गर्मी अत्यधिक भएपछि सर्लाहीका दुई नगरपालिकाले बन्द गराए विद्यालय

गर्मी अत्यधिक भएपछि सर्लाहीका दुई नगरपालिकाले बन्द गराए विद्यालय

लालबन्दीः अत्यधिक गर्मी बढेपछि सर्लाहीका लालबन्दी र हरिवन नगरपालिकाले विद्यालय बन्द गराएका छन्।

हरिवन नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै गर्मी अत्यधिक हुँदा पठनपाठन गराउनै समस्या भएको भन्दै जेठ २१ गते आइतबारदेखि २६ गते शुक्रबारसम्म एक साताका लागि विद्यालय बन्द गराएको हो। 

नगरपालिकाको शिक्षा शाखाका सूचनामा ‘हाल बढ्दो अत्यधिक गर्मीको कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गर्मी बिदाका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्याब्सन हरिवनबाट समेत अनुरोध भएको हुँदा जेठ २१ गतेदेखि २६ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी, सञ्चालिन परीक्षाहरू यथावत् रहने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने’ भनी उल्लेख गरिएको छ।

लालबन्दी नगरपालिकाले पनि गर्मी बढेपछि ३ दिन विद्यालय बन्द गराएको छ। शिक्षा अधिकृत लक्ष्मी शिवाकोटीले शुक्रबार दिउँसो हस्ताक्षर गरी जारी गरेको सूचनामा २१ गतेदेखि २३ गतेसम्म लालबन्दी नगरपालिकाभित्रका विद्यालय बन्द रहने उल्लेख छ।

सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि चर्को घामसँगै तातो हावा चलिरहेको छ। गर्मीका कारण बालबालिकाहरू बिरामी पर्न थालेका छन्। 

पानीसमेत पर्न नसक्दा जनजीवन निकै कष्टकर बन्दै गएको छ। 
 

२० जेठ, २०८०, ११:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।