एक महिनाका लागि प्रधानन्यायाधीश बन्न कार्कीलाई सकस, बहालवाला न्यायाधीशसहित २९ वटा उजुरी

एक महिनाका लागि प्रधानन्यायाधीश बन्न कार्कीलाई सकस, बहालवाला न्यायाधीशसहित २९ वटा उजुरी

काठमाडौँ : संसदीय सुनुवाइमा अनुमोदित भए कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् तर एक महिनाका लागि।

६५ वर्षे उमेर हद्दका कारण कार्की भदौ २५ गते अवकाशमा जानेछन्। उनी विरुद्ध २९ वटा उजुरी परेकाले अनुमोदनको समय लम्बिन पनि सक्छ।

२०८० वैशाख १५ मा बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनी १५ महिनादेखि सोही पदमा कायममुकायम छन्।

संसदीय समितिले शुक्रवारसम्म उनी विरुद्ध उजुरी मागेको थियो। तोकिएको अवधिमा कार्कीविरुद्ध २९ वटा उजुरी समेत परेका छन्।

सचिवालयका अनुसार उनी विरुद्ध पाँच वटा उजुरी इमेलबाट आएका हुन्। बाँकी सचिवालयमै दर्ता भएको हो। उजुरीकर्तामा बहालवाला न्यायाधीश समेत छन्। बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईले कार्कीविरुद्ध उजुरी दर्ता गराएका थिए।

आइतबार सुनुवाइ समितिको बैठक बसेमा उनी विरुद्धको उजुरीहरू खोलिनेछ। उजुरीबारे अध्ययन हुनेछ। अनि मात्र समितिले उनलाई सुनुवाइमा बोलाउने छ। संसदीय सुनुवाइमा उनको नाम अनुमोदन भएमा उनको नियुक्तिको बाटो खुल्नेछ। एमाले कार्कीको विपक्षमा देखिएको छ। त्यसले संसदीय सुनुवाइमा उनको नाम सर्वसम्मत हुने सम्भावना भने देखिएको छैन।

२६ जेठ, २०८०, २०:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।