खडेरीले बाली र बीउ सुक्न थालेपछि किसान चिन्तित, भर आकाशे पानीकै

खडेरीले बाली र बीउ सुक्न थालेपछि किसान चिन्तित, भर आकाशे पानीकै

सुर्खेत : खडेरीले बाली सुक्न थालेपछि आकासे पानीकै भरमा खेती गरिरहेका किसानहरु हाल चिन्तामा परेका छन्।

पञ्चपुरी नगरपालिका-६ का वीरबहादुर विकको बारीमा लगाएको मकै सुकेको छ। सिंचाइ नहुने ठाउँ र आकासे पानीकै भर पर्दा खडेरी लागेपछि उनको बारीमा मकै सुकेको हो।

यति मात्रै होइन उनले असारमा रोपाइ गर्ने भनेर राखेको धानको बीउको ब्याड समेत सुकेको छ। खडेरीले बाली सुक्न थालेपछि उनलाई चिन्ता थपिएको छ। वर्षभरी खाने खाद्यान्न आफ्नै बारीबाट उत्पादन गर्ने उनी यो वर्ष किनेर खानुपर्ने स्थितिमा पुगेको बताउँछन्।

‘बारीमा लगाएका मकै सुक्न थाले। रोप्नका लागि राखिएका धानको ब्याड समेत खडेरीले खाइदियो,’ उनले भने, ‘वर्षभरी खाने खेती नै पानीकै अभावमा बारीमै सुक्यो। यो वर्ष त किन्न खोज्नुपर्ला जस्तो भयो।’

पछिल्लो समय खडेरीले गर्दा वीरबहादुर जस्तै धेरै कृषकहरू मारमा परेका छन्। सिंचाइ सुविधा नभएका कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यानका कृषकहरू आकाशे पानीकै भर पर्नुपर्ने वाध्यता छ। 

प्रदेशको कृषि मन्त्रालयको तथ्याङ्क अनुसार कर्णालीमा कुल दुई लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ। यद्यपि दुई लाख १६ हजार ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ। त्यसमा पनि ४५ हजार ४६८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुन्छ।

यस अनुसार डोल्पामा २७६, मुगुमा चार हजार ४२०, हुम्ला ६१०, जुम्लामा दुई  हजार ९ सय, कालिकोटमा तीन हजार ८१, रुकुम पश्चिममा तीन हजार ४८, सल्यानमा सात हजार ७८, जाजरकोटमा तीन हजार ६३, दैलेखमा आठ  हजार ३१३ र सुर्खेतमा १२ हजार ६७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। 

कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरी सिंचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिंचाइ हुने क्षेत्रमा पर्छ।

समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भू-भागमा मात्र सिंचाइ सुविधा छ। तर, यो पटकको खडेरीका कारण सिंचाइ सुविधा पुगेको भनिएका क्षेत्रहरु समेत प्रभावित भएका छन्। 

सुर्खेत, वीरेन्द्रनगरको खेतीयोग्य जमिन पुरैआकाशे पानीकै भरमा निर्भर छ। चर्को खडेरीका कारण सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका पहाडी जिल्लाका किसान समस्यामा छन्। रुकुम पश्चिममा भने सबैतिर सिंचाइको सहज सुविधा भएकाले समस्या छैन। 

रुकुममा धान खेतीका लागि भने बीउ राख्ने क्रम सुरु भएको छ भने जुम्ला र डोल्पामा पनि रोपाइँ सकिने अन्तिम चरणमा छ। हिमाली जिल्लामा पहाडी क्षेत्र भन्दा केही पहिला नै रोपाइँ सुरु हुन्छ। त्यहाँ चैत्र अन्तिम सातादेखि नै बीउ राख्ने काम सुरु हुन्छ। 

खडेरीका कारण कर्णालीका किसानले लगाएको बर्खे बालीमा प्रत्यक्ष प्रभाव परेको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए।

‘यो कर्णाली प्रदेशभरको साझा समस्या भएको छ। खडेरीका कारण बर्खे बालीमा प्रत्यक्ष असर परेको छ,’ उनले भने, ‘कहाँ के कति असर पर्यो भनेर हामीले तथ्याङ्क ल्याउँदै छौं। त्यसपछि सरकारले केही प्याकेज ल्याउला।’

जेठ ३२, २०८० बिहीबार ११:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।