कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

जेठ २१ गते ल्याइएको कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभा नियमावलीको नियम ३७ (४) बमोजिम बिहीबार बहुमतले पारित भएको हो।

२३ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरू गरिएको थियो। छलफलका क्रममा प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संशोधन प्रस्ताव पनि दर्ता गरेका थिए।

एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट बहुमतबाट अस्वीकृत भएको थियो।

प्रतिपक्ष एमालेले नीति तथा कार्यक्रममा नयाँ कुरा नरहेको भन्दै विरोध गर्दा सत्ताधारी कांग्रेस र माओवादीकै सांसदहरूले पनि असन्तुष्टि जनाएका थिए।

प्रदेश सरकारले वार्षिक १० हजार युवालाई रोजगारी दिने लक्ष्यसहितको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रमले प्रदेशमा गरिबी अन्त्यका लागि रोजगारीलाई प्रमुख आधार बनाएको छ।

रोजगारी बाहेक नीति तथा कार्यक्रममा धेरै विषयहरू पुरानै समेटिएका छन्।

२५ जेठ, २०८०, १८:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।