अन्तरदेशीय भुक्तानीका लागि फोनपे र लंकापे बीच समझदारी

अन्तरदेशीय भुक्तानीका लागि फोनपे र लंकापे बीच समझदारी

काठमाडौं : नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासका लागि श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क: लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति थियो।

यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीको विश्वास छ।

श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् भने श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन्।

यसपछि फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन्।

१९ जेठ, २०८०, १५:३७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।