पटके यौन दुर्व्यवहारका आरोपी एसएसपी पाल तेस्रो उजुरीमा बल्ल निलम्बित, परिवारले घरमा आउन दिएनन्

पटके यौन दुर्व्यवहारका आरोपी एसएसपी पाल तेस्रो उजुरीमा बल्ल निलम्बित, परिवारले घरमा आउन दिएनन्

काठमाडौँ : प्रारम्भिक अनुसन्धानमा महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको देखिएपछि नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको अनुसन्धानमा उनीमाथि लागेको आरोपको प्रमाण फेला परेपछि उनी शुक्रवार निलम्बित भएका हुन्।

एक महिला प्रहरीले पालमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएर उनीमाथि छानबिन सुरु गरेको थियो। समितिले बुधवार बुझाएको प्रतिवेदनमा उनले यौन दुर्व्यवहार गरेको उल्लेख थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको संयोजकत्वमा समिति गठन भएको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो। प्रधान कार्यालयको सिफारिस अनुसार गृहमन्त्रीस्तरिय निर्णयबाट उनलाई शुक्रवारै निलम्बन गरिएको हो।  

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले पाललाई निलम्बन गर्ने गृहको निर्णयबारे प्रहरी प्रधान कार्यालयमा पत्र आइसकेको छ।

प्रहरी नियमावली अनुसार निलम्बित भएको ६ महिना भित्र घटनाको किनारा लागिसक्नु पर्ने छ। प्रवक्ता कडायत ६ महिना भित्र छानबिन गरी विभागीय कारबाही अथवा कामबाटै निष्कासन के हुने भन्नेबारे छानबिन गरिसकेपछि प्राप्त हुने प्रतिवेदन अनुसार कारबाहीका लागि सिफारिस हुने बताउँछन्।

पालमाथि महेन्द्रनगरस्थित नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेको बेलामा बिदा स्वीकृत भएकी सहायक हवलदार बिदा माग्न जाँदा' गुड फ्राइडे मनाउन जानुपर्छ' भन्दै यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

जेठ १९ गते  सहायक हवल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। निकट स्रोतका अनुसार यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि उनलाई परिवारले घरमा समेत प्रवेश गर्न दिएका छैनन्।

पटके यौन दुर्व्यवहारकर्ता

एक महिला प्रहरी कर्मचारीको उजुरीपछि गठन भएको छानविन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धानस्रोतले बतायो। उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो।

सोधपुछमा उनीहरूले समितिका अधिकारीहरूलाई पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर लाग्ने गरेको सुनाएका थिए। अनुसन्धानमा उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनेर फकाउने लगायतका दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा समेत औँल्याइएको छ।

जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको आरोप लागेको थियो।

ती महिला प्रहरी कोठाबाट बाहिर निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी थिइन्।

सोही दिन प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएर केन्द्रमा तानेको थियो।

पाल यस अगाडि २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए। बौद्ध वृत्त प्रमुखहुँदा पनि उनी कारबाहीमा परेका प्रहरी अधिकृत हुन्।

१ असार, २०८०, १४:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।