विद्यालय बन्द गरे शिक्षक र कर्मचारीलाई पदबाट हटाउने बालेनको चेतावनी
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन्।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)ले असार ३ गतेदेखि विद्यालय बन्द गर्ने भनेपछि महानगरप्रमुख शाहले पठपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
विगतमा पटक–पटक सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने भन्दै माग गर्दै आइरहेका विद्यालय कर्मचारीहरूले हालै गरिएको आन्दोलनप्रति सरकारले बेवास्ता गर्दै माग सम्बोधनका विषयमा चासो नदेखाएको भन्दै असार ३ गतेदेखि देशभरका सामुदायिक विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको थियो।
विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ)ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको पनि उनले स्मरण गराएका छन्।
उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका छन्। उनले महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन्।
शुक्रबार सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले सरकारले विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना नगरे देशभरका सामुदायिक विद्यालयको पठनपाठन टप्प पार्ने चेतावनी दिएका थिए। लामो समयदेखि कार्यरत रहेर पनि पेसागत सुरक्षा नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गर्न माग गरेका थिए।
यस्तो छ उनकाे पोस्ट:-
मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ ।
साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ। काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुनेछ। :
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ।
असार २, २०८० शनिबार १४:४४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।