प्रदीप अभिनित ‘क्यामिनो’को अवस्था- ‘अड्कोपड्को तेलको धुप’

प्रदीप अभिनित ‘क्यामिनो’को अवस्था- ‘अड्कोपड्को तेलको धुप’

काठमाडौं : हिन्दु धर्ममा साँझ-विहान पूजापाठ गर्दा आगोमा धुप हाल्ने चलन छ। धुपमा घ्यूको प्रयोग अनिवार्य छ। तर कहिलेकाहिँ घ्यू नहुँदा तेलले धुप हालेर भए पनि टार्ने गरिन्छ।

त्यहिबेलामा प्रयोग हुने चर्चित उखान हो, ‘अड्कोपड्को तेलको धुप।’

अहिले ठ्याक्कै यहि उखान प्रदीप खड्काले अभिनय गर्ने भनिएको फिल्म ‘क्यामिनो’को लागि सुहाउँदो भएको छ। दक्षिण अमेरिकी मुलुकको कथावस्तु रहेको भनिएको फिल्मको छायांकन मेक्सिको र ब्राजिलमा गर्ने तयारी थियो।

तर, सधैँ कहाँ आफूले सोचेको जस्तो हुन्छ र! मेक्सिकोले भिसा नै दिएनछ। अब परेन फसाद। निर्माण टिमले अर्को जुक्ति लगाइहाल्यो। अब फिल्मको छायांकन आधा फिलिपिन्स र आधा नेपालमा हुने भएको छ।

फिल्मका निर्देशक दीपक वलीले लोकेसनका लागि भिसाको आवेदन दिएको पुष्टि गर्दै आवेदनको रिप्लाइ नआएपछि छायांकनस्थल सारिएको बताए।

प्रदीप खड्काको भिसा नलागेको विषयमा फैलिएको हल्लालाई उनले सिधै अस्वीकार गरे। खड्काको लागि भिसा आवेदन नै नदिएको वलीको भनाइ छ।

असार १५ गतेदेखि छायांकनका लागि निर्माण टोली एक सातापछि फिलिपिन्स जाने तयारीमा छ। अभिनेता खड्कासहित निर्माताको टोलीले फिलिपिन्समा लोकेसन हेरेर फर्किसकेको छ।

पैदल हिँडेर दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने युवकको कथावस्तुमा बन्न लागेको फिल्ममा प्रदीपसहित नीति शाह, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, रविन्द्र झा, प्रवीण खतिवडा लगायत अडिसनबाट छानिएका कलाकारले अभिनय गर्दैछन्।

२६ जेठ, २०८०, १७:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।