण लगाव भएको रहेछ। उनीहरूसँग खेल्दा मलाई पनि छोरा नै होस् भनेर बेला बेला जिस्काउने पनि गर्थे। त्यही भएर छोरा मन पर्ने भएछ।
दोस्रो बच्चा पनि मेरो छिट्टै भयो। त्यसबेला चाहिँ फेरि अब पनि छोरी भयो भने उनीहरू दुई जना मिल्छ। धेरै अन्तर पनि छैन। पछि उनीहरू बीच धेरै कुरा मिल्न सक्छ। एक अर्काको साथी हुन सक्छ, भन्ने लाग्यो पो लाग्यो। फेरि अब चाहिँ छोरा भयो भने भन्ने पनि लाग्यो। तर, सोचे जस्तै छोरी नै भयो। अनि म त खुशी भएँ।
त्यसपछि चै हैन दुइटा छोरी भयो। अब त छोरा त चाहिन्छ मलाई भन्ने भयो। किन भने मेरो चार जना आमाजूहरू हुनुहुन्छ। सासू र ससुराको पनि छोरी नै छोरी भएपछि मात्र छोरा भएको हो। मेरो पनि त्यस्तै हुने होला। चार जना त यो जमानामा म सक्दिनँ। होस् अब लास्ट एउटा चै कोशिस गर्छु भनेर तीन जनासम्मको योजना बनाएको। तीन जनासम्म पाउने जे हुन्छ हुन्छ भनेको। छोरी नै भयो।
कान्छी छोरीलाई हामीले भगवानको उपहार भनेर स्वीकार्यौं। हामी खुशी भयौं। त्यसपछि चै हामीले नपाउने निर्णय नै गर्यौं। तीन जना छोरी छन्। हामी खुशी छौं। उनीहरू तीन जना अहिले दिदीबहिनीभन्दा पनि बढी साथीजस्ता छन्।
अनि म उनीहरूसँग बसेर कुरा गर्दा त चार जना दिदीबहिनीजस्तै देखिन्छ, भन्ने गर्छन् सबैले। हरेक कुरा उनीहरूले मलाई सुनाउँछन्। मैले सबैलाई उत्तिकै समय दिएको छु जस्तो लाग्छ।
समय नै हो सबैभन्दा ठूलो कुरा। समय मिलाउन सक्यो भने सबै कुरा मिल्छ। त्यै भएर पनि उनीहरू सबैसँग मेरो उत्ति नै राम्रो र बलियो सम्बन्ध छ। एउटा महिला आमा बनेपछि झन् बढी नम्र हुन्छन् पनि भन्छन्। तर, म त झन् बढी कडा पो भएँ। आफूलाई र बच्चाहरूलाई सुरक्षित महसुस त गराउनु पर्यो नि।
यो पनि
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असार ३, २०८० आइतबार १७:५०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।