नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकार

नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकार

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछ।दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

असार १ गते आगामी वर्षको बजेट ल्याउन लागेको सरकारले त्यसअघि सरकारका प्राथमिकता समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको हो। नीति तथा कार्यक्रममा समावेश भएका योजना र सरकारको प्राथमिकतालाई ध्यान दिंदै बजेट ल्याइने छ।

नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएपछि सांसदहरुले छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रम प्रदेशसभामा छलफल पछि पास गरेर सरकारले बजेट ल्याउने छ। सरकारको नीति तथा कार्यक्रममा कृषि तथा रोजगारीलाई प्राथमिकतामा राख्ने बताइएको छ। 

यस्तै, प्रदेशका गौरवका आयोजनालाई पनि प्राथमिकीकरण गरिएको छ। पर्यटन र शिक्षालाई पनि सरकारले प्राथमिकतामा राख्ने बताइएको छ। 

प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले आमजनताको मनोभावनालाई बुझेर, जनजीविकालाई प्रत्यक्ष प्रभाव पार्ने गरी नीति, कार्यक्रम ल्याउन लागेको बताए। 

सरकारले आगामी वर्षको नीति कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धीमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

कृषिमा केन्द्रित गरेर मुख्यमन्त्री शंकर पोखरेलले कृषि स्मार्ट कार्यक्रम ल्याएका थिए। जुन कार्यक्रम अहिले पनि निरन्तर छ। त्यसलाई यो सरकारले पनि निरन्तरता दिनेछ।

त्यस्तै अघिल्लो सरकारले खानेपानीको क्षेत्रमा लगानी गर्ने गरी ल्याएको एक घर, एक धारा कार्यक्रमले पनि निरन्तरता पाउने सम्भावना छ। 

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकारले जनतामा उपलब्धि देखिने पुराना सबै कार्यक्रमलाई निरन्तरता दिने र बाँकी रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम र योजना तयारी गरिरहेको बताए। उनले सीप विकास, आत्मनिर्भर जनता, उपयोगमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताए।

२६ जेठ, २०८०, ०८:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।