ब्याच नम्बर ६९ : प्रहरी संगठनभित्र यौनकान्ड भएका छन् तर सजायतिर भन्दा मेलमिलापतिर लाग्छन्

ब्याच नम्बर ६९ : प्रहरी संगठनभित्र यौनकान्ड भएका छन् तर सजायतिर भन्दा मेलमिलापतिर लाग्छन्

केही सातादेखि म हनी ट्र्यापको बारेमा लेखिरहेको छु। तपाईंहरूले नियमित पढिरहनुभएको छ भने यस अगाडि सरकारी निकायमा कार्यरत केही उच्चपदस्थ कर्मचारी कसरी हनी ट्र्यापमा परेका थिए अनि कसरी अनुसन्धान भएको थियो भनेर लेखेको थिएँ।

दोस्रोमा 'हनी' अनि 'मनि' ट्र्यापसँगै राजनीतिक करिअर सक्काउन कसरी व्यक्तिगत कमजोरी समातेर ट्र्यापमा पार्छन् भन्ने भारतको उदाहरणसहित लेखेको थिएँ।

यो पटक आफूले ३० वर्ष बिताएको सुरक्षा सङ्गठनमा यो ट्र्यापको अवस्था कस्तो छ भनेर लेख्न मन लाग्यो।

नामै त के उल्लेख गर्नु। तर मेरो ३० वर्षीय प्रहरी करिअरमा यस्ता धेरै घटनाहरू सुनियो अनि देखियो पनि।

जुनियर महिला प्रहरीले सिनियरलाई ट्र्यापमा पारेर व्यक्तिगत तथा वृत्ति विकासको स्वार्थमा उपयोग गरेका घटनाहरू नसुनिएको हैन।

केही उजुरीहरू पनि नपरेका हैनन्। तर त्यसमा अधिकांश स्वार्थको सम्बन्ध देखिएको थियो। अर्थात् स्वार्थ पूरा भएसम्म तैँ चुप अनि मैँ चुप हुने।

जब स्वार्थ बाझिन्छ या उपयोगिता सकिन्छ अनि उजुरी दिने गरेको पनि देखिएकै हो।

प्रहरीमा मलाई सबैभन्दा खराबी के लाग्छ भने बलात्कारको कानुन हेर्ने हो भने पनि यदि आफू मातहत रहेकालाई दबाबमा या प्रभावमा पारेर शारीरिक सम्बन्धको तहमा पुग्नु भनेको बलात्कारै हो नि।

त्यसमा कसले, कसलाई कुन अवस्थामा प्रभावमा पार्यो भन्ने भन्दा पनि को कुन तहको हो भन्ने पनि महत्त्वपूर्ण हुन्छ नै।
सङ्गठनमा यस्ता उजुरी पर्थे नै।

कुनै प्रधानमन्त्री कार्यालयमा पर्थे, कुनै गृह मन्त्रालयमा पर्थे अनि कुनै प्रहरी प्रधान कार्यालयमा पनि उजुरी पर्थे।

तर मुख्य समस्या के भने जहाँ उजुरी परे पनि त्यो घटना के हो भनेर तथ्य खोज्ने अनि दोषी देखिएको पक्षलाई कारबाही गर्ने भन्दा पनि मिलाउनैतिर सबैको जोड देखिन्थ्यो।

त्यसमा दुई पक्षले बढी काम गरेको देखिन्थ्यो। पहिलो त जो विरुद्ध उजुरी परेको हुन्छ उ उजुरीकर्ताभन्दा माथिल्लो तहको दर्जा बोकेर सङ्गठनमा बसेको हुने।

त्यसले कुनै न कुनै रूपमा उजुरीलाई छानबिनबाट भन्दा पनि मेलमिलापबाट आन्तरिक रूपमा मिलाउने प्रयास हुन्छ।

अर्को आरोप लागेको व्यक्ति राजनीतिक रूपमा समेत प्रभाव पार्न सक्ने क्षमताकोहुँदा सङ्गठनले कारबाही नै गर्ने तयारी गर्दा पनि दबाबका कारण उ पनि मेलमिलापको पक्षमा जोड दिन लाग्ने।

यसले गर्दा कुन पक्ष दोषी अनि कुन पक्ष निर्दोष भन्ने नै नखुली आन्तरिक रूपमै केस रफादफा भइदिने गरेका धेरै देखियो।

नजिक हुने, आत्मीयता बढाउने, स्वार्थवश सम्बन्ध बनाउने, त्यसको अडियो वा भिडियो वा टेक्स्ट वा फोटो भए पनि सङ्कलन गर्ने अनि एक चरणमा पुगेपछि त्यसलाई व्यक्तिगत स्वार्थ पूरा गराउन उपयोग गर्ने पनि हुनसक्छ।

तर हो चैँ के भन्ने निष्कर्षमा पुग्न पूर्ण अनुसन्धान त हुनुपर्छ नि। अब अनुसन्धानै नसकाई प्रभाव या दबाबमा मेलमिलापतिर लागेपछि ट्र्याप हो या सिनियरले दर्जाको प्रभावमा यौन शोषण गरे भन्ने कसरी ठम्याउन सकिन्छ?

प्रहरीभित्र यस्ता घटना भएका छन्। यो मेरो व्यक्तिगत अनुभवको कुरा मात्रै हैन मिडियामा आएका छन्। अहिले पनि आइरहेका छन्। तर त्यसको निष्कर्ष निकाल्न सङ्गठनको नेतृत्व इमानदार हुनै पर्छ। त्यो कमै देखिन्छ।

कसैलाई प्रलोभनमा पारेर, लोभ्याएर निश्चित उद्देश्यका लागि ट्र्याप थाप्ने अनि त्यसलाई हतियार बनाउने आर्थिक वा अन्य स्वार्थपूर्ति गर्न प्रयोग गर्नु कानुनी गतिविधि हैन। यसलाई कानुनले छुट दिँदैन।

तर यसमा मेरो अलि भिन्न मत छ। यस्ता घटनामा ट्र्यापमा पार्ने भन्दा पर्नेको दोष देख्छु म।

अब चिन्दै नचिनेको वा चिने पनि आफू ५०-५५ वर्ष उमेरको व्यक्ती २०-२५ वर्षको उमेरको युवतीको पछि लाग्नु जायज हो र? ती युवतीले मलाई किन पछ्याउँदै छिन भन्ने सामान्य मूल्याङ्कन गर्न सकिन्न र?

त्यसमा आफू फस्न सक्ने वा आफ्नो पदीय प्रभावको दुरुपयोग हुनसक्छ अनि भोलीको दिनमा सङ्कट पर्न सक्छ भनेर सोच्न सकिन्न र? सकिन्छ नि।

त्यसैले ट्र्यापमा पर्नु भनेको जानाजान जोखिम मोल्नु नै त हो।

यसमा मेरो सोचाई कानुनी भन्दा बढी नैतिक लाग्न पनि सक्छ। तर सत्य त यही हो नि। स्वार्थको सम्बन्धमा स्वार्थ पूरा भएपछि त्यही सम्बन्ध सङ्कट बन्छ नै। यो नौलो हैन।

केही घटनामा मैले गाली पनि गरेको छु। न गहिरो चिनजान छ। न निकटता छ। केही थाहा छैन। तर बोलायो भनेर खुरुखुरु जहाँ बोलायो त्यहीँ जाने अनि लुगा खोल भन्दा खोल्ने! बेकुफपारा भएन त यो?

अनि ब्ल्याकमेल हुन थालेपछि असुरक्षा भयो, फसाइयो भन्दै उल्टो ठुला कुरा गरेपछि हप्काउनु पनि पर्छ कहिलेकाहीँ।

कोही अनजानमा फसेका पनि हुन सक्छन्। सबै जानाजानै फस्छन् भन्ने पनि हुन्न। तर यस्ता घटनामा जो पीडित भनेर आउँछन् नि अधिकांश ती जानाजान फस्न गएकाहरूकै सङ्ख्या बढी देखिन्छ।

यस्तोमा ट्र्यापमा पारिएकाको केस हेर्न हुन्न भन्ने हैन। तर कसरी ट्र्यापमा परे भन्ने पक्ष केलाउनु पनि महत्त्वपूर्ण पक्ष हो।

सङ्गठनको हकमा त सिनियरले म यसरी फसेँ, मलाई यसरी फसाइयो, मेरो नियत यस्तो थिएन, उसैले सम्बन्ध स्विकारेको हो जस्ता भनाइको कुनै अर्थ हुन्न। अर्थ रहनु हुन्न।

यस्ता घटना घटाउने हो भने एक मात्र उपाय अनुसन्धान र प्रमाण पुगेको हकमा कारबाही मात्र उत्तम विकल्प हो।

ब्याचका पुराना अंक

३१ जेठ, २०८०, ०१:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।